‘अपरेसन सिन्दूर’ पछि चिनियाँ हतियारमा किन बढ्यो चासो?

हिमाल प्रेस ८ जेठ २०८२ १२:०१
22
SHARES
‘अपरेसन सिन्दूर’ पछि चिनियाँ हतियारमा किन बढ्यो चासो? पाकिस्तानको सीमावर्ती परिचालित भारतीय सेना। तस्बिर : एएफपी/रासस

भारतको ‘अपरेसन सिन्दूर’ का क्रममा पाकिस्तानी सेनाले चीनमा निर्मित हतियार प्रयोग गरेको थियो। यद्यपि, कुन पक्षलाई कति क्षति पुग्यो भन्ने औपचारिक जानकारी अहिलेसम्म सार्वजनिक भएको छैन। यसबारे विश्लेषकहरूले अनुमान मात्र गर्न सकेका छन्।

भारतको ‘अपरेसन सिन्दूर’ मा भारत र पाकिस्तानबीच केके घटना भए र कति धनजनको क्षति भए भन्ने आधिकारिक विवरण अहिलेसम्म सार्वजनिक भएको छैन। दुवै पक्षबाट सीमित जानकारी मात्रै सार्वजनिक गरिएको छ। दुवै पक्षबाट विभिन्न दाबी पनि गरिएको छ। त्यस्ता दाबीको न त अर्को पक्षले पुष्टि गरेको छ न खण्डन।

यीमध्ये एक हो- पाकिस्तानी सेनाले गरेको दाबी। पाकिस्तानले भारतीय वायुसेनाका कम्तीमा पाँचवटा लडाकु विमान खसालेको दाबी गरेको छ। यसबारे पाकिस्तानी तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि अनेक विश्लेषण गरे। यो दाबी सत्य हो भने स्पष्ट हुन्छ- चीनबाट खरिद गरिएका पाकिस्तानी सेनाका हतियार प्रभावकारी रहे।

सञ्चारमाध्यमहरूमा प्रकाशित विश्लेषणमा पाकिस्तानी सेनाले प्रयोग गरेको चिनियाँ हवाई सुरक्षा प्रणाली (एयर डिफेन्स सिस्टम) को पनि चर्चा गरिएको छ तर अहिलेसम्म यी सबै कुरा अनुमानमै सीमित छन्। भारतले यसको पुष्टि गरेको छैन। भारतीय वायु सेनाका एयर मार्सल एके भारतीले पत्रकारहरूसँगको कुराकानीमा यतिमात्र भनेका थिए- ‘नोक्सानी युद्धको एक हिस्सा हो, तर हाम्रा सबै पाइलट घर फर्किएका छन्।’

स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (सीप्री) को तथ्यांकअनुसार विगत पाँच वर्षमा पाकिस्तानले किनेका विदेशी हतियारमध्ये ८१ प्रतिशत चीनबाट लगेको छ। ती हतियारमा लामो दूरीसम्म निगरानी गर्न सक्ने ड्रोन, गाइडेड मिसाइलसहितका युद्धपोत, पनडुब्बी, जासुसी जहाज, भीटी-फोर ट्यांक, जे-१०सीई लडाकु विमान, जमिनबाट आकाशमा प्रहार गर्न सकिने मिसाइल तथा मिसाइल रक्षा प्रणाली समावेश छन्।

पहिलोपटक चिनियाँ हतियारको यस्तो प्रयोग

चिनियाँ हतियारको प्रभावकारिताबारे विज्ञहरूको विचार फरकफरक छन्। एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटका लाइल मोरिसले समाचार संस्था एएफपीसँग भनेका छन्, ‘यो अन्तर्राष्ट्रिय समुदायका लागि पश्चिमी सैन्य उपकरणविरुद्ध चिनियाँ उपकरणको मूल्यांकन गर्ने दुर्लभ अवसर हो।’

‘अपरेसन सिन्दूर’ भएको केही दिनमै पाकिस्तानका विदेशमन्त्री इसाक डार चीन पुगेका छन्। उनको चीन भ्रमणले पाकिस्तानी सेनाले प्रयोग गरेका चिनियाँ हतियारबारे विश्वभर थप चासो र चर्चा बढाएको छ।

सिप्रीका वरिष्ठ अनुसन्धानकर्ता सिमोन वेजेमानले एएफपीसँग भने, ‘चिनियाँ हतियार साउदी अरबले यमनमा पनि प्रयोग गरेको थियो। ती हतियार अफ्रिकी देशमा विद्रोहीविरुद्ध पनि प्रयोग गरिएको छ। १९८० को दशकपछि यो पहिलो पटक हो, जब कुनै देशले अर्को देशविरुद्ध ठूलो मात्रामा र विभिन्न प्रकारका चिनियाँ हतियारको प्रयोग गरेको हो।’

उनको स‌ंकेत थियो इरान-इराक युद्धसँग, जहाँ दुवै पक्षले चिनियाँ हतियार प्रयोग गरेका थिए। सञ्चारमाध्यमको रिपोर्टअनुसार पाकिस्तानी सेनाले भारतविरुद्ध ‘जे-१० सी विगरस ड्र्यागन’ र ‘जेएफ-१७ थन्डर’ विमान प्रयोग गरेको थियो। तिनमा हावा-हावाबाट प्रहार गर्न सकिने मिसाइल सुसज्जित थिए।

स्टिम्सन सेन्टरका युन सुन जे१०-सी विमान सक्रिय रूपमा लडाइँमा पहिलो पटक प्रयोग गरिएको बताउँछन्। रिपोर्टअनुसार पाकिस्तानले हवाई रक्षा (एयर डिफेन्स)ं का लागि पनि चिनियाँ उपकरण प्रयोग गरेको छ, जसमा एचक्यू-९पी सिस्टम समावेश छ। यो सिस्टम भूमिबाट आकाशमा दागिने लामो दूरीका मिसाइलका लागि हो।

एएफपीसँगको कुराकानीमा भारतीय सुरक्षा निकायको उच्च स्रोतले तीनवटा विमान भारतमै खसेको दाबी गरेको छ। तर त्यो विमान कुन थिए र कसरी खसे भन्ने खुलाइएको छैन। राफेल विमान निर्माण गर्ने फ्रान्सेली कम्पनी दासोले पनि यस विषयमा आधिकारिक टिप्पणी गरेको छैन।

चिनियाँ एयर डिफेन्स कति प्रभावकारी थियो?

सिंगापुरको नानयाङ टेक्नोलोजिकल युनिभर्सिटीका जेम्स चारका अनुसार राफेललाई युरोपकै सबैभन्दा उच्च प्रविधिको विमानमध्ये एक मानिन्छ। जे१०-सी चीनकै उच्च श्रेणीको विमान होइन।

चारले भने, ‘पाकिस्तानका दाबी सही हो भने यो अचम्मको कुरा हुनु हुँदैन। किनभने राफेल बहुभूमिकाको लडाकु विमान हो भने जे१०-सीलाई मुख्यतः हवाई युद्धका लागि डिजाइन गरिएको हो। यसमा धेरै शक्तिशाली रडार पनि छ।’

क्यानाडामा रहेको क्युबा डिफेन्स न्युज एन्ड एनालिसिस समूहका संस्थापक बिलाल खानको विचारमा चिनियाँ एयर डिफेन्स सिस्टम त्यति प्रभावकारी नभएको जस्तो देखिन्छ जति पाकिस्तान वायु सेनाले अपेक्षा गरेको थियो। भारतले पनि लाहोर नजिकै त्यस्तो एक सिस्टम नष्ट गरेको दाबी गरेको थियो। सिप्रीका सिमोन वेजेमानले भनेका छन्, ‘यो ठूलो सफलता हुनेछ र यसको अर्थ केही विमानहरूको क्षतिपूर्तिभन्दा बढी हुनेछ।’

अमेरिकी थिंक ट्यांक डिफेन्स प्रायोरिटीजका जेनिफर कवानाले भनेकी छन्, ‘चीनलाई ठूलो हतियार निर्यातक बन्न अझ समय लाग्नेछ र चिनियाँ हतियार निर्माताहरूले आफ्नो रणनीति पनि परिवर्तन गर्नुपर्नेछ।’

चीनले विमानका इन्जिनसहित केही महत्वपूर्ण पुर्जाहरू ठूलो मात्रामा बनाउन नसक्ने दाबी उनको छ। सिप्रीका सिमोन वेजेमानले भने, ‘प्रयोग गरिएका सबै हतियारले कस्तो काम गरे र तिनीहरूको ठूलो महत्त्व छ कि छैन भनेर हेर्नै बाँकी छ।’

प्रकाशित: ८ जेठ २०८२ १२:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast