कांग्रेस सांसद बजगाईँले शशांकमाथि लगाए गम्भीर आरोप

हिमाल प्रेस १२ जेठ २०८२ १७:४२
122
SHARES
कांग्रेस सांसद बजगाईँले शशांकमाथि लगाए गम्भीर आरोप

काठमाडौँ- नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले आफ्नै पार्टीका पूर्वमहामन्त्री एवम् सांसद शशांक कोइराला राजनीतिक पदहरूको खुला किनबेचमा संलग्न भएको आरोप लगाएका छन्।

नेता कोइरालाले भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै आएका बजगाईँसँग स्पष्टीकरण सोध्नुपर्ने बताएका थिए। सोही कारण कोइरालामाथि बजगाईँले यस्तो आरोप लगाएका हुन्।

सामाजिक सञ्जाल एक्समा महिन्द्रा सोरुमअगाडि गाडी बुझ्दै शशांकको तस्बिर पोस्ट गरेर सांसद बजगाईँले लेखेका छन्, ‘एउटा किया, दुईवटा महिन्द्राको एसयूभी उपहार, सुनको रोलेक्स घडीहरू, नगदले भरिएका झोलाहरू, घरमर्मतको नाममा भएको खर्च वा राजनीतिक पदहरूको खुला किनबेच– म यी कुरामा प्रश्न गर्नुपर्ने अवस्था नआओस् भन्ने चाहन्थेँ। ढिला होस् वा चाँडो, तपाईँलाई यसको जवाफ दिनैपर्छ।’

भिजिट भिसा प्रकरणमा गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई अनुसन्धानमा तानिएपछि गृहमन्त्री लेखकमाथि नैतिकताको प्रश्न उठेको छ। त्यसको असर पार्टीभित्र पनि परेको छ। सोही विषयलाई लिएर नेताहरूबीच आरोपप्रत्यारोप चलेको हो।

यो प्रकरणमा कांग्रेसभित्र सबैभन्दा पहिले नेता डा.शेखर कोइरालाले गृहमन्त्री लेखकले राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्नुपर्ने धारणा राखेका थिए। कोइरालापछि उनकै लाइनमा उभिए कांग्रेस सांसदहरू बजगाईँ र डा.सुनिल शर्मा। दुवै सांसदले भिसा प्रकरणमा नेता कोइरालाले उठाएको गृहमन्त्रीको राजीनामाको प्रसंगलाई साथ दिइरहेका छन्।

पार्टीकै नेताहरूले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने धारणा व्यक्त गरिरहेका बेला सोमबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पदाधिकारी बैठक बसेको थियो।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकमाथि लागिरहेको आरोपलाई मुख्य एजेन्डा बनाएर बसेको पदाधिकारी बैठकमा पार्टीकै नेताहरूले उठाइरहेको राजीनामाको प्रसंगले प्रवेश पाउनु स्वाभाविक थियो।

बैठकमा लेखकले अध्यागमन कार्यालयका कर्मचारीले बदमासी गरेको र तथ्य नबुझी पार्टीका नेताहरूले राजीनामा मागेपछि आफूलाई नराम्रो लागेको बताएका थिए। केही नेताहरूले लेखकको राजीनामा माग गर्ने कोइराला, बजगाईँ र शर्मालाई बोलाएर स्पष्टीकरण माग्न सभापति देउवालाई सुझाव दिएका थिए। यस्तो सुझाव दिनेमा थिए नेता शशांक कोइराला।

बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा पनि कोइरालाले गृहमन्त्रीको राजीनामा माग्ने पार्टीका तीनै नेतालाई कारबाही गर्नुपर्ने जिकिर गरेका थिए।

‘रमेश लेखकले केही तलमाथि गर्नुभएको छैन,’ शशांकले सञ्चारकर्मीहरूसँग भनेका थिए, ‘हामीले तीनैजनालाई बोलाएर सोध्नुस् भनेर सभापतिलाई भनेका छौँ। के भएको छ भनेर उहाँहरूलाई बोलाएर सोध्नुपर्छ। स्पष्टीकरण नै सोध्नुपर्छ।’

शशांकले गृहमन्त्रीको राजीनामा मागेका कांग्रेसका तीन नेताहरूसँग स्पष्टीकरण सोध्नुबाहेक अरू विकल्प नभएको बताए।

गृहमन्त्रीले राजीनामा दिनुपर्ने धारणा राख्ने नेताहरूसँग स्पष्टीकरण सोध्न शशांकले सभापति देउवालाई सुझाव दिएपछि बजगाईँले सामाजिक सञ्जाल एक्समा उनको तस्बिर राखेर गम्भीर आरोप लगाएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast