नियात्रा

अक्करे भीर, साहसिक यात्रा र लटारम्भेश्वरको दर्शन

राजाराम बर्तौला १० जेठ २०८२ १८:३१
32
SHARES
अक्करे भीर, साहसिक यात्रा र लटारम्भेश्वरको दर्शन

भगवान् अक्कर भीरको बाटो, अनकन्टार गुफा, हिमाच्छादित शिखर, दुरुह भीरपहरा यस्तै ठाउँमा बस्न रुचाउँछन् कि के हो? भगवान् आशुतोष सदाशिव शैलशिखर, हिमाच्छादित कैलाशमा मात्र नबसेर विभिन्न नाममा केदारनाथ, बद्रीनाथ हिमालमा नै बास गरेका छन्। कहिले गुप्तेश्वर गुफामा त कहिले बतासे डाँडामा। नेपालीको आराध्यदेव पशुपतिनाथ बागमतीको किनारमा बसेका छन्।

हामीलाई नेपालमा यही मात्र एउटा ज्योर्तिलिंग हो जस्तो लाग्छ। प्रमुख एकाउन्न शक्तिपीठमध्ये गुह्येश्वरी पनि हो। सतीदेवीको शिर पतन भएको ठाउँ मुक्तिनाथ पनि शक्तिपीठमध्येको शक्तिपीठ हो। यस्तै भद्रकाली, मनकामनालाई पनि शक्तिपीठ नै मानिन्छ। ६४ वटा शक्तिपीठ छन् भनिन्छ। यस्ता पीठ भारत, पाकिस्तान र बंगलादेशमा समेत छन्।

धेरै ठाउँमा धेरै शक्तिपीठ उत्पन्न भएका छन्। देवाधिदेव महादेव पत्नी वियोगमा सतिदेवीलाई बोकेर हिँडेपछि जहाँजहाँ सतिदेवीको अंग पतन भयो त्यहाँ त्यहाँ शक्तिपीठहरू उत्पन्न भए भन्ने मान्यता छ। पुराणमा वर्णित कथाले पनि यसै भन्छन्। निकै समयसम्म गुप्त रहेको स्थानीयले सदीयौँदेखि पूजाअर्चना गर्दै आएको अर्को एउटा शक्तिपीठ पनि नेपालमा छ भन्ने कुराको जानकारी आममानिसलाई धेरै पछि आएर मात्र थाहा भयो। अझ भनौँ यसको प्रचार हालै मात्र हुन थालेको छ। कान्ति लोकपथ नबन्दासम्म र बनेर पनि नचल्दासम्म यो शक्तिपीठको विषयमा हामी अनभिज्ञ थियौँ।

ललितपुर र मकवानपुर जिल्लालाई बागमती नदीले विभाजन गर्दछ। बगुवा भन्ने ठाउँमा यो सीमा नदी काटेर मकवानपुरतर्फ लागेपछि समुद्री सतहबाट १८२५ मिटरको उचाइमा रहेको छ एउटा शक्तिपीठ लट्टेश्वर। यहाँ सतीदेवीको लट्टा अर्थात् गुजुल्टिएको कपाल पतन भएको थियो रे।

आफ्नै जिल्ला भएर पनि यो ठाउँको विषयमा जानकारी थिएन। कान्तिलोकपथबाट हेटौँडा आउजाउ गर्न थालेपछि मात्र यसबारे जानकारी भएको हो। मनमा हुटहुटी थियो यहाँ पुग्ने, तर समय जुरेको थिएन। वैशाख २०, २०८२ को दिन त्यो साइत जुर्‍यो। स्कुले सहपाठी नारायण, गाउँले मित्र इन्दु थापासहित हामी तीनजना आआफ्नो स्कुटी लिएर त्यसतर्फ हान्नियौँ। बाटो दुरुह छ र खतरामुक्त छैन भनेर कसैले भनेको थियो। भयलाई किनारा गरेर हामी हुइँकिएका थियौँ। बिहान सात बजे घरबाट निस्केर तीनैजना चापागाउँको ग्यास स्टेसनमा भेट भयौँ। त्यहाँबाट सँगै अघि बढ्यौँ।

तीनपाने भन्ज्याङ नेपालको चार भन्ज्याङमध्येको एउटा हो। नाम ‘तीनपाने’ भने पनि अहिले यहाँ तातो चिया र खाजा मात्र पाइन्छ। कुनै कालखण्डमा यहाँ थाकेका पथिकहरूलाई चिसो पेयले स्वागत गरिन्थ्यो रे भन्नेसम्म सुनेको हो। तीनपाने पुगेपछि साथी इन्दुले चिया पिउने रहर गरे। अलि तल गएर खाऊँ भन्ने नारायणको जिद्दी रह्यो। नारायणको कुरा सदर गर्दै हामी हिँड्यौँ।

यो बाटो केही समयअगाडि पिच गरिएको थियो। यहाँको भीर कमलो चट्टानबाट बनेको हुँदा पहिरो गइरहन्छ। पिच गरेको बाटो अघिल्लो वर्षाले ताछेर लग्यो। यसको स्थायी समाधान नखोजे जति पिच गरे पनि यहाँ यस्तै हुन्छ। स्कुटीको सानो टायर, उबडखाबड बाटोमा गुडाउँदा ढाड सड्केला भन्ने पीर। अझ बत्तिएर या हुत्तिएर कान्लामुनि पुगिएला भन्ने चिन्ता। बडो जतनले होसियार हुँदै पाँचसात किलोमिटर तलको चिया खाने ठाउँसम्म पुग्यौँ। ‘चियासँग आलुको तरकारी र चप नखाए यहाँ चिया खाएको के स्वाद?’ भन्दै नारायणले आलुचप र आलुको तरकारी मगायो। भनुँ यो परिकार यहाँको विशेष रैथाने हो। हामीले पनि तात्तातो चप खाएर त्यो रीत पूरा गर्‍यौँ।

स्कुटी चढ्नै लागेका थियौँ। हाम्रो नजर एकजना युवामा पर्‍यो। उनी बाटो छेउमा यात्रीहरूले फालेको प्लास्टिकजन्य फोहोर टिपेर बोरामा कोच्दै थिए। बाटोको डिल र कान्लाभरि पानीका बोतल र प्लास्टिकका पाउच छरिएका थिए। यिनी एक्ला सिपाही, प्रकृतिप्रेमी, स्वच्छ वातावरणको अभियानमा होमिएका रहेछन्। यिनको नाम हो सुमन घिमिरे।

नामजस्तै रहेछ यिनको मन पनि। सचेत, जागरुक, स्वाभिमानी, प्रकृतिप्रेमी युवा। यहाँ भन्दा केही पर यिनको आफ्नै “बेम्बु रिसोर्ट” पनि रहेछ। व्यवासायिक चेत पनि राम्रै रहेछ। स्थानीय होटलहरूले फालेको बाटोको फोहर उठाउँदा पनि यिनले रकम तिर्नुपर्ने रहेछ। प्रकृति, वातावरण, सफाइ र स्वास्थ्यप्रति हाम्रो चेतनाको स्तर यसैबाट देखिन्छ।

यिनले कालो टिसर्ट लगाएका थिए। यसको पछाडि Nature doesn’t need people, people need nature भन्ने लेखिएको थियो। उनको मान्यता थियो ‘प्रकृतिलाई मानिस नभए पनि हुन्छ, तर हामी मानिसलाई प्रकृति नभई हुँदैन।’ प्रकृतिप्रति यिनको एकोभाव कत्तिसम्म रहेछ भने बायाँ हातमा Save Nature, Nature doesn’t need human, human need nature लेखेर ट्याटु खोपेका छन्। यसैबाट नै उनको प्रकृतिप्रतिको प्रेम देखिन्छ।

सुमन घिमिरे

‘प्रकृति बचाऔँ’ भन्ने यिनको अभियानमा एकताभाव दर्शाउँदै हामी नको कामबाट प्रभावित भयौँ। केही उत्साह, केही शुभकामनाका शब्द खर्चेर हिँड्यौँ। यो मुलुकको भविष्य अझै सुन्दर छ भन्ने कुरा यस्तै युवाको जागरुकता, एकाग्रता, लगन, विश्वास र मिहिनेतले देखाउँछ।

हामी बागमती पुग्यौँ। बागमती बगेको यो ठाउँ समुद्री सतहबाट ७३५ मिटरको उचाइमा छ। गत वर्षको बाढीले बागमतीमाथि बनेको पुलको दुई किनारा भत्काएर लगेको हुँदा पुलबाट सवारी चल्दैन। पुलमुनिबाट अस्थायी बाटो बनाइएको छ। फिँजसहित बगेर आएकी बागमतीले नदी कति प्रदूषित छ भन्ने देखाउँछ। यही पानी नदी किनाराका खेतमा सिँचाइको लागि प्रयोग गरिन्छ। लाग्छ– हाम्रो दिमाग नै प्रदूषित छ।

दिन धुम्मपरेको थियो। लेकलाई बादलले छोपेको थियो। आज पानीले चुट्ने भयो भन्ने लागिरहेको थियो। बेसीमा भन्दा लेकमा पानी छिटो पर्छ। हामी बेसीबाट लेकतिर उक्लँदै थियौँ। बागमती कटेपछि केही मिटर पश्चिमबाट मूलबाटो छोडेर उकालो लाग्यौँ। यो बाटो नेपाली सेनाले ब्यारेक जान र सुरुङ निर्माणस्थल जान भनेर बनाएको हो।
यहाँ पहाड खोपेर सुरुङमार्ग निर्माण हुँदैछ- काठमाडौँ-निजगढ द्रुतमार्गको एउटा हिस्सा। यहीँबाट हामी स्कुटीमा नै उकालो लाग्यौँ अलि माथि महादेवटारसम्म र लटारम्भेश्वर होमस्टे एन्ड खाजाघरमा स्कुटी राखेर उकालो लाग्यौँ।

लटारम्भेश्वरको प्रचार बढ्दै जाँदा भक्तजनको संख्या पनि बढ्दै गएछ। पहाडको फेदीमा होमस्टे र खाजाघर खुलेका छन्। स्थानीयले केही मात्रामा भए पनि व्यवसाय पाएका रहेछन्। अग्र्यानिक सागसब्जी पनि बेच्न राख्दा रहेछन्। महिला र केटाकेटीले कुरिलो, निउरो, हर्रो, बर्रो, अमलासहितका स्थानीय उत्पादनहरू बेच्दा रहेछन्।

यहाँबाट ठाडो उकालो चढ्नुपर्छ करिब दुई घण्टा। बीच बाटोमा पुग्दानपुग्दै पानीले चुट्यो। सुनसान एउटा घरमा केही बेर ओत लागियो। यो मूलतः तामाङ गाउँ भए पनि त्यागिएको घर भने बाहुनको रहेछ। घर भएको ठाउँमा करिब दसबीस रोपनी जति खेती नगरेको निजी जमिन पनि देखियो। स्थानीय तामाङले सकेजति खेती गरेर बसेका रहेछन्। उब्जाउ केही दिन नपर्ने रे। खन्यो, जोत्यो, खायो। अर्थात् जमिनको मालिकलाई अब त्यो चाहिएन। उनी सहर पसे, पाखो खाली रह्यो। यस्ता धेरै पाखो बाँझै छन्। परिश्रमी हातहरू मरुभूमिमा या मलाया जंगलमा बेल्चा चलाउँदै छन्। टाठाबाठा सहर पसिहाले। निमुखा खोरिया हेरेर बस्दैछन् दिन फिर्छ कि भनेर।

