
काठमाडौँ– गाजा पट्टीमा इजरायली नाकाबन्दीका कारण उत्पन्न अनिकाल र कुपोषणका कारण ५८ जना प्यालेस्टिनीको ज्यान गएको गाजाका सरकारी सञ्चारमाध्यमले जनाएका छन्।
सञ्चारमाध्यमका अनुसार २६ जना मृगौला पीडीतसहित खाना र औषधिको अभावका कारण थप २४२ जनाको मृत्यु भएको छ। यसैगरी इजरायली नाकाबन्दीको दुष्प्रभावले ८० दिनमा ३०० गर्भवती महिलाहरूमा स्वतः गर्भपात भएको जनाइएको छ।
सञ्चारमाध्यमले प्यालेस्टिनीमाथि लादिएको भोकमरीको कारण गाजामा बढ्दो मानवीय प्रकोपप्रति गहिरो चिन्ता व्यक्त गर्दै यस्तो प्रवृतिको निन्दा गरेको छ।
खाना, चिकित्सा सेवा र इन्धनको प्रवेश रोक्न लगातारको नाकाकन्दी गाजाका २४ मिलियन भन्दा बढी प्यालेस्टिनीहरूको जीवनलाई खतरा पु¥याउने कदमलाई विनाशकारी मानवीय आपराधिक प्रवृतिको रूपमा चित्रण गरिएको छ।
सञ्चारमाध्यमका अनुसार सन् २०२५ मार्च २ देखि इजरायलले गाजापट्टीमा एकल मानवीय सहायता वा ईन्धन ट्रकको प्रवेशलाई अनुमति दिएको छैन।
यी सबै सीमा मार्गहरूको बन्द अन्तर्राष्ट्रिय कानून र मापदण्डहरूको उल्लंघन भएको र यसप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण भएको रिपोर्टमा जनाइएको छ। रिपोर्टमा गाजाको मानवीय अवस्था हरेक कोणबाट विनाशकारी स्तरमा पुगेको जनाएको छ।
अन्तर्राष्ट्रिय समुदाय, संयुक्त राष्ट्रसंघ र मानवतावादी संगठनहरूलाई सबै सीमा खोली गाजामा खाना, औषधि र इन्धनको प्रवेशलाई अनुमति दिई नागरिकको जीवन बचाउन आह्वान गरेका रिपोर्टमा उल्लेख छ।
स्थानीय सञ्चारमाध्यमले अन्तर्राष्ट्रिय फौजदारी अदालत र मानव अधिकार तथा कानुनी संस्थाहरूलाई इजरायललाई युद्ध अपराधीको रूपमा मुद्दा चलाउन तथा नैतिक र कानुनी रुपमा जिम्मेवारी लिनुपर्ने जनाएका छन्।
इजरायलले मार्च १८ मा गाजामा आफ्नो आक्रमण पुनः सुरु गरेपछि यस क्षेत्रमा आक्रमणमा परी १२ हजारभन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु हुनुका साथै कयौँ घाइते भएको जनाइएको छ।–रासस/क्यूएनए