पोखरामा पहिलोपटक एनभीए लिग, पहिलो दिन पुरुषतर्फ ४ र महिलातर्फ २ खेल

हिमाल प्रेस ८ जेठ २०८२ २०:४६
22
SHARES
पोखरामा पहिलोपटक एनभीए लिग, पहिलो दिन पुरुषतर्फ ४ र महिलातर्फ २ खेल

पोखरा– राजधानी काठमाडौँबाहिर पहिलोपटक पोखरामा नवौँ संस्करणको प्रधानमन्त्री कप एनभीए महिला÷पुरुष भलिबल लिग सुरु भएको छ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा बिहीबारदेखि सुरु भएको प्रतियोगिता १५ जेठसम्म चल्नेछ। प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ टिमले भाग लिएका छन्।

पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द क्लब बुटवल छन्।

महिलातर्फ नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, न्यू डायमण्ड यूथ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट क्लब बुटवल र कर्णाली प्रदेशका टिमले भाग लिएको नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले बताए।

भलिबलको व्यवसायीकरण र युवा पुस्तालाई आकर्षित गर्ने उद्देश्यले प्रत्येक टिममा तीन जना विदेशी खेलाडी राख्न मिल्ने व्यवस्था गरिएको उनको भनाइ छ।

राउण्ड रोबिन लिग चरणपछि शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। दुवैतर्फ प्रथम, द्वितीय र तृतीयले क्रमशः ८ लाख, ४ लाख र २ लाख नगद पुरस्कार प्राप्त गर्ने छन्।

त्यस्तै, उत्कृष्ट खेलाडीले ५० हजार प्राप्त गर्नेछन्। विधागतमा उत्कृष्ट लिबेरो, लिफ्टर, ब्लकर, सर्भर, स्पाइकर र प्रशिक्षकले जनही २५ हजार साथमा मेडल प्राप्त गर्ने छन्। पुरस्कारमा मात्रै ३२ लाख खर्च हुने आयोजकले जनाएको छ। संघका महासचिव रोशन श्रेष्ठले प्रतियोगिताका लागि करिब ९० लाख खर्च हुने अनुमान रहेको बताए।

यसअघि, संघीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले बिहीबार प्रतियोगिता उद्घाटन गर्दै आगामी बजेट खेलकुदको पूर्वाधार विकास र युवा स्वरोजगारमा केन्द्रित हुने आश्वासन दिए।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा भ्रमण वर्ष–२०२५ चलिरहँदा यसखालका प्रतियोगिताले खेल पर्यटनमा टेवा मिल्ने बताए।

नेपाल भलिबल संघका अध्यक्ष चन्दले पोखरामा भलिबलका फ्यान बढी रहेको बताउँदै पहिलोपल्ट पोखरामा ल्याइएको बताए। उनले काभा च्याम्पियनसिप पनि यहीँ गर्ने तयारीमा संघ रहेको जनाए।

पहिलो दिन महिलातर्फ २ र पुरुषतर्फ ४ खेल भए। महिलातर्फ एपीएफले कर्णालीलाई ३–० र एभरेष्ट भलिबल क्लबले त्रिभुवन आर्मीलाई ३–१ सेटमा हरायो।

पुरुषतर्फ एपीएफले सुदूरपश्चिमाथि ३–० को सोझो सेटमा जित निकाल्दा टिप टप हेल्प नेपाल स्पोर्टस् क्लबले आर्मीलाई सोझो सेटमै पाखा लगायो। अर्को खेलमा घरेलु गण्डकी प्रदेश भलिबल एसोसिएसनले कोशी प्रदेश खेलकुद विकास परिषद्लाई ३–१ सेटमा पराजित गरेको छ।

प्रकाशित: ८ जेठ २०८२ २०:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast