
काठमाडौँ- नेपाली फिल्म क्षेत्रको सफल प्रस्तुति ‘होस्टेल ३’ले सिर्जना गरेको उत्साह अझै सेलाउन नपाउँदै सोही सृजनात्मक टिमले फेरि नयाँ र विचारोत्तेजक कथा लिएर आउने घोषणा गरेको छ।
फिल्म टिमले बुधबार बिहान ‘बाउ भर्सेस छोरा’ शीर्षकमा नयाँ फिल्म घोषणा गरेको छ जसलाई सम्मान इन्टरटेन्मेन्टले निर्माण गर्दैछ। यस फिल्मले पुस्तान्तरण अर्थात् दुई पुस्ताबीचको सोच, मूल्य र व्यवहारको टकराबलाई केन्द्रमा राखेर निर्माण हुने निर्देशक सशान कँडेलले बताए।
फिल्मको घोषणामा प्रयोग गरिएको टाइटल डिजाइनमा दुई फरक पुस्ताका सोचलाई ‘X Generation बाउ’ र ‘Z Generation छोरा’ भनेर चित्रण गरिएको छ। यसको डिजाइन रोयल भीमसेनले गरेका हुन्।
नेपाली समाजमा बढ्दो पुस्तागत टकराब र नयाँ पुस्ताले भोगिरहेको दुर्व्यसनको यथार्थतालाई पर्दामा उतार्न लागिएको लेखक माधव शर्माले बताए।
फिल्मले केवल बाउ र छोराबीचको भौतिक दूरी होइन, सोच, व्यवहार, दृष्टिकोण र जीवनप्रतिको बुझाइमा आएको अन्तरलाई केन्द्रमा राखेको उनले बताए।
यसअघि ‘होस्टेल ३’ माधव शर्माको लेखन र सशान कँडेलको निर्देशनमा बनेको थियो। ‘बाउ भर्सेस छोरा’को थप विवरण, कलाकार चयन, छायाङ्कन सुरु हुने मिति र प्रदर्शन समयबारे निर्माण टिमले चाँडै जानकारी दिने बताइएको छ।
यस फिल्मका कार्यकारी निर्माता शंकर कोइराला हुन्। फिल्मको स्क्रिप्टको अन्तिम चरणमा काम भइरहेको जनाइएको छ।