
काठमाडौँ– नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कुल वार्षिक बजेटको न्यूनतम २० प्रतिशत रकम शिक्षा क्षेत्रमा विनियोजन गर्नुपर्ने मागसहित उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ध्यानाकर्षणपत्र बुझाएको छ।
सोमबार सिंहदरबारमा अर्थमन्त्री पौडेललाई २५ बुँदे ध्यानाकर्षणपत्र बुझाउँदै नेविसंघले कुल बजेटको कम्तिमा २० प्रतिशत रकम अनिवार्य रुपमा सार्वजनिक शिक्षा क्षेत्रमा विनियोजन गर्नुपर्ने माग राखेको हो।
त्यस्तै विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन यसै आर्थिक वर्षदेखि प्रभावकारी रुपमा लागू हुनेगरी आवश्यक विनियोजन गर्न समेत माग गरिएको नेविसंघका अध्यक्ष दुर्जाङ शेर्पाले जानकारी दिए।
उनले महङ्गी नियन्त्रणको नीति लागू गर्नुपर्ने, विद्यार्थीहरुको जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने वस्तुहरुमा सहुलियत प्रदान गर्ने नीति ल्याउनुपर्ने लगायतका विषयमा अर्थमन्त्रीको ध्यानाकर्षण गराएको बताए।
नेविसंघले वैदेशिक रोजगारका लागि जानुपर्ने अवस्थाको अन्त्य गर्न ४० वर्ष उमेर समूहका युवा लक्षित अनिवार्य प्राविधिक तालिम सम्बन्धी नीति तर्जुमा गर्दै देशभित्रै रोजगारीको अवसर सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराएको छ।