
काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठक अनिश्चित भएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आन्तरिक कारण देखाउँदै बैठकमा उपस्थित हुन नसक्ने भएपछि बैठक अनिश्चित बनेको हो।
समिति सदस्य सरिता भुसालले शिक्षामन्त्री पन्तले समय माग गरेपछि समिति बैठक तत्काल नबस्ने सूचना पाएको जानकारी दिइन्। उनले भनिन्, ‘शिक्षामन्त्रीज्यूले आन्तरिक कारण देखाउँदे एक हप्ता समय माग्नुभएको जानकारी पाएकी छु। अब समिति बैठक कहिले बस्छ जानकारी छैन।’
मन्त्री पन्तले विधेयक अध्ययनका लागि समय मागेको हुन सक्ने समितिका सदस्यहरू बताउँछन्।
लगातारजसो बसिरहेको समिति बैठकमा उपसमितिले शिक्षा विधेयकमाथि छलफल गरी बुझाएको प्रतिवेदनमाथि छलफल भइरहेको छ। सांसद भुसालका अनुसार समितिको आजको बैठकमा निजी विद्यालय र बाल विकासको विषयमा छलफल भयो।
बैठकमा समिति सदस्यहरूले प्रतिवेदन उपर आआफ्नो धारणा राखेका थिए। समितिलाई शिक्षा विधेयकमाथि छलफल टुंग्याएर आगामी असार १५ गतेभित्र विधेयक प्रतिनिधिसभामा पुर्याउनुपर्ने चुनौती छ।
नेपाल शिक्षक महासंघ र सरकारबीच १७ वैशाखमा सो मितिमा विधेयक प्रतिनिधिसभामा पुर्याउने सहमति भएको थियो।