युवा संघ पोखरा महाधिवेशन : सर्वसम्मत र चुनावको तयारी सँगसँगै, टुंगिए १७५१ जना प्रतिनिधि

हिमाल प्रेस ११ जेठ २०८२ १५:०१
16
SHARES
युवा संघ पोखरा महाधिवेशन : सर्वसम्मत र चुनावको तयारी सँगसँगै,  टुंगिए १७५१ जना प्रतिनिधि

पोखरा– प्रधानमन्त्री केपी शर्मा ओली संस्थापक अध्यक्ष रहेको राष्ट्रिय युवा संघ नेपालको पोखरा महाधिवेशन समयतालिका अनुरुप भएकोका भए तेस्रो दिन (आइतबार) सम्म नेतृत्व आइसक्थ्यो।

तर शुक्रबार ओली आफैँले उद्घाटन गरेको १० औँ राष्ट्रिय महाधिवेशन आगामी नेतृत्व सर्वसम्मत् गर्ने नाममा अघि बढ्न सकेको छैन। महाधिवेशनको तेस्रो तथा अन्तिम दिन बल्ल मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तयारी छ।

एमालेका केन्द्रीय तहका नेता एकातिर अझै पनि सर्वसम्मत् बनाउने करसतमा छन् भने उता निर्वाचन समितिले निर्वाचन प्रक्रियाको तयारी पनि थालेको छ।

यतिखेर महाधिवेशनस्थल पोखरा सभागृहमा देशभरबाट आएका प्रतिनिधि अन्योलमा छन्। रुपन्देहीबाट आएका एकजना प्रतिनिधि लेखनाथ भट्टराई भन्छन्, ‘नेताहरु मिलाउने भन्छन्, खै अझसम्म मिलेको छैन। निर्वाचन गरे, भोट हालेर फर्किन हुन्थ्यो।’

युवा संघको आगामी नेतृत्वका लागि अध्यक्ष पदमै सहमति जुट्न सकेको छैन। प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीको समर्थन रहेको हालका अध्यक्ष क्षितिज थेवे पुनः दोहोरिन चाहेका छन्।

तर वर्तमान महासचिव सुमन पुरी एकरत्ति पनि पछि हटेका छैनन्। उपाध्यक्षको अनुभव हासिल गरिसकेका उनी यसपालि अध्यक्ष हुने आश्वासनमा गत नवौँ महाधिवेशनमा महासचिव खाएका थिए।

अध्यक्ष पदका लागि थेवे, पुरीसहित उपाध्यक्ष प्रकाश गौतम, महाराज गुरुङ र कृष्णहरि केसी पनि दाबेदार थिए। तर सर्वसम्मत्को सम्भावना कम भएपछि उनीहरु थेवे र पुरी प्यानलमा विभाजित भइसकेका छन्।

युवा संघका इन्चार्ज राजीव पहारीले सकेसम्म सर्वसम्मत् प्रयास भइरहेको जानकारी दिए। उनका अनुसार महाधिवेशनमा १७ सय ५१ जना प्रतिनिधि टुंगो लागेको छ।

युवा संघका पूर्वअध्यक्षसमेत रहेका इन्चार्ज पहारी भन्छन्, ‘अब प्रतिनिधिहरुको अन्तिम नामावली प्रकाशित हुन्छ। त्यसपछि चुनावको कार्यक्रम सार्वजनिक हुन्छ।’ उनका अनुसार चुनावको तयारी भइरहे पनि सर्वसम्मत्को सम्भावना बढी छ।

निर्वाचन अधिकृत जय गुरुङका अनुसार चुनावका लागि ४५ वटा इलेक्ट्रिक भोटिङ मेसिन पनि तयार पारिएको छ।

युवा संघको आगामी केन्द्रीय कमिटी १५१ सदस्यीय हुनेछ। जसमा अध्यक्ष, उपाध्यक्ष (महिलासहित २), महासचिव, उपमहासचिव, सचिव ४, कोषाध्यक्ष पदाधिकारीसहित १५१ सदस्यीय नेतृत्व चयने युवा संघ नेपाल कास्की सचिव हिमाल गुरुङले जानकारी दिए। पहिले पदाधिकारीमात्रै १७ जना रहेकोमा अहिले घटाइएको हो।

प्रकाशित: ११ जेठ २०८२ १५:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast