
इटहरी– वैशाख ३१ गते विराटनगरमा भएको कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री रमेश लेखकले सीमा क्षेत्रमा भइरहेको तस्करी तत्काल रोक्नुपर्ने बताए।
सीमा क्षेत्रमा तस्करी बढेको गुनासो आएको गृहमन्त्री लेखकको भनाइ थियो। उनले तस्करी नियन्त्रण ३० दिनभित्रै अनुभूति हुने गरी रोक्न निर्देशन दिए। तस्करीको कारण अपराध बढेको, केही मानिस रातारात धनी भएको तर राजस्व संकलनमा कमी आइरहेको उनले बताएका थिए।
गृहमन्त्रीको भनाइले पनि पुष्टि गर्छ- सीमा क्षेत्रमा तस्करी हुने गरेको छ। यही विषयमा केन्द्रित रहेर कोशी प्रदेशसभा बैठकमा कुरा उठेको छ।
कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा बैठकमा बोल्दै विराटनगरको जोगबनी नाका र भन्सारमा ठूलो सेटिङ हुने गरेको आरोप लगाए।
‘राजस्वको दायरा केमा बढाउने? कपालभन्दा माथि उठेको हावामा पैसा लिने? सास फेरेको पनि पैसा तिरेकै छौँ। पानी खाँदा पानीको पनि पैसा तिरेकै छौँ। अनि पिसाबको पनि पैसा तिरेकै छौँ। अब दायरा कहाँ बढाउने?’ कार्कीले आक्रोशित मुद्रामा भने, ‘दायरा बढाउने कि कर असुली गर्ने? ६० प्रतिशतभन्दा बढी कर हामी अर्को बाटोबाट दुरुपयोग गरिरहेका छौँ।’
कोशी प्रदेशसभाको बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रममाथि जारी छलफलमा भाग लिँदै कार्कीले उक्त आरोप लगाएका हुन्।
भन्सार कार्यालय, प्रहरी बिट र सशस्त्रका निकायमा आफ्ना मान्छे पठाएर राजस्व छली भइरहेको र यसमा सुरक्षा निकाय अग्रपंक्तिमा रहेको उनको आरोप छ। कार्कीले जोगबनी नाकाबाट दिउँसो ल्याइने सामानमा कडाइ गरेजस्तो गरिए पनि राति भने सेटिङमा सामान भित्र्याउने गरिएको बताए।
‘भन्सारमा, ठानामा, सशस्त्रमा आफ्नो मान्छे पठाएर असुली गर्ने चलन चल्दै छ। अझ अहिले त जनप्रतिनिधिले ठेक्का लिनुभएको छ, छानबिन गर्दा हुन्छ,’ कार्कीले थपे, ‘मेरो मर्यादाले भ्याएन। नभए म अहिले यहाँबाट फोन गरेर सोधिदिन्थेँ- तिम्रोबाट एसपी साबले पैसा लानुभयो अस्तिको पाँच लाख भनेर सोधिदिन्थेँ।’
जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण चिमरियाले ‘तस्करसँग सेटिङ गरेको’ कार्कीको आरोप थियो। उनले भने, ‘दुई चार दिनअघि पनि एसपी साबले घुमुवा पठाउनुभएको छ। त्यो अस्तिनैको पाँच लाख खै भन्दै? दिउँसो २ किलो चिनी बोक्नेलाई, दुईटा सारी आफैँ लगाउन ल्याउनेलाई तर्साएर, राति ट्रक छिराउने सुशासनको पक्षमा हामी छैनौँ।’
गृहमन्त्री लेखकले सीमा क्षेत्रमा हुने तस्करी रोक्न दिएको निर्देशन कार्यान्वयन नभएको उनले बताए।
‘रातिको चैँ रोकिएन, दिउँसोको चैँ ठोकियो। एसपी साबले माथि गृहमन्त्रीसम्मलाई पुर्याउनुपर्छ भन्नुहुन्छ रे। माथि कहाँ कहाँसम्म पुग्छ? यस्तो पनि छाडा हुन्छ? गृहमन्त्री अगाडि बोल्दै हुनुहुन्छ, पछाडि एसपीले भोला खाइरहनुभएको छ। यस्तो पनि अनुशासन हुन्छ?, पूर्व मुख्यमन्त्री कार्कीले भने, ‘तीनटा प्रहरीका इन्सपेक्टरहरू होटलमा झगडा गर्छन्, लाप्पै खेल्छन्, ओठमुख फुटाफुट गर्छन्, डीआईजीलाई कति पैसा दिने र एसपीलाई कति पैसा दिने भनेर। प्रहरीबीच झगडा हुँदा छानबिन छैन अनि सुशासन कसरी हुन्छ? सुशासन केलाई भन्ने?’
गृहमन्त्री लेखकले विराटनगरमा भाषण गरिरहेको समयमा मोरङका एसपी चिमरियाले पछाडि गुड्खा खाँदै गरेको भिडियो सामाजिक सञ्जालमार्फत बाहिरिएको थियो। उक्त भिडियो बाहिरिएपछि कार्कीले प्रहरीको नेतृत्व तहमै अनुशासन नभएको उल्लेख गरे।
त्यसैगरी केही साताअघि विराटनगरमा प्रहरीका इन्सपेक्टरहरूबीच भएको झगडाको विषयलाई पनि लिएर कार्कीले आफ्नो समय खर्चिए।
जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगरका निरीक्षक राजन लम्साल, जिल्ला प्रहरी कार्यालय मोरङका निरीक्षक सरोज खनाल र इलाका प्रहरी कार्यालय रंगेलीका निरीक्षक सन्तोष खड्काबीच आपसमा झडप हुँदा अनुहारमा चोट लागेर घाइते भएका थिए। यद्यपि उक्त कुटपिटको घटना ढाकछोप गर्ने प्रयास गरिएको थियो। यही विषयलाई लिएर कार्कीले प्रहरीमा सुशासन नभएको भन्दै कड्एिका हुन्।
उनले भने, ‘त्यसकारण पनि हामीले प्रदेशमा प्रहरी खोजेको हौँ। हामी आफैँ दासजस्तो भएपछि हाम्रो शिर निहुरिहाल्छ नि!’ सीमावर्ती क्षेत्रमा सुशासनका नाममा दिनमा सर्वसाधारण नागरिकलाई तर्साएर रातिको समयमा अवैध रूपमा ट्रकका ट्रक सामान भित्र्याउने कार्य भएको उनको आरोप छ।
‘नाकामा हुने झोलेपोकेलाई तर्साएर राति ट्रक छिराउने प्रवृत्ति अन्त्य हुनुपर्छ। म आफैँ केही दिनअघि राति निरीक्षणमा जाँदा रानीको अरुण सिनेमा हल नजिकैको गल्लीबाट ठेलामा सरसामान भित्राउने गरेको देखेँ। प्रहरी आफैँले लाइट बालेर गाडी पास गराउँदा रहेछन्,’ उनले भने।