
काठमाडौँ- राजतन्त्र समर्थकले जनआन्दोलन लक्षित गरी प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको उत्तेजक र गैरजिम्मेवार अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले सोमबार विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्।
प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजावादीले जेठ १५ गते गर्ने भनेको प्रदर्शनको विपक्षमा तयारी रहन आइतबार नेताकार्यकर्तालाई निर्देशन दिएका थिए। उनले भनेका थिए, ‘१५ गते ११ बजेदेखि दिउँसो २ बजेसम्म काठमाडौँ एमालेको नियन्त्रणमा हुनुपर्छ।’
‘सर्वसाधारण जनताको रक्षा गर्ने तथा संविधानको पालना गर्ने गराउने जिम्मेवारी बोकेको सरकार प्रमुखबाट नै द्वन्द भड्काउने खालका अभिव्यक्तिहरु आउनु आश्चर्यजनक छ। प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संविधानको भावना र लोकतन्त्रको मर्म विपरीत रहेको छ’, समितिको विज्ञप्तिमा उल्लेख छ।
प्रधानमन्त्रीले उत्तेजनापूर्ण अभिव्यक्ति दिए पनि आन्दोलन शान्तिपूर्ण रुपमा अघि बढ्ने सुवेदीले उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘भद्र अवज्ञा र सत्याग्रह हाम्रो आन्दोलनको स्वरूप रहनेछ। बढीभन्दा बढी संख्यामा आन्दोलनमा सहभागी भएर सरकारको दमनकारी सोचको जवाफ दिन आमजनतामा म अपिल गर्दछु।’