सत्ताकै शक्ति प्रदर्शन! १५ गतेका लागि एमालेले तोक्यो नेताहरूको जिम्मेवारी

हिमाल प्रेस १२ जेठ २०८२ १३:२३
134
SHARES
सत्ताकै शक्ति प्रदर्शन! १५ गतेका लागि एमालेले तोक्यो नेताहरूको जिम्मेवारी

काठमाडौँ- सत्तारूढ दल नेकपा एमालेले जेठ १५ गते राजधानीमा शक्ति प्रदर्शन गर्न लागेको छ। सत्ता सञ्चालन गरिरहेको दल आफैँ सडकमा उत्रन लाग्नुलाई राजनीतिक वृत्तमा अनौठो रूपमा हेरिएको छ। सोही दिन राजावादी पक्षले काठमाडौँमै आन्दोलन थाल्ने भएका छन्। दुवै पक्षको आमसभा र प्रदर्शनले जेठ १५ मा राजधानीको राजनीतिक तापक्रम चर्काउने संकेत देखिएको छ।

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजावादीले जेठ १५ गते गर्ने भनेको प्रदर्शनको विपक्षमा तयारी रहन नेताकार्यकर्तालाई निर्देशन दिएका छन्।  उनले भनेका छन्, ‘१५ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म काठमाडौँ एमालेको नियन्त्रणमा हुनुपर्छ।’

ओली प्रधानमन्त्री मात्र होइनन्, सत्तारूढ दलका अध्यक्ष पनि हुन्। तर उनको भनाइ र आह्वान प्रधानमन्त्री पदको मर्यादाभन्दा पार्टी प्रमुखको भूमिकामा सीमित देखिएको छ।

ओलीको निर्देशनमा सत्तारूढ एमालेले जेठ १५ गते काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ। गणतन्त्र दिवसका दिन आयोजना गर्न लागिएको एमालेको कार्यक्रम राजावादी आन्दोलनको प्रतिउत्तरमा ‘शक्ति प्रदर्शन’ बन्ने देखिएको छ।

राजावादीहरू संविधानले दिएको शान्तिपूर्ण प्रदर्शनको अधिकारअनुसार १५ गतेदेखि आन्दोलनमा उत्रने तयारीमा छन्। राजतन्त्र र हिन्दू अधिराज्य पुनर्स्थापनासहितका माग उनीहरूको छ।
त्यसको जवाफमा प्रधानमन्त्री स्वयं पार्टी कार्यकर्तामार्फत सभा बिथोल्ने तयारी गर्दै छन्।

संविधानले सबै नागरिकलाई शान्तिपूर्ण रूपमा सभा, जुलुस र प्रदर्शन गर्ने अधिकार दिएको छ। यदि कोही नागरिक वा समूहले हिंसात्मक बाटो अपनाउँछ भने त्यसको नियन्त्रण गर्ने जिम्मेवारी गृह प्रशासन र सुरक्षा निकायको हो। यद्यपि राजावादीहरूले आन्दोलन शान्तिपूर्ण हुने बताइरहेका छन्। प्रधानमन्त्रीले भने सुरक्षाको जिम्मेवारी पार्टी कार्यकर्तालाई दिएका छन्। यस्तो कदमले ओली राज्य संयन्त्रमाथि विश्वस्त नभएको स्पष्ट हुन्छ।

गणतन्त्र दिवस नागरिक स्वतन्त्रताको सम्मान गर्ने दिन हो, न कि सत्ताको शक्ति देखाउने अवसर। गणतन्त्र दिवस मूलतः राजतन्त्रको अन्त्य र नागरिक सर्वोच्चताको सम्झनाको उत्सव हो। प्रधानमन्त्री ओली र उनको दलको तयारीले यो दिवस एमालेका लागि राजावादीविरुद्धको ‘प्रतिक्रिया दिवस’ बन्ने देखिएको छ। यसले गणतन्त्रको मूल भावनाभन्दा बढी एमालेको राजनीतिक प्रदर्शनलाई प्राथमिकता दिने निश्चित छ। साथै राजावादीहरूको आन्दोलनको थालनी पनि त्यही दिन काठमाडौँमा हुने भएकाले मुठभेडतर्फ जाने त होइन भन्ने चिन्ता व्यक्त गर्न थालिएको छ।

प्रधानमन्त्रीको निर्देशनपछि एमालेले जेठ १५ को जनप्रदर्शनलाई सफल पार्न देशैभरका नेताहरूलाई जिम्मेवारी बाँडफाँड गरिसकेको छ। उपत्यकाका जिल्ला संयोजनदेखि प्रदेशगत समन्वय र स्वयंसेवक परिचालनसम्मका लागि नेताहरू खटाइएका छन्।

जनप्रदर्शन सफल पार्न एमाले नेताहरूको जिम्मेवारी बाँडफाँड, कसलाई के?

नेकपा एमालेले जेठ १५ गते आयोजना गर्ने विशाल जनप्रदर्शनलाई सफल पार्न नेताहरूलाई विभिन्न जिम्मेवारी तोकेको छ। सोमबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको भेलामा नेताहरूको शक्ति परिचालन गर्नका लागि नेताहरूको जिम्मेवारी बाँडफाँडको सूची जानकारी गराइएको थियो।

महासचिव शंकर पोखरेलका अनुसार गणतन्त्र दिवसलाई आमजनताले सम्झने गरी मनाउन र राजावादीहरूले फैलाएका भ्रम चिर्न जनप्रदर्शनको तयारी गरिएको हो।

जनसंगठनका अध्यक्ष, इन्चार्ज र काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका वडा तहसम्मका पदाधिकारीको भेलामा महासचिव पोखरेलले नेताहरूको जिम्मेवारी बाँडफाँडको जानकारी गराएका थिए। काठमाडौँबाट जनपरिचालन गर्नका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठलाई जिम्मेवारी दिइएको छ।

जनसंगठनहरूको संयोजन गर्नका लागि सचिव गोकर्ण विष्टलाई जिम्मेवारी दिइएको छ। सम्पर्क समन्वयको संयोजनको जिम्मेवारी विभिन्न भूगोलअनुसार भिन्नभिन्न नेताहरूलाई दिइएको छ।

सुदूरपश्चिम र र कर्णाली प्रदेश समन्वयको जिम्मा सचिव लेखराज भट्ट र बागमती प्रदेशका जिल्लाको जिम्मा उपमहासचिव प्रदीप ज्ञवालीले पाएका छन्।

लुम्बिनी र गण्डकीका सबै जिल्ला समन्वयको जिम्मा सचिव पद्मा अर्याललाई तोकिएको छ। कोशी प्रदेशका जिल्लाको समन्वय गर्न उपाध्यक्ष रामबहादुर थापालाई जिम्मेवारी दिएको छ। मधेश प्रदशका आठवटै जिल्लाका सम्पर्क मञ्चहरूको समन्वय गर्न उपाध्यक्ष युवराज ज्ञवालीलाई जिम्मेवारी दिइएको छ।

उपत्यकाका जनप्रदर्शनमा ठूलो संख्यामा सहभागी गराउने ललितपुर र भक्तपुरको समन्वय गर्न उपाध्यक्षहरू क्रमशः अष्टलक्ष्मी शाक्य र गुरु बराललाई जिम्मेवारी तोकिएको छ। उपत्यकाबाहेक बागमती प्रदेशका १० वटा जिल्लाको समन्वयको जिम्मेवारी उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई दिइएको छ।

स्वयंसेवक परिचालनका लागि उपमहासचिव एवं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई जिम्मेवारी दिइएको छ भने उपत्यका विशेषको संयोजन सचिव योगेश भट्टराईलाई दिइएको छ। सबै विभागको संयोजनको जिम्मेवारी सचिव छविलाल विश्वकर्मालाई दिइएको छ।

प्रकाशित: १२ जेठ २०८२ १३:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast