‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री लेखक संलग्न नभएको कांग्रेसको ठहर

हिमाल प्रेस १२ जेठ २०८२ ११:२०
54
SHARES
‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री लेखक संलग्न नभएको कांग्रेसको ठहर गृहमन्त्री रमेश लेखक। फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नरहेको ठहर गरेको छ। पार्टी पदाधिकारीको सोमबार बसेको बैठकपछि प्रवक्ता प्रकाशशरण महतले सञ्चारकर्मीसँग भने, ‘बैठकमा गृहमन्त्रीज्यूले आफ्ना कुरा सबिस्तार  राख्नुभयो। उहाँले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्नुभयो। त्यसपछि बैठकले उहाँको भनाइलाई सदर गरेको छ।’

भिजिट भिसा प्रकरणमा संलग्न नभएकाले लेखकले पदबाट राजीनामा दिन आवश्यक नभएको महतले बताए। संलग्न नभएकाले लेखक छानबिनको दायरामा नरहेकाले दोषी भनेर आरोप लगाउनुको औचित्य नरहेको उनको भनाइ छ।

उक्त प्रकरणमा जो संलग्न छन् उनीहरूमाथि अनुसन्धान भई कारबाही हुनुपर्नेमा दुईमत नरहेको महतले बताए। प्रवक्ता महतले केही नेता साथीहरूले कुराको गहिराइमा नपुगेर गृहमन्त्री लेखकको राजीनामा मागेको बताए। महतले भने, ‘उहाँ संलग्न नभएकाले राजीनामाको कुरै आएन।’ साथै छानबिनको दायरामा पनि नआएकाले पदबाट राजीनामा दिनु नपर्ने महतले बताए। महतले भिजिट भिसा प्रकरणमा लेखकको संलग्नता रहेको भनेर अफवाह फैलाइएको बताए।

भिजिट भिसामा विदेश जानेहरूसँग ‘सेटिङ’ मिलाएर रकम लिने कार्यमा सचिवालय संलग्न रहेको आरोप लागेपछि लेखक विवादमा तनिएका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अनुसन्धानका लागि बोलाएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत रहेका भट्टराईलाई गृह मन्त्रालयमा सरुवा भएको भोलिपल्टै अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ।

अख्तियारले जेठ ७ गते अपराह्न गृह मन्त्रालयबाटै सहसचिव भट्टराईलाई नियन्त्रणमा सोधपुछ गरेर साँझ छोडेको थियो। गृहमन्त्री बनेपछि लेखकले नै भट्टराईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ अध्यागमन कार्यालका प्रमुख बनाएर पठाएका थिए। त्यहाँबाट सरुवा भएर गृह फर्किएको भोलिपल्टै उनी अख्तियारको अनुसन्धानमा तानिएका थिए।

भिजिट भिसा प्रकरणमा सहसचिव भट्टराई अख्तियारको ‘रडार’ मा परेको सुइँको पाएपछि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट गृहमा सरुवा गरिएको आशंकाले पनि गृहमन्त्री लेखकलाई विवादमा ल्याइदिएको थियो।

उक्त प्रकरणमा भट्टराई एक्लैको नभएर गृहमन्त्रीको समेत ‘मिलेमतो’ भएको भन्दै विपक्षी दलहरू विरोधमा उत्रिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री लेखकको राजीनामा माग गरेको छ।

गृहमन्त्री र उनको सचिवालय भिजिट भिसामार्फत मानव तस्करीमा संलग्न रहेको सार्वजनिक भएकोमा आपत्ति जनाउँदै रास्वपाले राजीनामा मागेको हो। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पनि लेखकले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast