टिप्पणी

प्रचण्डको राजनीतिक संस्कार पतन!

माधवप्रसाद नेपाल ८ जेठ २०८२ २१:३४
666
SHARES
प्रचण्डको राजनीतिक संस्कार पतन!

कुनै समय थियो, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा‍.बाबुराम भट्टराई एउटै सपना बाँडिरहेका क्रान्तिकारी नेताका रूपमा चिनिन्थे। एउटै मञ्च, एउटै मोर्चा र एउटै युद्धभूमिमा उनीहरू एकअर्काका पूरक थिए। माओवादी जनयुद्धको आरम्भदेखि शान्तिपूर्ण राजनीतिक यात्रासम्म उनीहरूकै जोडीले पार्टीको नेतृत्व गरे। तर आज सहकार्यको त्यो सम्बन्ध व्यक्तिगत कटाक्ष र सार्वजनिक अपमानमा रूपान्तरण भएको छ।

जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियानअन्तर्गत रुकुम पूर्वमा बिहीबार आयोजित कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डद्वारा बाबुरामविरुद्ध व्यक्त केही वाक्यांश ‘सबैभन्दा बुद्धि नभएको डाक्टर’, ‘दिमाग ठाउँमा नभएको’, ‘हाँसोको पात्र’ ले केही प्रश्न उब्जाएको छ- के यो व्यवहार पूर्वसहयोद्धाबीचको सम्बन्धको अन्तिम अध्याय हो? के यो वर्तमान कम्युनिस्ट राजनीतिमा वैचारिक विमर्शको सट्टा व्यक्तिगत आरोप-प्रत्यारोप मात्र बाँकी रहेको संकेत हो?

२०५२ सालमा थालनी भएको सशस्त्र विद्रोहलाई वैचारिक स्पष्टता र सैन्य रणनीतिद्वारा मार्गदर्शन गर्ने दुई मुख्य व्यक्तित्व प्रचण्ड र भट्टराई नै थिए। त्यो विद्रोहको फलस्वरूप २०६२/६३ सालको जनआन्दोलनले दरिलो राजनीतिक रूपान्तरण ल्यायो। माओवादी शान्तिपूर्ण मूलधारको राजनीतिमा प्रवेश गर्‍यो। २०६४ सालको संविधानसभा निर्वाचनमा माओवादीको विजयसँगै प्रचण्ड प्रधानमन्त्री र डा. भट्टराई अर्थमन्त्री बने। पछि २०६८ सालमा भट्टराई स्वयं प्रधानमन्त्री भए।

यी घटनाहरूले माओवादी आन्दोलनको सफलतामा उनीहरूको मिलन कति निर्णायक थियो भन्ने प्रमाणित गर्छ। तर २०७२ मा संविधान जारी भएपछि डा.भट्टराई पार्टीबाट अलग भई नयाँ शक्ति अभियानमा लागे। उनी वैचारिक रूपमा मार्क्सवादी विचारधाराबाट अलगिँदै समाजवादी लोकतान्त्रिक दृष्टिकोणतर्फ उन्मुख भए। यही मोडबाट उनीहरूको सहकार्य खल्बल्याउन थाल्यो।

२०७९ को संघीय निर्वाचन अघिसम्म पनि यो सम्बन्धमा आशाको किरण देखिएको थियो। प्रचण्डले त्यतिबेला चुनाव लड्न कुनै क्षेत्र नपाएपछि गोरखा-२ रोजेका थिए। उक्त क्षेत्रमा डा. भट्टराईले प्रचण्डलाई समर्थन गरेर मैदान छाडिदिए। आफूले लड्दै आएको निर्वाचन छाड्दा कतिपयले बाबुरामलाई त्यागी नेता पनि भनेका थिए। यद्यपि उनीहरूबीच भित्री सहमति के थियो भन्नेचाहिँ बाहिर आएन। प्रचण्डलाई चुनाव जिताउन भट्टराईको योगदान निर्णायक थियो। भट्टराईको मुख्य सहयोगमा प्रचण्ड त्यहीँबाट निर्वाचित भए र प्रधानमन्त्री बने।

भट्टराईको त्यो समर्थन राजनीतिक एकता अथवा वैचारिक पुनर्मिलनमा भने परिणत हुन सकेन। प्रचण्डले बाबुरामविरुद्ध व्यक्त गरेको अभिव्यक्तिले पनि त्यो पुष्टि हुन्छ। प्रचण्डले भने- ‘बाबुरामसँग गोरखाबाट चुनाव लड्दा पार्टी एकीकरण गर्ने भनेकै थियौँ। तर उहाँले कम्युनिस्ट नाम सुन्न चाहनु भएन।’ यसबाट स्पष्ट हुन्छ, नाम र वैचारिक पहिचानको विषय उनीहरूको सहकार्य अवरुद्ध गर्ने मुख्य कारक बन्यो।

रुकुम पूर्वमा सार्वजनिक रूपमा डा. भट्टराईप्रति प्रचण्डद्वारा व्यक्त ती अपमानजनक अभिव्यक्ति कुनै वैचारिक बहस थिएनन्। ती आरोप त भावनात्मक कटाक्ष र व्यक्तिगत रिसइबीको प्रतिबिम्ब हुन्। ‘सबैभन्दा बुद्धि नभएको डाक्टर’, ‘दिमाग ठाउँमा नभएको’ जस्ता अभिव्यक्ति व्यक्तिगत तिक्तताको चरमोत्कर्ष हो। पटकपटक प्रधानमन्त्री भइसकेका जिम्मेवार दलका शीर्ष नेताबाट यस्ता शब्दहरू सुनिनु लज्जास्पद विषय हो।

साथै, त्यही मञ्चमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, अग्निप्रसाद सापकोटासहित नेताहरूको ‘गलल हाँसो’ले राजनीतिमा स्वतन्त्रता र विवेकभन्दा गुटगत बफादारीलाई बढी महत्त्व दिइँदैछ भन्ने स्पष्ट हुन्छ।

आफूलाई मन नपरेका व्यक्तिलाई तल्लो स्तरमा झरेर अभिव्यक्ति दिने प्रचण्ड मात्र एक्ला कम्युनिस्ट नेता हैनन्। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालबीच पनि यस्तै शब्दिक द्वन्द्व चलिरहन्छ। यस्तो प्रवृत्तिले लोकतान्त्रिक मूल्य, वैचारिक बहस र राजनीतिक सहिष्णुतामा नकारात्मक प्रभाव पार्छ।

डा. भट्टराई अहिले प्रत्यक्ष सत्ता दौडमा छैनन्। उनले वैकल्पिक समाजवादी मार्ग अँगालिरहेका छन्। संघीय संसद्‌मा प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड भने जुनसुकै बेला सत्तामा पुग्न सक्छन्। तर सत्ताको यो सर्वोच्च स्थानबाट आउनुपर्ने राजनीतिक मर्यादा, संयमता र परिपक्वता भने उनका अभिव्यक्तिमा देखिन्न। सार्वजनिक भाषणमा व्यक्तिगत आलोचना गर्नु नेतृत्वको पराजय हो, विजय होइन।

सामाजिक रूपान्तरण, समावेशी लोकतन्त्र र जनआन्दोलनको अग्रपंक्तिमा उभिएका नेताहरूले कटाक्ष, अपमान र आन्तरिक वैमनस्यलाई राजनीतिक प्राथमिकता बनाउनु गतिलो संकेत होइन। सहकार्यबाट सुरु भएको सम्बन्ध यति तुच्छ स्तरमा झर्नु डा. भट्टराईमाथिको आलोचना मात्र होइन- प्रचण्डको राजनीतिक संस्कारको पतन पनि हो। शीर्ष नेताको यस्तो अभिव्यक्तिबाट उनको दलका कार्यकर्तामा गलत सन्देश गएको छ, त्यो पनि पार्टीको संगठन सुदृढीकरणका लागि जारी अभियानका बेला।

प्रकाशित: ८ जेठ २०८२ २१:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast