
काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रले जनतालाई तर्साएर आतंक राज गरेका कारण २०६४ सालको निर्वाचनमा एमालेले हार बेहोर्नुपरेको बताएका छन्।
आफ्ना लडाकु क्याम्पमा राखेर र मार्चपास गराएर आतंकको राज गरेकाले त्यसबेला आफूहरू पराजित भए पनि माओवादीले २०६४ सालको जस्तो परिणाम ल्याउने सपना देख्नुमा कुनै दम नभएको उनले बताएका हुन्।
नेकपा एमालेको बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमलाई उद्घाटन गर्दै उनले अब न २०६४ आउने न माओवादी आउने दाबी गरे।
‘माओवादी आतंकको छायाँमा हामीले २०६४ सालको निर्वाचनमा हार बेहोरेका हौँ। अब न २०६४ साल आउँछ, न माओवादी आउँछ। यो मुलुकमा एमाले नै मजबुत पार्टी हो। हामीसँग यो मुलुकलाई विकास र सुशासनको नेतृत्व दिने समाथ्र्य छ। त्यसकारण एकआपसमा अलमलमा पर्ने र विभाजन नभई आफ्नो शक्तिलाई सुदृढ गरौँ। पार्टीलाई स्पष्ट बहुमत ल्याउने मिसन २०८४ मा जुटौँ,’ ओलीले भने।
उनले आफूहरूले कम्युनिस्ट भनेर पार्टी एकता गरेपछि लगभग दुईतिहाइमा पुगेको नेकपालाई विभाजनको अपराध गरेर एमालेको देश बनाउने अभियानलाई रोक्न खोजेको टिप्पणी गरे।
‘उनीहरू खासमा कम्युनिस्ट थिएनन्। उनीहरूले अरूको विरोध नगरी एमालेको मात्रै विरोध गर्छन्। अनि वामपन्थी एकता हुनुपर्छ भनेर उनीहरूले भन्दा हाम्रा कतिपय साथीहरू हो कि भन्ने गलत बुझाइमा पर्छन्,’ ओलीले भने,‘कम्बोडियामा मेरो ३२ अर्बको लगानी छ भनेर हल्ला फिँजाउने व्यक्ति प्रचण्ड हुन्। त्यसको पछि लाग्नेहरू माधव नेपाल र झलनाथ खनालहरू हुन्। माधव र झलनाथ पार्टी प्रमुख हुँदा प्रभावकारी रूपमा चलाउन सकेनन्। पछिसम्म पार्टीचाहिँ कब्जामा लिएर बस्न खोजे। तथाकथित वामपन्थीहरू एमालेलाई धुलो चटाउँछु, टर्च लाइट बालेर खोज्न नभेटिने बनाउँछु भनेर अनेक षडयन्त्रमा उत्रिए, तर हामीले ती षडयन्त्रहरू चकनाचुर बनाएर अगाडि बढेका छौँ।’
प्रधानमन्त्री ओलीले राजतन्त्र फर्कने कुनै आधार नभए पनि प्रतिगामी तत्वहरू सल्बलाउँदा एमालेहरूको मनोवल गिर्न नहुने जिकिर गरे। उनले लाज नमानिकन जनतालाई रैती हुन पाऊँ भन्नेहरूले फैलाउने भ्रम चिन आग्रह गरे।
अहिले भ्रष्टाचारीहरू र सहकारीपिडीतहरूले नै ‘भ्रष्टाचारको विरोध र सहकारीलाई न्या दे’ भन्नेजस्ता आवाज उठाएर जनतामा भ्रम छरेको उनले उल्लेख गरे।
ओलीले स्थानीय तहका निर्वाचित वडाध्यक्षहरूले जनता र पार्टीसँगको घनिष्ट सम्बन्धलाई सुदृढ बनाएर विकास र सुशासनका लागि गर्नुपर्ने बताए।