डोटीका गाउँबस्तीमा आशाको किरण खोज्दै आनन्द विष्ट

हिमाल प्रेस ९ जेठ २०८२ १०:५५
10
SHARES
डोटीका गाउँबस्तीमा आशाको किरण खोज्दै आनन्द विष्ट गाउँका कार्यकर्तासँग नेपाली कांग्रेसका नेता आनन्द विष्ट (अगाडिबाट बायाँ)

दिपायल- प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र ऐतिहासिक गौरवले भरिएको डोटी अहिले अस्तित्वको संकटमा छ। एक समय सुदूरपश्चिमको प्रशासनिक केन्द्रका रूपमा परिचित दिपायल सिलगढी आज जनशून्यता र विकासविहीनताको आघात सहन बाध्य छ।

माओवादी द्वन्द्व र त्यसपछि आएको संघीय पुनर्संरचनाले डोटीलाई क्रमशः पृष्ठभूमिमा धकेल्दै लगेको हो। प्रदेशको अस्थायी राजधानी कैलालीको अत्तरियामा तोकिएपछि सरकारी सेवा, सुविधा र विकासका पूर्वाधार डोटीबाट सरेका छन्। यसले गर्दा डोटीका गाउँबस्तीमा बसाइँ सराइको लहर तीव्र भएको छ। कतिपय बस्ती त मानवविहीन बन्न पुगेका छन्।

यस्ता निराशाजनक परिवेशमा नेपाली कांग्रेसका नेता आनन्द विष्ट डोटेली जनताको घरदैलोमा पुग्दै आशा बाँडिरहेका छन्। जनतासँग प्रत्यक्ष संवाद, समस्या सुन्ने र समाधानको पहल गर्ने उनको सक्रियता राजनीतिभन्दा पनि सामाजिक सेवाको अभ्यासझैँ देखिन्छ।

‘जनताका कुरा सुन्न चुनाव कुर्नु हुँदैन,’ विष्ट भन्छन्, ‘सुनुवाइ र सम्बोधन निरन्तर हुनुपर्छ।’

कांग्रेसका पूर्वआमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका विष्ट हाल शिखर, जोरायल, बडिकेदार, आदर्श, पूर्वीचौकीदेखि दिपायलसम्मका गाउँबस्तीमा पुगेर जनताको पीडा बुझ्न व्यस्त छन्। उनी भन्छन्, ‘सबैभन्दा ठूलो समस्या भनेकै बसाइँसराई हो। बाटाघाटा पुगे पनि बस्ने मान्छे छैनन्। उत्पादन हुने कृषि उपज पुर्‍याउने बाटो त छ, तर उत्पादक जनशक्ति छैन।’

डोटीको पर्यटन सम्भावना उजागर गर्दै विष्ट भन्छन्, ‘भूस्वर्ग खप्तड यहीँ छ, शैलेश्वरी, त्रिवेणीधाम, ठूला केदारजस्ता आस्थाका धरोहर यहीँ छन्। यो प्राकृतिक र सांस्कृतिक सम्पदाले भरिएको भूमि हो। यसलाई पर्यटन केन्द्र बनाउने योजना ल्याउन सक्नुपर्छ।’

डोटी सुदूरपश्चिमका नौवटा जिल्लाको भौगोलिक केन्द्र भएकाले विष्टको तर्कमा दम देखिन्छ। दिपायलबाट अछामदेखि कैलाली, बैतडी, बाजुरा, बझाङ, दार्चुला, कञ्चनपुर र डडेलधुरा सबै नजिक छन्। ‘यो भौगोलिक लाभलाई विकासको अवसरमा बदल्न सक्नुपर्छ,’ उनी भन्छन्।

बसाइँ सराइसँगै डोटीको अर्को गम्भीर समस्या भनेको युवा विदेश पलायन हो। बूढापाकालाई अस्पताल पुर्‍याउने मान्छेसमेत नपाइने अवस्था विष्टले आफ्ना आँखाले देखेका छन्। ‘सरकारले युवालाई स्वदेशमै रोक्न स्वरोजगारमैत्री कार्यक्रम ल्याउनुपर्छ,’ उनी भन्छन्, ‘कृषिमा लगानी, बीमा र जोखिम संरक्षणको नीति आवश्यक छ।’

राजनीतिमा क्रियाशील रहँदै आएका विष्ट सामाजिक सेवामा पनि सक्रिय छन्। उनले शिक्षा, स्वास्थ्य, एम्बुलेन्स खरिदलगायत क्षेत्रमा व्यक्तिगत रूपमा सहयोग गर्दै आएका छन्। जनताको जीवनस्तर सुधार गर्न दीर्घकालीन योजना र प्रतिबद्धता बोकेका विष्ट आफूलाई राजनीतिक सामाजिक कार्यकर्ताका रूपमा चिनाउन चाहन्छन्।

प्रकाशित: ९ जेठ २०८२ १०:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast