
काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीहरूको बैठक बोलाएका छन्। सोमबार (१२ जेठ) बिहान ९ बजे बुढानीलकण्ठस्थित देउवा निवासमा बैठक बस्ने तय भएको छ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा क्रियाशील सदस्यता नवीकरणसम्बन्धी विषय प्रमुख एजेन्डा हुनेछ।
उनका अनुसार महामन्त्री गगन थापाले क्रियाशील सदस्यता नवीकरणको हालसम्मको अवस्थाबारे ब्रिफिङ गर्नेछन्। थापा सदस्यता व्यवस्थापन समितिका संयोजक पनि हुन्। कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको लागि असार मसान्तसम्मको समयसीमा तोकेको छ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने बताइएको छ।
विशेषगरी गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईको पक्राउ र त्यसपछिको गृहमन्त्रीको सचिवालयसँग जोडिएको विवादबारे समेत छलफल हुने बताइएको छ।