
इटहरी – सुनसरीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार भोक्राहा नरसिंह गाउँपालिका– ३ फूलचोकमा प्रदेश १–०२–००३ त ९०२ नम्बरको ट्याक्टरले प्रदेश १–०२–०५५ प ६२९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
मोटरसाइकलमा तीन जना सवार रहेको सुनसरी प्रहरीले जनाएको छ। दुर्घटनामा मृत्यु हुनेमा इनरुवा नगरपालिका–१० का २० वर्षीय सर्फराज अन्सारी र हरिनगर गाउँपालिका–१ का २१ वर्षीय महजित अन्सारी रहेका छन्।
घटनामा गम्भीर घाइते भएका दुवैजनाको सप्तकोशी न्यूरो अस्पताल सुनसरीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा इनरुवा–१० जाल्पापुरका साहेब अन्सारी घाइते भएका छन्।
उनीहरूमध्ये मोटरसाइकल चालक को हो भन्ने खुलिसकेको छैन। ट्याक्टर चालक भोक्राहा नरसिंह–३ बस्ने ४६ वर्षको सुब्दीराम चमारलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ। दुर्घटनापछि स्थानीयले पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारेका थिए।
तर, बाक्लो संख्यामा भेला भएका प्रहरीले भीडलाई तितरबितर पारेर सडक सञ्चालनमा आएको सुनसरी प्रहरीले जनाएको छ।