
पोखरा– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजतन्त्र आउने सपना नदेख्न राजावादीहरुलाई आग्रह गरेका छन्। राजावादीहरुले यही १५ जेठमा राजालाई सिंहासनमा राख्ने भन्ने विषयमा ओलीले व्यंग्य गर्दै भने, ‘घरमै सिंहासन बनाएर राखे भो। देशको राजसिंहासन त गइसक्यो।’
राष्ट्रिय युवा संघ नेपालको पोखरामा शुक्रबार १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन्।
उनले मुलुकमा अब राजतन्त्र आउने नदेखेरै एकपछि अर्को मिति सारेको पनि बताए। ओलीले भने, ‘१५ गते ल्याउने रे, कस्तो सपना देख्छन् उनीहरु। जेठ १५ पछि त अरु १५ गते भन्छन् फेरि। अस्ति नै वैशाख ११ गते ल्याउँछौँ भने। युवाहरुले महोत्सव आयोजना गरे। राजाले घुँडा टेकेको दिन वैशाख ११ गते जनताका बलजफ्ती असंवैधानिक तरिकाले खोसिएका फिर्ता ल्याएको दिन, त्यसलाई युवाले उत्सवको रुपमा मनाए। उनीहरुले जेठ १५ गते सारे।’
पूर्व राजा ज्ञानेन्द्रको कुण्डली हेरेपछि राजा बनाउँछु भनेर कस्सिएका प्राडा. जगमान गुरुङप्रति पनि प्रधानमन्त्री ओलीले तीखो व्यंग्य गरे। आफैँले विगतमा नेपाल प्रज्ञा–प्रतिष्ठानमा कुलपति बनाएको तथा ज्योतिषी पनि हेर्ने हुनाले आफ्नो पनि कुण्डली हेरिदिन आग्रह गरे।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनप्रति पनि ओलीले ‘उत्ताउलो’ मान्छे भनी घुमाउरो टिप्पणी गर्न पछि परेनन्। उनको नाम उल्लेख नगरे पनि ओलीले भने, ‘प्रधानमन्त्री भाग्ने तयारी गरुन्, भाग्नका लागि हेलिकोप्टर सुविधा दिन्छौँ रे। के के सपना देख्न थाले यिनीहरु? कसले बोलेको हो, मैले त्यति याद गरिनँ। तर एउटा उत्ताउलो मान्छेले बोलेको छ।’
यसअघि, लिङ्देनले १५ गतेदेखिको आन्दोलनलाई लिएर नेताहरु भाग्ने स्थिति आउन सक्ने हुँदा त्यसबेला हेलिकोप्टर सुविधा दिने बताएका थिए।
यसैगरी, प्रधानमन्त्री ओलीले एमाले पार्टीप्रति दुष्प्रचार भइरहेको दाबी गर्दै त्यसतर्फ नलाग्न र एकजुट हुन आग्रह गरे। ‘नेकपा एमाले काम गर्ने पार्टी हो। एमालेका पक्षमा बोल्यो भने हतोत्साहित गर्ने काम भएको छ। एमालेविरुद्धको दुष्प्रचारमा लाग्नु हुँदैन,’ उनले अगाडि भने, ‘जनतालाई एमालेबाट अलग गर्न खोज्ने प्रयासहरु भइरहेका छन्। ती प्रयासहरुलाई तोड्ने काममा आज हामी सबै देशभक्तहरु, सबै सुशासन र समृद्धि चाहनेहरु एकजुट हुनुपरेको छ।’
उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ चाहनेहरु सबैजना एकजुट हुनुपर्ने आवश्यकता पनि औँल्याए। एमाले नेतृत्वको सरकारले विकास र समृद्धिको लहर ल्याउने उनको दाबी थियो।
‘नेकपा एमालेले के गर्छ धेरै हेर्नुपर्दैन। पोखरालाई हेरे पुग्छ। एमालेले आफ्नो पालामा के–के उन्नति र प्रगति ग¥यो, त्यति हेरे पुग्छ,’ उनले भने, ‘जहाँ जानोस्, एमाले नेतृत्वको सरकारले विकासमा फड्को मारिरहेको छ। कर्णाली विकासको बाटोमा बल्ल अगाडि बढ्दै छ।’
विगतमा आफू प्रधानमन्त्री हुँदा ३९६ वटा आधारभूत अस्पताल शिलान्यास गरेको उनले स्मरण गरे। उनले भने, ‘कतिपय ठाउँमा चलिसकेका छन्, कतिपय बन्दै छन्।’
उनले देश विकासको लागि अब युवापिंढीले अगुवाइ गर्नुपर्ने पनि सुझाव दिए। उनले युवा नेतृत्वलाई अझ मुखरित भएर अघि बढ्न आग्रह गरे।