
काठमाडौँ- गंगानारायण श्रेष्ठजस्तै माओवादीको चुनाव चिह्नबाट लडेका नेता हुन्, महिन्द्रराय यादव। उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सर्लाही २ बाट निर्वाचित भएका थिए। त्यसबेला माओवादीले प्रतिनिधिसभामा मधेशबाट महिन्द्रबाहेक अन्यले चुनाव जितेनन्।
चुनाव जितेपछि महिन्द्र कानुनी रूपमा माओवादी तर व्यवहारमा नेसपा भएको भन्दै एकताका पक्षमा उभिएका थिए। सोही पार्टीको नेतृत्वमा रहेका डा. बाबुराम भट्टराई भने एकताका लागि तयार थिएनन्। अहिले गंगानारायण माओवादी प्रवेश गरेर सचिव बनेका छन् भने महिन्द्र माओवादीसँग एकता राजी भएका छैनन्।
महिन्द्रनिकट नेताहरू भने माओवादीसँग छिट्टै एकता हुने दाबी गरिरहेका छन्। माओवादी शब्द हट्नुपर्ने अडान उनको छ। ‘हामी माओवादी शब्द संशोधन होस् भन्ने चाहन्छौँ। जुन अहिले यथावत् छ,’ महिन्द्राराय निकट नेता नेसपाका महासचिव रमेश यादव भन्छन्, ‘हामीलाई पार्टीको नाम फेर्ने प्रस्ताव दिनुपर्यो।’
उनका अनुसार हालसम्म माओवादीले नाम फर्ने औपचारिक पत्र लेखेको छैन। यादवका अनुसार माओवादीले पत्र लेखेमा तत्काल एकता हुनेछ। ‘औपचारिक रूपमा पत्र नआई कसरी एकता गर्ने त? यही कुरा गंगाजीहरूले बुझ्नुभएन’, रमेश यादव भन्छन्। त्यसो त महिन्द्रपक्षले प्रचण्डलाई विभिन्न विकल्पमा प्रस्ताव राखेका थिए।
एउटा विकल्प थियो- माओवादीको नाम परिवर्तन गर्ने। निकट स्रोतका अनुसार माओवादीसँग एकताको समझदारी बन्दा माओवादी शब्द हटाउने सहमति बनेको छ। ‘नेपाल समाजवादीलगायतका नाम राख्न सकिन्छ तर माओवादी शब्द हट्नुपर्छ भन्ने हाम्रो भनाइ हो’, रमेश भन्छन्। उनका अनुसार माओवादीलाई महाधिवेशनमा नाम फेर्ने प्रस्ताव लगिदिनसमेत अनुरोध गरिएको थियो।
‘हामीले धेरै भनेका होइनौँ, महाधिवेशनमा माओवादी नाम हटाउने प्रस्ताव लगिदिन भनेका थियौँ। यसमा प्रचण्डसँग समझदारी पनि बनेको थियो’, उनले भने। माओवादी अध्यक्ष प्रचण्डले सबै कुरा सकारात्मक मान्दामान्दै गंगानारायणहरू एकताका लागि हतारिएको यादवको बुझाइ छ।
‘महिन्द्रजी एकता लागि तयार हुनुहुन्छ। अरूतिर जानु पनि हुन्न तर माओवादी भन्ने शब्द नै उहाँलाई अप्ठ्यारो लागेको देखियो’, माओवादी केन्द्रका उपमहासचिव मातृका यादव भन्छन्, ‘सहज रूपमा उहाँसँग पनि एकता हुन्छ भन्ने मलाई लाग्छ।’
माओवादी राख्न र हटाउन दुई यादवको रस्साकस्सी
माओवादी शब्द नराख्न महिन्द्र लगातार दबाब दिइरहेका छन्। माओवादी राखेसम्म एकता नहुने उनको अडान छ। माओवादी नेता मातृका यादव भने माओवादी शब्द हटाउन नहुने अडानमा छन्।
‘व्यक्तिगत रूपमा म माओवादी शब्द राख्नुपर्छ भन्ने अडान राख्छु’, मातृका भन्छन्। नेताहरूका अनुसार माओवादी शब्दभन्दा पनि महिन्द्राले माओवादीका नेताहरूको व्यवहारले एकता नचाहेका हुन्।
‘उहाँको स्कुलिङ माओवादी हो। अहिले माओवादीको स्कुलिङ मन नपरेको जस्तो लाग्छ,’ नेसपाका एक नेता भन्छन्, ‘माओवादीले पनि मधेशको राजनीतिमा महिन्द्रालाई पत्याएन कि जस्तो लाग्छ।’
माओवादीको मधेश क्षेत्रमा बढी गुटगत राजनीति चल्छ। त्यहाँ अहिले गिरिराजमणि पोखरेल र महिन्द्रराय यादवको गुट यथावत् छन्। त्यसमा महिन्द्ररायको गुट बलियो हुने सम्भावना छ।
यसकारण एकतामा सामेल भए गंगा
महिन्द्रराय एकताका लागि तयार हुँदै गर्दा गंगानारायण माओवादी बनेका छन्। किन उनी एक्लै एकताका लागि तयार भए त? यसबारे अनेक कुरा छलफल छन्। नेसपा नेताहरूका अनुसार गंगाले माओवादीमा उपयुक्त पद पाएका छन्। उनलाई पदाधिकारी स्तरीय सचिव पद प्रचण्डले दिएका छन्।
प्रचण्डले अन्य कार्यकर्तालाई पनि उचित व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन्। ‘यसअघि नै हामी प्रचण्डलाई एकता प्रस्ताव गर्न गएका थियौँ,’ रमेश यादव भन्छन्, ‘प्रचण्डले पार्टी बैठकबाट प्रस्ताव गरिदिने भन्नुभएको थियो। यसमा गंगाजीहरू पनि राजी हुनुभएको थियो।’
गंगानारायण निकट नेताहरू भने सबै नेता माओवादीमा समाहित भइरहेकाले हतारिएका थिए। नेसपाका केन्द्रदेखि प्रदेश तहका नेताहरूसमेत लगातार माओवादीमा गएकाले गंगानारायण एकताका लागि हतारिएका थिए। गंगानारायणकै अनुसार पनि केही प्रदेशका अध्यक्षसमेत माओवादीमा गइसकेका छन्।
कुनै बेला पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईका निकटस्थ मानिने गंगानारायण श्रेष्ठ सोमबार नेकपा माओवादी केन्द्रमा विलय भएका छन्। २०७२ सालमा भट्टराईले माओवादी छाड्दा श्रेष्ठ सँगै अलग्गिएका थिए। उनी माओवादीसँग छुटेको १० वर्षपछि फेरि माओवादीमा विलय भएका हुन्।
हुन त गंगाका लागि नौलो कुरा होइन। दुई वर्षअघि नै माओवादीको चुनाव चिह्न लिएर उनी प्रदेशसभामा लडेका थिए। सिन्धुली क्षेत्र नं. २ को प्रदेश सभा २ बाट चुनाव जितेर माओवादीकै मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको नेतृत्वमा मन्त्रीसमेत भए उनी।
२०८० चैत ३ मा पार्टी अध्यक्ष भट्टराईलाई माओवादीमाथि एकता गर्न तयार नदेखिएको अपजस बोकाउँदै उनले प्रचण्डसँग सम्झौता गरेका थिए। त्यसबेला उनका सहयात्री थिए, महिन्द्रराय यादव र रमेश यादव।
उनीहरू तीन जना भएर प्रचण्डसँग सहमति गर्दै पार्टी एकता गर्न तयार देखिएका थिए। माओवादीसँग एकताका लागि राजी भएका तीन पदाधिकारीबीच नै फाटो आयो भने गंगा मात्रै एकताका लागि पुगे। तत्कालीन नेसपा नेताहरू महिन्द्रराय र रमेश भने अझै पनि एकता गर्नेबारे दोधारमा छन्।
‘हामी (नेसपा) ले नै एकताका लागि प्रतिबद्ध रहेका थियौँ। पहिले बाबुराम असन्तुष्ट रहनुभयो,’ गंगानारायणले हिमाल प्रेससँग भने, ‘अहिले महिन्द्रजीहरू पनि उस्तैगरी देखापर्नुभयो।’ यही कारण आफूहरू एकता प्रक्रियामा सामेल भएको उनले जानकारी दिए।