
काठमाडौँ- नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृतिप्राप्त वि.सं. २०८१ सालको पञ्चाङ्गमा ८१ सालको चैत मसान्त भएपश्चात् वि.सं.२०८२ साल वैशाख १ गतेको ग्रहहरूको अवस्थिति यस्तो हुनेछ भनी देखाइएकोमा २०८२ सालकै लागि भनेर स्वीकृत नयाँ पञ्चाङ्गमा चाहिँ सूर्य र चन्द्रमा बाहेक अन्य सातवटै ग्रहहरूको अवस्थितिमा ठूलो अन्तर देखिएको छ । शनि र शुक्रको त राशि नै परिवर्तन भएको छ भने बाँकी पाँचवटै ग्रहहरू(अर्थात् सूर्य र चन्द्रमा बाहेक) को अंश र कला पनि निकै फरक देखिन्छ।
शनिजस्तो झण्डै साढे दुई वर्ष एउटै राशिमा विचरण गर्ने ग्रह कुन मितिमा कुम्भ राशिबाट मीन राशिमा स्थानान्तरण भयो भन्नेबारेको जानकारी दुबै वर्षका पञ्चाङ्गमा कतै भेटिँदैन। के कारणले यस्तो हुन गएको हो, त्यसको खुलासा नयाँ वर्ष २०८२ को पञ्चाङ्गमा पनि कतै भएको छैन।
यस्तो अन्योलको स्थिति कसरी सृजित भयो? अज्ञान हो वा जिम्मेवार पदाधिकारीहरूको गैर-जिम्मेवार हर्कत?
जग-जाहेर छ, समितिबाट स्वीकृतिप्राप्त यिनै १४/१५ वटा पञ्चाङ्गका आधारमा हाम्रा सम्पूर्ण सामाजिक, सांस्कृतिक र धार्मिक संस्कार एवं चाडपर्वका परम्परा चल्दै आएका छन्। अहिलेको यस अन्योलबाट सर्वसाधारण जनताबीच भ्रम पैदा भएको छ।
तसर्थ यसबारे पञ्चाङ्ग निर्णायक समितिले विलम्ब नगरीकन वास्तविकता प्रष्ट पार्नु आवश्यक छ। साथै, नेपालमा ज्योतिषशास्त्र अध्ययन,अध्यापन र अन्वेषण गर्ने कार्यमा सम्लग्न नेपाल संस्कृत विश्वविद्यालयका गुरुजनहरूका निरूपण अनि स्वतन्त्र ढङ्गले ज्योतिष अध्ययन, अनुसन्धान गर्नुहुने विद्वान्हरूको यसबारेका धारणा जे-जस्ता छन् ती पनि स्पष्ट रूपले आउन सके वैदिक सनातनी मान्यताका अनुयायी सबैको कल्याण हुनेथियो।
[सावधानीपूर्वक पञ्चाङ्ग पढेर समाजलाई मार्गदर्शन गर्दै आउनुभएका एकजना विद्वान्को शिकायत सुनेपछि यस हरफको लेखकले आफ्नो जिज्ञासा समेतको आधारमा तयार पारेको लेखोट]
अधिकारी लेखक हिमालप्रेसका स्तम्भकार एवं अग्रज पत्रकार हुन्।