
लुम्बिनी– प्रदेश सरकारले तीन दिन गणतन्त्र दिवस मनाउने भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मूल समारोह समिति गठन गरेर दिवसलाई तीन दिन विभिन्न कार्यक्रमको आयोजना गरेर भव्य रूपमा मनाउने निर्णय गरिएको हो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसलाई जेठ १४, १५ र १६ गते तीन दिन विभिन्न कार्यक्रममार्फत मनाउने निर्णय गरेको छ।
संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षासहित प्राप्त उपलब्धिहरूलाई जनस्तरमा पुर्याउने गरी दिवसलाई रचनात्मक रूपमा मनाउन थालिएको हो।
बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लामो संघर्ष र बलिदानीबाट प्राप्त गणतन्त्रको रक्षाका लागि सबै एक ठाउँमा उभिनु आवश्यक रहेको बताए।
‘नेपाली जनताको संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्र हो। गणतन्त्र दिवसलाई भव्य रूपमा मनाउने दायित्व र जिम्मेवारी तपाईं हाम्रो सबैको हो,’ मुख्यमन्त्रीले भने।
जेठ १४ गते प्रदेशस्थित सबै सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा फहराउने, कार्यालय परिसरमा सरसफाइ गर्ने कार्यक्रम तय गरिएको छ।
जेठ १५ गते मूल समारोहअन्तर्गत जनसहभागितामा झाँकी सहित भव्य रूपमा प्रभातफेरीको आयोजना गरिनेछ। बिहान भालुबाङबाट सुरु हुने करिब पाँच किलोमिटरको प्रभातफेरीपछि प्रदेशसभा परिसरमा शुभकामना आदानप्रदान सहित समापन गरिने छ।
जेठ १६ गते दीपावली कार्यक्रम आयोजना गरिने र सञ्चारमाध्यमहरूबाट गणतन्त्र दिवससम्बन्धी अन्तरवार्ता तथा सामाग्री प्रवाह गरिने गरी कार्यक्रम तय गरिएको छ।