भिजिट भिसा प्रकरणमा गृहले भन्यो – नेतृत्वको कुनै संलग्नता छैन

हिमाल प्रेस १० जेठ २०८२ १८:३६
32
SHARES
भिजिट भिसा प्रकरणमा गृहले भन्यो – नेतृत्वको कुनै संलग्नता छैन गृहमन्त्रालय

काठमाडौँ- गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग जोडेर आइरहेको भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको कुनै संलग्नता नभएको बताएको छ।

गृह मन्त्रालयका सहसचिव छवि रिजालले शनिबार विज्ञप्ति निकालेर कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालय नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने बताएका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत रहेका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोधपुछ गरेपछि भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको नामसमेत मुछिएको छ।

गत बुधबार अख्तियारले सोधपुछ गरेका भट्टराईको एक दिनअघि मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गृह मन्त्रालय सरूवा गरिएको थियो। भिजिट भिसामा विदेश जानेहरूसँग ‘सेटिङ’ मिलाएर रकम लिने गरेको भन्दै उनीविरूद्ध अख्तियारमा उजुरी परेको थियो।

अख्तियारले सहसचिव भट्टराईसँग सोधपुछ गरेपछि भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकसँग जोडिएर सञ्चारमाध्यमहरूमा समाचार प्रकाशित भएका छन्।  गृह मन्त्रालयले भने गृहमन्त्री लेखकलाई जोडेर आएका समाचारहरू कपोकल्पित, भ्रामक र आधारहीन रहेको दाबी गरेको छ।

अध्यागमन कार्यालयको कामकारबाहीका सम्बन्धमा अख्तियारले छानबिन गरिरहेको हुँदा अनुसन्धान कार्य पूरा भएपछि सत्यतथ्य सबैको जानकारीमा आउने गृहले जनाएको छ।

अख्यितारबाट भइरहेको छानबिन तथा अनुसन्धानसम्बन्धी कार्यमा मन्त्रालयको पूर्ण सहयोग रहने सहसचिव रिजालले बताएका छन्।

गृहमन्त्री लेखकले पनि भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन्। शनिबार जनकपुरमा धनुषा कांग्रेसले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यो प्रकरणमा आफ्नो संलग्नता पुष्टि भए राजनीतिमा नदेखिने बताए।

भिजिट भिसा प्रकरण कहाँबाट कसरी उठाइयो भन्ने विषयमा खोजी गरिरहेकोले हालसम्म केही नबोलेको लेखेकले बताएका छन्।

‘केही दिनदेखि भिजिट भिसासँग जोडेर मेरो बारेमा सामाजिक सञ्जालमा लेख्ने काम भइरहेको छ। यो कहाँबाट, कसरी, किन भइरहेको छ भन्ने खोजीराखेको थिएँ,’ उनले भने,‘यो विषयमा मैले धेरै कुरा थाहा पाइसकेको छु, आजै काठमाडौँ गइसकेपछि गृह मन्त्रालयले विज्ञप्ति निकाल्छ। दुई चार दिनमा आफैँ पनि केही कुरा बोल्छु।’
लेखकेले आफ्नो कारणले कांग्रेसको शिर झुक्न नदिने बताएका थिए।

‘इमानदारीका साथ राजनीति गर्दै आएको छु। साथीहरूको मन सानो हुने र टाउको निहुरिने काम गर्दिनँ,’ उनले भने,‘जुन दिन मेरो हातले गलत काम हुन्छ, त्यो दिनदेखि म राजनीतिमा देखा पर्दिनँ।’

प्रकाशित: १० जेठ २०८२ १८:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast