
काठमाडौँ- नेपाल–ब्राजिल उद्योग वाणिज्य संघ (एनबीसीसीआई) का अध्यक्ष अखिल चापागाईं नेतृत्वको प्रतिनिधिमण्डलले ब्राजिलको भ्रमण गरेको छ।
भ्रमणका क्रममा प्रतिनिधिमण्डलले ब्राजिलको कन्फेडेरेसन अफ नेशनल इन्डस्ट्री (सीएनआई) का अधिकारीहरूसँग भेट गरी व्यापारिक अवसर तथा आपसी चासोका विषयमा छलफल गरेको ब्राजिलस्थित नेपाली दूतावासले जनाएको छ।
अधयक्ष चापागाईंले नेपालको व्यापार तथा लगानी वातावरणबारे जानकारी दिँदै नेपाली व्यवसायिक समुदाय ब्राजिललाई नेपालमा स्वागत गर्न तयार रहेको बताए।
बैठकमा सहभागी भएका नेपालका लागि ब्राजिलस्थित राजदूत निर्मलराज काफ्लेले व्यवसायिक क्षेत्रका लागि नेपाल सरकारकातर्फबाट प्रदान गरिने प्रोत्साहन तथा अनुकूल नीतिबारे प्रकाश पारेका थिए।
सीएनआईका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख फ्रेडरिको लामेगोले नेपाली प्रतिनिधिमण्डललाई स्वागत गर्दै दुवै देशका व्यापारिक समुदायलाई थप नजिक ल्याउन सहयोग र सहजीकरणको प्रस्ताव गरे।
छलफलका क्रममा दुवै पक्ष भविष्यमा व्यापारिक सहकार्यका लागि सम्पर्कमा रहने सहमति भएको दूतावासले जनाएको छ। एनबीसीसीआईका प्रतिनिधिमण्डलले ब्राजिलको कन्फेडेरेसन अफ कमर्सियल एन्ड बिजनेस एशोसिएसनको समेत भ्रमण गरेको थियो।
प्रतिनिधिमण्डललाई एशोसिएनका प्रमुख कार्लोस रेजेन्डे र संस्थागत सल्लाहकार मोनिका मोन्टेइरोले स्वागत गरेका थिए। त्यस अवसरमा ब्राजिलका विदेश मन्त्रालयका मिनिस्टर काउन्सेलर आल्मिर नासिमेन्तो पनि उपस्थित थिए।
भेटका अवसरमा एशोसिएनले नेपाली व्यवसायिक प्रतिनिधिमण्डलसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको दूतावासले जनाएको छ।
एनबीसीसीआईका अध्यक्ष चापागाईंले नेपालमा रहेका व्यवसायिक अवसरबारे जानकारी दिँदै नेपाली व्यवसायिक समुदाय ब्राजिलसँग आपसी लाभका लागि सहकार्य गर्न तत्पर रहेको उल्लेख गरेका थिए।
राजदूत काफ्लेले नेपालमा रहेको लगानीको वातावरणबारे प्रकाश पार्दै एशोसिएसन र एनबीसीसीआईबीचको सम्बन्धले नेपाल–ब्राजिल साझेदारीका थप ढोका खोल्ने विश्वास व्यक्त गरे।