बंगलादेश : युनुस–सेनाबीच खटपट, डिसेम्बरसम्म चुनाव गर्नुपर्ने सेनाको अडान

हिमाल प्रेस ८ जेठ २०८२ २०:२९
16
SHARES
बंगलादेश : युनुस–सेनाबीच खटपट, डिसेम्बरसम्म चुनाव गर्नुपर्ने सेनाको अडान फाइल तस्बिर

काठमाडौँ– बंगलादेशका सेना प्रमुखले देशका पूर्वप्रधानमन्त्री जनविद्रोहमा अपदस्थ भएपछिको पहिलो चुनाव डिसेम्बरसम्म गराउनुपर्ने बताएका छन्।

सेना प्रमुखको यो भनाईलाई सैन्य स्रोतहरूले बिहीबार पुष्टि गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

बंगलादेशी अखबारहरूका अनुसार जनरल वाकर–उज–जमानले बुधबार अधिकारीहरूलाई यदि अगावै चुनाव भएन भने यस वर्षको डिसेम्बरसम्ममा चुनाव गराउनुपर्ने बताएका हुन्।

करिब १७ करोड जनसंख्या भएको बंगालदेश गत अगस्तमा तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्ने विद्यार्थी नेतृत्वको विद्रोहदेखि राजनीतिक अशान्तिमा छ र सडकमा प्रदर्शन गर्ने दलले धेरै माग राखिरहेका छन्।

‘बंगलादेश अराजक चरणबाट गुज्रिरहेको छ,’ अखबारहरूका अनुसार वाकर–उज–जमानले भने, ‘स्थिति दिनप्रतिदिन खराब हुँदै गइरहेको छ। नागरिक प्रशासन र कानून प्रवर्तन निकायहरूको संरचना भत्किएको छ र पुनर्गठन गर्न असफल भएको छ।’

चुनावको कुनै मिति तोकिएको छैन तर अन्तरिम नेता नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले चुनाव ढिलोमा सन् २०२६ जुनसम्ममा गराइने बताएका छन्।

तर चुनावमा अग्रणी उम्मेदवारका रूपमा हेरिएको प्रमुख बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले बारम्बार चुनावको मिति माग गरेको छ।

बीएनपीले बुधबार राजधानी ढाकामा विरोध प्रदर्शन गर्‍यो। महत्त्वपूर्ण कुरा के हो भने उनीहरूले पहिलोपटक कार्यवाहक सरकार विरुद्ध प्रदर्शन गरे।

एक अधिकारीको प्रश्नको जवाफमा सेना प्रमुखले कथित रूपमा भने, ‘ढिलोमा चुनाव डिसेम्बरसम्म गराउनुपर्छ।’

उनले अधिकारीहरूलाई ‘चुनावको समयमा इमानदारी र निष्पक्षताका साथ आफ्नो कर्तव्य पूरा गर्न’ पनि भनेको बताइएको छ।

गत वर्ष अगस्तमा हसिनालाई अपदस्थ गरिएको र सेनाले छोटो समयका लागि नियन्त्रणमा लिएको घोषणा गर्ने व्यक्ति वाकर–उज–जमान नै थिए।

केही दिनपछि उनले ८४ वर्षीय युनुसलाई सत्ता हस्तान्तरण गरेका थिए। युनुसले अर्को चुनावसम्म आफूले कार्यवाहक सरकारको नेतृत्व गर्ने बताएका छन्।

सैन्य प्रवक्ता लेफ्टिनेन्ट कर्नल सामी–उद–दौला चौधरीले सेना प्रमुख वाकर–उज–जमानले बुधबार अधिकारीहरूलाई सम्बोधन गरेको तर ‘बैठक गोप्य थियो’ भनी पुष्टि गरे।

तर बैठकको प्रत्यक्ष जानकारी भएका तीनवटा स्रोतले सेना प्रमुखले चुनाव गराउने आवश्यकतामा जोड दिएको र डिसेम्बरसम्ममा सम्पन्न गर्नुपर्ने बताएको भनेका छन्।

आफ्नो शान्त व्यवहारका लागि परिचित वकर–उज–जमान सत्रको समयमा निराश र असन्तुष्ट देखिएको बताइएको छ।-रासस/एएफपी

प्रकाशित: ८ जेठ २०८२ २०:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast