युवा संघमा पनि ओलीको आशीर्वादको प्रतीक्षा!

विजय नेपाल ९ जेठ २०८२ २३:१८
14
SHARES
युवा संघमा पनि ओलीको आशीर्वादको प्रतीक्षा! पोखरामा शुक्रबार युवा संघ नेपालको महाधिवेश उद्घाटन गर्दै नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिर : हिमालप्रेस

पोखरा- नेकपा (एमाले) को भ्रातृसंगठन राष्ट्रिय युवा संघ नेपालको दसौँ राष्ट्रिय महाधिवेशन शुक्रबार पोखरामा आरम्भ भएको छ। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अमरसिंहचौरमा महाधिवेशन उद्घाटन गरेका हुन्। तीन दिनसम्म चल्ने महाधिवेशनको बन्दसत्र तथा चुनावी प्रक्रिया भने पोखरा सभागृहमा सुरु भएको छ।

सरकारको नेतृत्व गरिरहेको एमालेको सबैभन्दा सशक्त भ्रातृसंगठन रूपमा युवा संघ नेपाललाई लिइन्छ। तत्कालीन प्रजातान्त्रिक युवा संघका संस्थापक अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले महाधिवेशन उद्घाटन गरेर मुलुकको विकासमा युवा वर्गको उभार आवश्यक रहेको बताएका छन्। युवा संघलाई संगठनका नेता तथा नेतृत्व जन्माउने संगठनका रूपमा लिइन्छ।

केपी शर्मा ओलीदेखि, केशव स्थापित, पशुपति चौलागाईँ, गोकर्ण विष्ट, अजम्बर काङमाङ राई महेश बस्नेत, किरण पौडेल, नीरुदेवी पाल, राजीव पहारी, रमेश पौडेल हुँदै हालका अध्यक्ष क्षितिज थेवेसम्म आइपुग्दा युवा संघ एमाले सिंगो पंक्तिले गौरवपूर्ण र युवाको आकर्षणको संगठनका रूपमा महत्व दिँदै आएको छ। एमाले पार्टीमा झ्याँगिएको गुट–उपगुटले युवा संघको पोखरा महाधिवेशनले कस्तो नीति र नेतृत्व अघि सार्ला भन्नेमा सबैको निम्ति कौतूहलको विषय बनेको छ।

यसपालि एमालेका करिब डेढ दर्जन जनसंगठनको महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। तीमध्ये कुनै पनि संगठनमा मतदान भएन। तसर्थ युवा संघको महाधिवेशनमा पनि दोहोरिए पनि नयाँ आए पनि मतदान प्रक्रियाबिनै सर्वसम्मत् बनाउन केही दिनदेखि एमाले नेताहरुको उपस्थितिमा पोखरामा चरणचरणका बैठक बस्ने गरेका छन्।

आगामी नेतृत्वका लागि अहिलेकै अध्यक्ष क्षितिज थेवे दोहोरिने सम्भावना प्रबल रहेको एमाले स्रोत बनाउँछ। एमाले अध्यक्ष ओली पनि थेवेकै पक्षमा छन्।

तर संगठनमा पुरानो नेतृत्वको ठाउँमा अब नयाँ नेतृत्व आवश्यक रहेको पनि आवाज नसुनिएको होइन। थेवे पछि हटेमा महाराज गुरुङ र सुमन पुरीबीच प्रतिस्पर्धा हुने सम्भावना छ। महाराज अहिलेका उपाध्यक्ष हुन् भने सुमन महासचिव छन्। यसअघि दुईपल्ट उपाध्यक्ष भइसकेका पुरी सर्वसम्मत गर्ने नाममा महासचिव बनेका थिए। एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलनिकटका उनी लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीका भान्जा पर्छन्।

महाराज पनि अध्यक्षका लागि जोड गरिरहेका छन्। उनी पूर्वमन्त्री पार्वत गुरुङका भान्जा हुन्। नेतृत्वकै लागि अर्का उपाध्यक्ष प्रकाश गौतम, कृष्णहरि केसी पनि आकांक्षी छन्।

महासचिवमा अहिलेका उपमहासचिव र सचिवहरु नै आकांक्षी छन्। जसमा राजन थापा, निरोज पौडेल, पर्वत भण्डारी, विनय शाह, खेम शर्मा, कुवेर अधिकारी, महेश चौलागाईँलगायतले दाबेदारी पेस गरिरहेका छन्।

१८ सय ३४ प्रतिनिधि सहभागी महाधिवेशनले १५१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गर्नेछ। तीमध्ये अध्यक्ष, उपाध्यक्ष महिलासहित २०, महासचिव, उपमहासचिव, सचिव ४, कोषाध्यक्ष पदाधिकारी हुने गरी १५१ सदस्ययीय नेतृत्व चयने युवा संघ नेपाल कास्की सचिव हिमाल गुरुङले जानकारी दिए। पहिलो पदाधिकारीमात्रै १७ जना रहेकोमा अहिले घटाइएको हो। विधान मस्यौदा समितिको अध्यक्ष महासचिव सुमन पुरी हुन्। बन्दसत्रले कतिपय विषयहरु टुंग्यान बाँकी नै छ।

जिल्ला सचिव गुरुङका अनुसार पूर्व इन्चार्ज महेश बस्नेत, वर्तमान इन्चार्ज राजीव पहारीदेखि लिएर जनसंगठन प्रमुख भानुभक्त ढकाल, पूर्वअध्यक्ष एवं प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार किरण पौडेल नै अध्यक्षमण्डलमा रहनेछन्।

तीमध्ये ढकाल वा बस्नेत अध्यक्षमण्डलको अध्यक्ष रहने सम्भावना छ। जसको किटान बन्दसत्रले गर्नेछ। महाधिवेशनमा भने सबैजसो महेश बस्नेतकै हालीमुहाली रहेको स्रोत बताउँछ। ‘युवा संघको महाधिवेशनमा प्रतिनिधिहरु शीर्षनेताहरुअनुसार विभाजित भइसकेका छैनन्,’ स्रोत भन्छ, ‘अझ केपी ओलीले जसलाई आशीर्वाद दिन्छन्, उही नेतृत्वमा आउँछन्।’

प्रकाशित: ९ जेठ २०८२ २३:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast