
नेपालको कुल क्षेत्रफलको २७ हजार ९८४ वर्ग किमि (२१.६ प्रतिशत प्रतिशत भूभाग) रहेको कर्णाली क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो प्रदेश हो। १० जिल्ला समेटेर निर्माण गरिएको प्रदेशभरिमा २५ वटा नगरपालिका र ५४ वटा गाउँपालिका गरी कुल ७९ स्थानीय तहका ७१८ वटा वडा छन्।
मुख्य सडक खण्डका रूपमा रहेको मध्यपहाडी लोकमार्ग र कर्णाली राजमार्गसहित सबै जिल्लामा विषम मौसमी प्रतिकूलताका समयबाहेक विभिन्न सडक खण्डको विकास भई यातायत सेवा सञ्चालनमा आइसकेको छ। यद्यपि प्रदेशका सबै स्थानीय तह तथा वडामा अझै पनि सुलभ रूपमा यातायात सेवा सञ्चालन हुन सकेको छैन।
ती सडक खण्डसमेत साँघुरा रहेका कारण सडक सुरक्षाका दृष्टिकोणले कर्णाली प्रदेशको यातायात क्षेत्रको अवस्था अत्यन्तै संवेदनशील र जोखिमयुक्त रहेको पाइन्छ। प्रदेशस्थित यातायात व्यवस्था कार्यालयको तथ्यांकअनुसार गत मंसिरसम्म प्रदेशभरिमा सानाठूला गरी ३० हजार ३६७ वटा सवारीसाधन सञ्चालनमा छन्। सवारीको चाप दृष्टिगत गर्दा अन्य प्रदेशमा दर्ता भई यस प्रदेशमा सञ्चालनमा आएका समेत गरी झण्डै ४० हजारको हाराहारीमा सवारीसाधन सञ्चालनमा छन्।
कर्णालीको ट्राफिक व्यवस्थापन, अनुगमन र नियमनका निमित्त संघीय कार्यालय मातहत रहने गरी नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतमा मुख्य कार्यालय र जिल्ला प्रहरी कार्यालय मातहत रहने गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय दसवटा छन्। साथै प्रदेशको ट्राफिक व्यवस्थापनलाई दृष्टिगत गरी आवश्यकता महसुस गरिएका र प्रहरी एकाइ रहेका स्थानमा थप ६० वटा अस्थायी ट्राफिक प्रहरी पोस्ट स्थापना गरी ट्राफिक व्यवस्थापन कार्य भइरहेको छ।
प्रदेशभरिमा प्रहरी उपरीक्षकदेखि प्रहरी कार्यालय सहयोगीसम्म कुल १६८ जना दरबन्दी रहेकोमा हाल प्रहरी सहायक निरीक्षक नौ र प्रहरी जवान ११ गरी २० जनाको दरबन्दी खाली छ। तथापि विभिन्न मिति र समयमा तालुक कार्यालयको आदेशले काज आएका समेत गरी ५७ जना प्रहरी कर्मचारीबाट यस प्रदेशको ट्राफिक व्यवस्थापन कार्य सम्पादन भइरहेको छ।
कर्णाली प्रदेश नेपालकै भूगोल, संस्कृति र प्राकृतिक सौन्दर्यले भरिपूर्ण प्रदेश हो। यस क्षेत्रको विकासको गति दुर्गम भौगोलिक अवस्थाले सुस्त बनाएको छ। यातायात पूर्वाधार र ट्राफिक व्यवस्थापन अभावले यो समस्या अझ जटिल बनाएको छ। सडकको कमजोर अवस्था, सीमित स्रोतसाधन, पुराना सवारीसाधन, तीव्र गति र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनको कमीले कर्णाली प्रदेशमा सवारी दुर्घटनाको जोखिम उच्च छ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ ले ट्राफिक प्रहरीलाई विभिन्न तवरले समग्र ट्राफिक व्यवस्थापनको अधिकार प्रत्यायोजन गरेको देखिन्छ। सवारी आवागमन सुव्यवस्थित रूपले सञ्चालन गर्ने, ट्राफिक नियम तथा संकेतको पालना गराउने, सडक अनुशासन पालना गराउने, ट्राफिक नियम उल्लंघनकर्तालाई कारबाहीको दायरामा ल्याउने साथै सवारी दुर्घटना अनुसन्धान गर्ने जिम्मेवारी ट्राफिक प्रहरीको रहेको छ। यस्तो महत्त्वपूर्ण जिम्मेवारी बोकेको ट्राफिक प्रहरी हरपल नागरिकको समीपमा रही आफ्नो कार्यलाई चुस्त, दुरुस्त र प्रभावकारी रूपमा सञ्चालन गर्न अत्यन्तै आवश्यक देखिन्छ।
कर्णाली प्रदेश तुलनात्मक रूपमा विकट भौगोलिक संरचना, कमजोर भूधरातल, जोखिमयुक्त सडक, पूर्वाधारहरूको अभाव साथै ट्राफिक संकेत र नियमको जानकारी नहुँदा तथा ट्राफिक जनशक्तिको अभावसमेतको कारणबाट समग्र ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण अवस्थामा छ। यस्ता समस्याका कारण कर्णाली प्रदेशले बर्सेनि सडक दुर्घटनाका कारण जनधनको ठूलो क्षति व्यहोर्नुपरेको छ।
आव ०७८/०७९, आव ०७९/०८० र आव २०८०/०८१ मा यस प्रदेशमा दुई हजार ३५ वटा सवारी दुर्घटनामा ४२३ जनाले ज्यान गुमाएका छन् भने चार हजार १०६ जना घाइते भएका छन्। वर्षभरी हुने दुर्घटनाको अवस्था हेर्ने हो भने साउन, भदौ, असोज र कात्तिकमा दुर्घटना बढी हुनुका साथै यसबाट अकालमा मृत्यु हुनेको संख्या पनि बढिरहेको छ। कर्णाली प्रदेशभित्र बढी हुने दुर्घटना विशेषगरी चालकको लापरबाही, भारवहनभन्दा बढी यात्रु बोकी हिँड्ने, तीव्र गति र मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति विशेष गरी देख्न सकिन्छ।
पूर्वाधारको विकास, सवारी प्रयोगकर्ताको बढ्दो संख्या र बढ्दो सवारी चापले सार्वजनिक सवारीको हकमा कम दुर्घटना हुँदा पनि धेरै जनधनको क्षति हुने हुँदा सार्वजनिक सवारीको व्यवस्थापन थप सुरक्षित र मर्यादित बनाउन सकेमा सवारी दुर्घटनामा कमी आउनुका साथै यात्रु पनि सुरक्षित हुने देखिन्छ। कर्णाली प्रदेशभित्र सार्वजनिक सवारीमा अधिकतम स्थानीय नागरिकले यात्रा गर्ने र प्रहरीका हरेक चेकपोस्टमा जाँचका क्रममा नागरिकसँग प्रहरीको प्रत्यक्ष सम्पर्क हुने गर्दछ।
सोही क्रममा ट्राफिक प्रहरीले यात्रुहरूसँग गर्ने व्यवहारले प्रहरीप्रति नागरिकको दृष्टिकोण तथा सम्बन्ध कस्तो स्थापित हुने भन्ने कुराको आधार तय हुन्छ। यसअन्तर्गत चेक पोस्टमा खटिने प्रहरी कर्मचारीले सार्वजनिक सवारीमा यात्रुहरूले प्राप्त गर्नुपर्ने न्यूनतम सेवासुविधाको अवस्था, यात्रुमाथि भएको कुनै पनि प्रकारको दुर्व्यवहार भएको छ/छैन यकिन गर्ने।
त्यसैगरी तोकिएको भाडादरअनुसार भाडा लिएको छ/छैन? आरक्षण सिटहरूको प्रभावकारी कार्यान्वयन भएको छ/छैन? तीव्र गतिमा सवारीसाधन चलाएको हो/होइन? जस्ता विषयमा सोधपुछ गरी कुनै समस्या भएमा तत्काल समाधान गर्ने तथा चालकले मादक पदार्थ सेवन गरी सवारी चलाएको छ कि छैन भनी जाँच गर्दा नागरिक र ट्राफिक प्रहरीका सम्बन्धमा सुधार र सवारी दुर्घटनामा न्यूनीकरण गर्ने प्रयास गरिएको छ।
सोही कुराको आवश्यकता बोध गर्दै कर्णाली प्रदेशभित्र हुने सवारी दुर्घटनालाई न्यूनीकरण गर्न र सडक प्रयोगकर्तालाई सुरक्षित महसुस गराउन नेपाल प्रहरीको कार्ययोजना, २०८० प्रहरी प्रधान कार्यालयबाट दुर्घटना न्यूनीकरण तथा नियन्त्रण गर्ने परिपत्रहरूका साथै कर्णाली प्रदेश प्रहरी कार्यालयबाट निर्माण गरिएको ‘सुरक्षित कर्णाली विशेष अभियान, २०८०’ सम्बन्धी कार्ययोजना साथै ट्राफिक प्रहरी दुर्घटना न्यूनीकरण लक्षित कार्ययोजना निर्माण गरी समग्र ट्राफिक व्यवस्थापन गरिएको छ।
कर्णाली प्रदेशको भौगोलिक अवस्थिति, पूर्वाधारको अभाव, तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति, पुराना सवारीसाधन, जीर्ण सडक, सिट क्षमताभन्दा बढी यात्रु राखी सवारीसाधन चलाउने प्रवृत्ति र सीमित स्रोतसाधनका कारण ट्राफिक व्यवस्थापनमा विभिन्न चुनौती देखिएका छन्। यहाँको दुर्गम र पहाडी भूभागले सडक निर्माण र मर्मतसम्भार जटिल बनाएको छ।
अधिकांश सडक कच्ची र साँघुरा छन्, जसले सवारी सञ्चालन जोखिमपूर्ण बनाउँछ। अत्यधिक वर्षाका समयमा पहिरो र सडक अवरोधले आवागमन थप कठिन बनाउँछ। सवारीसाधनको सीमितता र सार्वजनिक यातायातको अभावले चाडपर्वको समयमा स्थानीय बासिन्दाको दैनिक यात्रा कठिन बनाएको छ। चालक र पैदलयात्रुमा ट्राफिक ज्ञान अभावले दुर्घटनाको सम्भावना बढाएको छ। साथै सडक संकेत, बत्ती र ट्राफिक व्यवस्थापनका आधुनिक उपकरण नहुँदा समस्या जटिल छ।
यस्ता चुनौती समाधानका लागि कर्णाली प्रदेशमा सुदृढ सडक निर्माण, ट्राफिक शिक्षाको प्रचारप्रसार र आधुनिक प्रविधिको प्रयोग गरी व्यवस्थापनमा सुधार गर्नुपर्ने आवश्यकता देखिन्छ। ट्राफिक व्यवस्थापनको सुधारले यस क्षेत्रको सामाजिक र आर्थिक विकासलाई गति दिन मद्दत पुर्याउनेछ।
कर्णाली प्रदेशमा ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरण गर्न दीर्घकालीन योजना र ठोस रणनीति आवश्यक छ। प्रभावकारी ट्राफिक व्यवस्थापनका लागि आधुनिक प्रविधिको प्रयोग, सडकको मर्मतसम्भार, ट्राफिक नियम पालना, चालकहरूको क्षमता विकास र जनचेतनाको अभिवृद्धि गर्न प्राथमिकता दिनु आवश्यक छ।
कर्णालीको सडक सुरक्षाले मात्र यो प्रदेशको आर्थिक, सामाजिक र पर्यटकीय सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्न मार्गप्रशस्त गर्न सक्छ। यसैले ‘सुरक्षित सडक, समृद्ध कर्णाली’ भन्ने अवधारणालाई व्यवहारमा उतार्न सकिएमा मात्रै यहाँको भविष्य उज्ज्वल हुनेछ।
(प्रहरी निरीक्षक सुनार जिल्ला ट्राफिक प्रहरी कार्यालय, सुर्खेतमा कार्यरत छन्।)