नारायण निथ्रुक्कै भिज्यो। भन्दै थियो, “भित्रको तातोले बाहिरको लुगा सुक्छ।” हुन त हो, भित्रैदेखि तातेपछि मानिस कि त सुक्छ कि त फुक्छ। सेलाएर चिसिनु भन्दा त तातेकै जाति हो। तातोमा प्राण त हुन्छ। खण्डहर खोरियामा चिसा हातहरूले पत्कर सोहरेर के जिन्दगी बाँच्नु र? त्यसैले त मानिस उराठ जिन्दगी बाँच्नु भन्दा मैदानी तातो हावामा परिश्रम बेच्न तयार हुन्छ। “जागे रहो! गोर्खे कराउँछ दिल्लीमा।” यहाँ जंगलमा कोइली भाका हाल्छे। को हँ?

हामी सुस्केरा हाल्दै पुग्यौँ देउराली। देउरालीमा खाजा खाने दोकान छन्। त्यो अन्तिम स्थल होइन। यहाँबाट तरपाइन तरपाइन बाटो हिँड्नुपर्छ। केहीबेरको हिँडाइपछि आइपुग्छ पदयात्राको उच्चतम रोमाञ्चक, साहसिक तर खतरायुक्त ठाउँ। दुवैतिर सर्लक्क खारिएर बसेको चिप्ले चट्टान। छेउछाउबाट ससानो पर्खाल लगाएर बनाएको दुईअढाई फिटको बाटो। यता हेर्‍यो छांगाछुर भीर उता हेर्‍यो कहाली लाग्ने चिप्ले चट्टान। यहाँबाट केही गरी खुट्टा चिप्लियो भने राम राम …भन्नु सिवाय अर्को विकल्प छैन। खोज्न जाँदा हड्डीसम्म भेटिएला। धन्न, फलामको बार लगाइदिएका छन् र हिँड्न सजिलो भएको छ। सय मिटरजति बाटो यस्तो छ। यही नै यात्राको दुरुह तर रोमाञ्चक खण्ड हो। युवाको टिकटक या रिल बनाउने ठाउँ त हो नै। किञ्चित ध्यान पुग्न नसक्दा सम्भावित दुर्घटना स्थल पनि हो।

यो खण्डलाई डब्ल्यू डाँडो पनि भन्दा रहेछन्। दुईतिर उच्च पहाड बीचमा सामान्य उठेको भागले अंग्रेजी अक्षर ‘डब्ल्यू’ जस्तै देखिने रहेछ। यो चट्टानी बाटो काटेपछि केही मिटर उकालो चढेपछि लटारम्भेश्वर महादेवको मन्दिर पुगिन्छ। यहाँ महादेवको मन्दिर भनेर त्यस्तो कुनै भौतिक निर्माण गरिएको छैन। महादेव गुफामा भित्र बसेका देखिन्छन्। नजिकै गणेशको मन्दिर बनाइएको छ।

जाँदाजाँदै गुफामा पुगिन्छ। लटारम्भेश्वर र गणेशको दर्शन गरेर पुनः उकालो चढ्नुपर्छ। डाँडाको टुप्पामा रहेकी छिन् सतीदेवी। सतीदेवी पनि खुला आकाशमुनि छिन्। देवीको शक्तिको तेज प्रकृतिले मात्र बहन गर्न सक्छ भन्ने मान्यतामा खुला आकाशमुनि देवी प्रतिमा राखेको देखिन्छ। यहाँ पनि त्यस्तै होला सायद।

देवीको लट्टा पतन भएको ठाउँ शक्तिपीठका रुपमा लटारम्भेश्वर भनिए पनि कसैकसैले नटारम्भेश्वर पनि भनेर भन्ने गरेको सुनिन्छ। महादेवले यही ठाउँमा तण्डु ऋषिलाई ताण्डव नृत्य सिकाएको हुनाले यो ठाउँलाई नटारम्भेश्वर भनेर पनि भनिएको भन्ने पनि छन्। शक्तिपीठका रूपमा रहेको हुनाले लटारम्भेश्वरको दर्शन मोक्षदायिनी रहेको छ। यहाँ कोही पनि पुजारी छैन। एकजना माताजी बसेकी छिन्। उनी घाम, पानी, हावा, हुरी सबै सहेर ओतबिना त्यहाँ रहेकी छिन्।

जटाटवी गलज्जलप्रवाह पावितस्थले गलेऽव लम्ब्यलम्बितां भुजंगतुंग मालिकाम्‌।
डमड्डमड्डमड्डमन्निनाद वड्डमर्वयं चकारचण्डताण्डवं तनोतु नः शिवस् शिवम्‌ ॥१॥

‘जंगलजस्तो जटाबाट प्रवाह भएको जलले पवित्र पारेको स्थानमा गलामा सर्पको माला बेरेर, डमडम डमरु आवाज आउने गरी डमरु बजाएर ताण्डव नाच्दै गरेका शिवले रक्षा गरून्’ भनेर भगवान् शिवको आराधना गरिन्छ। मकवानपुरेहरूले यस ठाउँको पवित्रताबाट सांस्कृतिक लाभ लिन सकेको देखिँदैन। भगवान् शिवले नै यहाँ नाट्यकला सिकाएका हुन् भने मकवानपुरवासीले नाट्यकला र संगीतकलामा विशेष दख्खल राख्न स्थानीय सरकारले कार्यक्रम सञ्चालन गर्नपर्ने देखियो।

हामीलाई थाहा थिएन अघि आएको पहाड त हात्तीसुँढे रहेछ। यिनै माताजीले त्यो डाँडो देखाएर भनिन्, ‘तपाईँहरूले के देख्नुहुन्छ त्यहाँ?’ हामीहरूले भन्यौँ, ‘एउटा अजंगको डरलाग्दो भीर र घोप्टे डाँडो।’ ‘होइन, होइन, अलि राम्रोसँग हेर्नुहोस् त’, उनले फेरि भनिन्, ‘यो हात्तीसुँढे पहाड हो।’ ओ, नभन्दै पहाड त ठ्याक्कै हात्तीजस्तो रहेछ। यसलाई भन्छन् पर्सेप्सन अर्थात् अवधारणा। चेतन र अवचेतनको आलोकबाट निर्मित, वर्णित र सञ्चित उद्बोधन। हामीले देखेनौँ उनले देखिन्। जब हामीले उनीबाट सुन्यौँ तब हामीले देख्यौँ जीवनको वृत्ति जस्तै।

यहाँको सरसफाइ यिनैको निर्देशनमा फेदीको बस्तीबाट उत्साही युवा गएर गर्छन्। हामी पुग्दा एउटा सानी नानी सरसफाइ गरिरहेकी थिइन्। यति महत्त्वपूर्ण देवस्थलको व्यवस्थित रूपमा व्यवस्थापन तथा सञ्चालनमा स्थानीय सरकारको चासो रहेकै होला भन्ने अपेक्षा गरियो। साथै भक्तजनको सुरक्षामा पनि थप ध्यान पुगोस् भन्ने कामना गर्दै फर्कियौँ। बिहान १० बजे उकालो लागेका हामी दर्शन गरेर फेदीमा पुग्दा चार बजेको थियो। तैपनि गाउँलेले हामीलाई हौस्याए छिटो हिँडेको भनेर। हामी फुरुंग पर्दै स्कुटी चढेर फर्कियौँ। घर आइपुग्दा ठूलै पानी पर्‍यो। सञ्चारमाध्यममा बागमतीको अस्थायी पुल बगाएको समाचार प्रसारण भइरहेको थियो।

 

प्रकाशित: १० जेठ २०८२ १८:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast