इमेज सहकारी ठगीका मुख्य अभियुक्त देवकुमारलाई थुनामै राख्न आदेश

विजय नेपाल १२ जेठ २०८२ १८:२७
78
SHARES
इमेज सहकारी ठगीका मुख्य अभियुक्त देवकुमारलाई थुनामै राख्न आदेश

पोखरा- इमेज बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणका मुख्य अभियुक्त देवकुमार नेपालीलाई कास्की जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएको छ। सोमबार न्यायाधीश हिमलाल बेल्बासेको इजलासले बागलुङको ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका इमेजका संस्थापक अध्यक्ष नेपालीलाई थुनामा पठाई मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो।

अदालतका सूचना अधिकारी दामोदर आचार्यले भने, ‘आइतबार बयान भएकामा आज (सोमबार) थुनछेक बहस भयो। उहाँ (नेपाली) लाई थुनामा पठाउने आदेशसँगै बागलुङ कारागार नै फिर्ता पठाइएको छ।’

त्यसो त उनी इमेजकै सहकारी ठगी प्रकरणमै बागलुङ जिल्ला अदालतको यसअघिको आदेशले बागलुङ कारागारमै थिए। गत १५ असोजमा बागलुङका न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले थुनामा पठाउने आदेश दिएको थियो।

बागलुङ र कास्कीमा उनीविरुद्ध छुट्टाछुट्टै मुद्दा दायर भएका थिए। कास्कीमा उनीसहित १५ जनालाई प्रतिवादी बनाई जिल्ला सरकारी वकिल कार्यालय कास्कीले ५७ करोड ३५ लाख ८४ हजार ९४७ माग दाबीसहित अदालतमा अभियोगपत्र दायर गरेको थियो।

प्रतिवादीहरुमा संस्थापक अध्यक्ष नेपालीसहित उनकी पत्नी छेला, छोरा सन्तोष, सहकारी अध्यक्ष चित्रबहादुर भण्डारी, उपाध्यक्ष सुरेन्द्र बोहोरा, सचिव विमला ओझा, कोषाध्यक्ष सञ्जिता थापा मगर, विमला गुरुङ, पुष्पा पाठक, कर्जा प्रमुख सुनिल नेपाली, लेखा समिति संयोजक शक्ति किसान, लेखा समिति सदस्य नीशा कार्की, व्यवस्थापक दीपक पौड्याल, लेखा सहायक विष्णु पौडेलसमेत हुन्।

नेपाली बागलुङ कारागारमै रहेकाले उनलाई गत साता पनि सूर्यदर्शन सहकारीको मुद्दामा प्रहरी रोहवरमा बागलुङ–पोखरा आउजाउ गराइएको थियो। गत ८ जेठमा पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ। न्यायाधीश कृष्णजंग शाहको इजलासले उनलाई २० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

कास्कीमा इमेजको मुद्दामा भने आइतबार उनको बयान लिइएको थियो। सोमबार थुनछेक बहसमा वादीकोे तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयतर्फबाट जिल्ला न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्मा, सविता थकाली तथा प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर, अधिवक्ता राम शर्मा, बिबि विष्ट, कुञ्जनी परियारले बहस गरेका थिए।

बागलुङको साविक बुर्तिवाङ गाविस वडा १ हाल ढोरपाटन निवासी ५२ वर्षीय मेयर नेपालीले छोटो समयमै अकूत सम्पत्ति जोडेका थिए। उनी इमेजमा जोडिनुअघि सूर्यदर्शनमा जोडिएका थिए। पछि उनले आफैँले इमेज सहकारी खोलेका हुन्। सूर्यदर्शन सहकारीमा उनले २०६७ पुस ६ मा सदस्य पदमा रही २०६८ मंसिर १७ देखि फागुन २ सम्म सहकारीको संचालक समितिको सदस्य तथा उपाध्यक्ष पदमा रही काम गरेका थिए।

उनीसहित रास्वपा सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेसमेत ६३ जनालाई प्रतिवादी बनाइएको सूर्यदर्शन सहकारी मुद्दामा १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ ३ पैसा बिगो माग दाबी गरिएको छ। जुन मुद्दा कास्की जिल्ला अदालतमा विचाराधीन छ।

बागलुङमा भने इमेज सहकारी संस्थाका १ हजार ५ सय ४३ जना बचतकर्ताले २०८० असार २५ मा सहकारी ठगी मुद्दामा जाहेरी दिएका थिए।

सो बमोजिम सरकारी वकिल कार्यालयले नेपालीसहित ११ जनाविरुद्ध एक अर्ब ५४ करोड रुपैयाँ र आठदेखि १० वर्ष कैद सजाय माग गर्दै अभियोगपत्र लगेको थियो। तर उनी लामो समय फरार भए। १६ महिनासम्म फरार रहेकोमा गत असोजमा भारतबाट उनी पक्राउ परेका थिए।

एमालेबाट २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा ढोरपाटनको मेयर जितेका नेपाली अध्यक्ष रहेको इमेज सहकारीको मुख्य कार्यालय बागलुङ बजारमा छ। शाखा कार्यालयहरू पोखराको सिर्जनाचोक तथा बालगुङको हटिया र बुर्तिबाङ बजारमा छन्।

एमाले गण्डकी प्रदेश कमिटी सदस्य समेत रहेका उनलाई मुद्दा परेपछि सदस्य पदबाट निलम्बित भइसकेका छन्।

उनले बागलुङ बजारमा हेलिप्याडसहितको ढोरपाटन दरबार होटल चलाएका छन्। उनका २ वटा व्यापारिक कम्प्लेक्स, पोखरामा २ कम्प्लेक्स, बागलुङ, पोखरा, काठमाडौँलगायतमा घरजग्गा जोडेका छन्। नेपाली दम्पतीको नाममा विभिन्न ठाउँमा गरी ५५ कित्ता जग्गा छ। पत्नीको नाममा झण्डै ३ करोड मूल्य बराबरको ल्यान्डक्रूज र छोराको नाममा ४२ लाख बराबरको स्करपियो सम्पत्ति विवरणमा देखिएका छन्।

प्रतिवादी नेपालीले कास्की जिल्ला अदालतमा बयानका क्रममा आफूलाई बाँधेर बचत फिर्ता नहुने भन्दै तत्काल रिहाइको याचनासमेत गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast