
काठमाडौँ- नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको शुक्रबारदेखि पोखरामा महाधिवेशन चलिरहेको छ। शुक्रबार प्रधानमन्त्री एवं केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गरेका थिए। अहिले महाधिवेशनको बन्दशत्र जारी छ। तर, युवा संघका नेताहरूका अनुसार अहिलेसम्म प्रतिनिधि छनोटको किचलोले महाधिवेशन अघि बढ्न सकेको छैन।
‘महाधिवेशन त तोकियो। तर अहिलेसम्म प्रतिनिधि कति छन्, थाहा छैन।’ ती नेता भन्छन्,‘महाधिवेशनका प्रतिनिधिको अन्तिम लिष्ट महाधिवेशन हललाई दिइएकै छैन। प्रमाणपत्र पनि पाइएको छैन।’
युवा संघका उपाध्यक्ष एवं अध्यक्ष महाराज गुरुङको नेतृत्वको कार्यदललाई प्रतिनिधि टुंग्याउन जिम्मेवारी दिइएको थियो। हाल सोही कार्यदलले अहिलेसम्म पनि प्रतिनिधिको लिष्ट हललाई दिएको छैन। यही कारण महाधिवेशनको कार्यसूची अघि बढ्न सकेको छैन। अहिलेसम्म महाधिवेशनमा प्रतिवेदन पेस गर्ने काम भइसकेको छ।
सर्वसम्मत अध्यक्ष बन्ने दाउमा महाराज, चुनाव चाहन्छन् सुमन पुरी
युवा संघको नेतृत्व चयन प्रक्रिया अझै अघि बढ्न नसकेको छैन। नेताहरूका अनुसार नेतृत्व चयन प्रक्रिया निर्वाचन वा सर्वसम्मत कुन विधिबाट अघि बढाउने टुंगो लागेको छैन। पार्टी नेताहरू सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिइरहेका छन्।
उनीहरूले सर्वसम्मतिबाट नेतृत्व चयनका लागि विभिन्न विकल्प समेत दिइरहेका छन्। तर, यता अधिकांश प्रतिनिधि भने निर्वाचनमा जानुपर्ने मत राख्दै आएका छन्। अध्यक्षका लागि अहिलेसम्म महाराज गुरुङ, सुमन पुरी, प्रकाश गौतम, कृष्णहरि केसीसहितले दाबी गरिरहेका छन्।
महाधिवेशन हलमा रहेका नेताहरूका अनुसार हालसम्म कसैले पनि दाबी छाडेका छैनन्। नेताहरूका अनुसार महाराज गौतम र सुमन पुरी भाबी अध्यक्षका लागि बढी सम्भावित नेतामा पर्छन्। उनीहरूमध्ये कसलाई अध्यक्ष बनाउने भन्ने दोधार नेताहरूमा छ।
नेताहरूका अनुसार उनीहरूको समर्थनमा पार्टी नेतृत्व समेत खुलेको छैन। महाधिवेशन हलमा रहेका नेताहरूले सर्वसम्मतिबाट अध्यक्ष बन्न अनुरोध गरिरहेका छन्। युवा संघ स्रोतका अनुसार महाराज सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेका छन्।
उनी भरसक नेताहरूलाई मिलाएर चुनावबिना नै अघि बढ्न चाहिरहेका छन्। पुरी भने निर्वाचनबाट भए पनि नेतृत्व चयन गर्नुपर्ने पक्षमा खुलेका छन्। ती नेताका अनुसार पुरीले निर्वाचन लड्नकै लागि प्यानल खडा गर्ने तयारी गरेको समेत गरेका छन्।
ओलीको ग्रिन सिग्नल कसलाई?
नेताहरू अहिलेसम्म कसैप्रति नखुलेको बताइने गरेको छ। ‘नेताहरू कोही पनि खुलेको देखिदैन। मिल्न दबाब दिइरहनुभएको छ,’ ती नेता भन्छन्,‘तर, भित्रिरूपमा बुझ्दा पार्टी अध्यक्षको ग्रिन सिग्नल पनि सुमन पुरीलाई नै छ कि जस्तो देखिन्छ। सुमन एकदम कडा रूपमा प्रस्तुत भएका छन्।’
ती नेताका अनुसार केही नेता महाधिवेशन स्थगित गर्न समेत दबाब दिइरहेका छन्। ‘कतिपयलाई हार्नुभन्दा स्थगित गर्नु वा बिथोलिदिएर नेतालाई नाम पढाउन बाध्य पार्ने रणनीति समेत छ।’
विकल्प : क्षितिज दोहोर्याउने देखि सुमन–महाराजलाई आधाआधा कार्यकाल दिनेसम्म
सर्वसम्मतिको प्रयास चलिरहदा विभिन्न विकल्पमा समेत प्रस्ताव गरिँदैछ। नेताहरूका अनुसार निर्वाचन हुन नदिने उत्तम विकल्प वर्तमान अध्यक्ष क्षितिज थेवेलाई दोहोर्याउने हो। उनले यसअघि नै युवा संघ छाड्ने बताए पनि पार्टीले दोहोरिन आग्रह गरिरहेको छ।
उनको कार्यकालमा महत्त्वपूर्ण काम भएको भन्दै ओलीले समेत दोहोरिन आग्रह गरेका थिए। तर, व्यक्तिगत रूपमा क्षितिज दोहोरिन चाहेका छैनन्। यदि पार्टीले दबाब दिएमा राजी हुन सक्ने अनुमान छ। तर, चुनावबाट नभई सर्वसम्मत अध्यक्ष हुनुपर्ने क्षितिजको दाबी छ। यसका अलावा, सुमन र महाराजलाई नै एक एक वर्ष अध्यक्ष बनाउने प्रस्ताव समेत राखिएको छ। सुमन उमेर हदको कारण आगामी वर्षदेखि युवा संघ छाड्दैछन्।
युवा संघमा ४० वर्षे उमेर हद कायम गरिएको छ। यसपटक सुमनलाई अध्यक्ष बनाउने र अर्को वर्ष महाराजलाई हस्तान्तरण गर्ने प्रस्ताव समेत अघि बढाइएको छ। ‘धेरै प्रस्ताव अघि बढाइएको छ। ठ्याक्कै भन्ने अवस्था छैन।’ एक नेताले भने।