
काठमाडौँ- रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले २० लाख रुपैयाँको घातक रोेगवापतको बिमा दाबी भुक्तानी हस्तान्तरण गरेको छ।
चितवन भरतपुर–३ घर भएका महेश बानियाँलाई कम्पनीले यो रकम दाबी भुक्तानी हस्तान्तरण गरेको हो।
बानियाँले २०७७ चैत महिनामा भरतपुर–१५ स्थित कम्पनीको हाकिमचोक शाखाबाट १५ वर्षको बिमा अवधि रहने गरी २० लाखको जीवनबिमा बिमालेख खरिद गरेका थिए।
तीन किस्तामात्र बिमा शुल्क भुक्तानी गरेको अवस्थामा उनलाई २०८० वैशाख ३ गते पुरानो मेडिकल कलेज भरपुरमा चेकजाँचका क्रममा कलेजोसम्बन्धी समस्या देखा परेको थियो।
थप उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल ल्याइएका उनको चिकित्सकको सल्लाहअनुसार गत वर्ष पुस १५ गते कलेजो प्रत्यारोपण भएको थियो।
बानियाले त्यही समयमा कम्पनीलाई जानकारी गराएबमोजिम प्रक्रिया अगाडि बढाइएको थियो। उनले उपचारपश्चात सम्पूर्ण कागजात कम्पनीमा पेस गरेको छोटो समयमै बिमा दाबी हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।
हाकिमचोक शाखामा शाखा प्रमुख राजकुमार दाहालको अध्यक्षतामा आयोजित कार्यक्रममा कम्पनीले विमित बानियालाई दाबी रकम २० लाखको चेक हस्तान्तरण गरिएको हो।