माओवादीले पनि माग्यो गृहमन्त्री लेखकको राजीनामा

हिमाल प्रेस १२ जेठ २०८२ १२:०४
20
SHARES
माओवादीले पनि माग्यो गृहमन्त्री लेखकको राजीनामा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटा।

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पनि ‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिन माग गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा सोमबार बसेको बैठकले लेखकको राजीनामा माग्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

बैठकपछि सापकोटाले सञ्चारकर्मीसँग भने, ‘गृहमन्त्री लेखकले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ। स्वतन्त्र र निष्पक्ष छानबिनका लागि पनि उहाँले तुरुन्त राजीनामा दिनुपर्छ।’

अध्यागमनमार्फत नेपालीलाई भिजिट भिसामा विदेश पठाउने विषयमा गृहमन्त्री जोडिएकाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सापकोटाले बताए। उनले कांग्रेसभित्रैबाट पनि लेखकको राजीनामा माग भएकाले पदमा बसिरहनुको औचित्य नरहेको पनि बताए। ‘जति ढिला भयो उति नै राज्यको साख गिर्दै जान्छ भन्ने हाम्रो निष्कर्ष छ’, सापकोटाले भने।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री लेखकको राजीनामा माग गरेको छ। गृहमन्त्री र उनको सचिवालय भिजिट भिसामार्फत मानव तस्करीमा संलग्न रहेको सार्वजनिक भएकोमा आपत्ति जनाउँदै रास्वपाले राजीनामा मागेको हो। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पनि लेखकले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।

नेपाली कांग्रेसले भने ‘भिजिट भिसा’ प्रकरणमा संलग्न नभएकाले लेखकले राजीनामा दिनु नपर्ने ठहर गरेको छ। पार्टीको सोमबार बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले बताएका छन्।

उनले भने, ‘बैठकमा गृहमन्त्रीज्यूले आफ्ना कुरा सबिस्तार सुनाउनुभयो। भिजिट भिसा प्रकरणमा आफू संलग्न नभएको विश्वस्त पारेपछि हामीले उहाँको भनाइलाई सदर गरेका छौँ। संलग्न नभएपछि उहाँले राजीनामा दिनुपर्ने कुरा पनि आएन।’

भिजिट भिसामा विदेश जानेहरूसँग ‘सेटिङ’ मिलाएर रकम लिने कार्यमा सचिवालय संलग्न रहेको आरोप लागेपछि लेखक विवादमा तनिएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अनुसन्धानका लागि बोलाएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत रहेका भट्टराईलाई गृह मन्त्रालयमा सरुवा भएको भोलिपल्टै अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ।

अख्तियारले जेठ ७ गते अपराह्न गृह मन्त्रालयबाटै सहसचिव भट्टराईलाई नियन्त्रणमा सोधपुछ गरेर साँझ छोडेको थियो। गृहमन्त्री बनेपछि लेखकले नै भट्टराईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ अध्यागमन कार्यालका प्रमुख बनाएर पठाएका थिए। त्यहाँबाट सरुवा भएर गृह फर्किएको भोलिपल्टै उनी अख्तियारको अनुसन्धानमा तानिएका थिए।

भिजिट भिसा प्रकरणमा सहसचिव भट्टराई अख्तियारको ‘रडार’ मा परेको सुइँको पाएपछि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट गृहमा सरुवा गरिएको आशंकाले पनि गृहमन्त्री लेखकलाई विवादमा ल्याइदिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast