सर्लाहीमा कांग्रेस नेतामाथि आक्रमण

हिमाल प्रेस ७ जेठ २०८२ २१:०२
1.3k
SHARES
सर्लाहीमा कांग्रेस नेतामाथि आक्रमण

काठमाडौँ- सर्लाहीमा नेपाली कांग्रेसका नेता हरिनन्दनराय यादवमाथि आक्रमण भएको छ। सदरमुकाम मलंगवाबाट रामनगर फर्किने क्रममा बग्दह चिनी मिलनजिक उनीमाथि आक्रमण भएको हो।

यादवले गत स्थानीय तह निर्वाचनमा रामनगर गाउँपालिकाको अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए। उनले भने आफूमाथि गोली प्रहार भएको दाबी गरेका छन्।

उनले बगादह चिनी मिलअगाडि आफूमाथि गोली प्रहार भएको सामाजिक सञ्जालमा लेखेका छन्। तीनवटा गाडीमा सवार व्यक्तिहरूले लखेटेर गोली प्रहार गरेको उनले बताए।

‘म आफ्नो गाडीमा मलंगवाबाट घर फर्किँदै थिएँ। तीनवटा गाडी दुई तीन किलोमिटर परबाट पिछा गरिरहेको थियो,’ यादवले भने,‘सुनसान ठाउँमा पुगेपछि अगाडिबाट गाडीले घेरेर लाठीभाराटाले हानेर मेरो गाडीको सिसा फुटाइदियो। दुई जनाले पेस्तोलले गोली प्रहार गर्‍यो।’

आफू बाहिर ननिस्किएपछि १२–१३ जनाको समूहमा रहेका उनीहरूले धक्का दिएर गाडीलाई सकडतल खेतमा खसालेको उनको भनाइ छ। यादवले माओवादी नेता शिवपुजन यादवका आफन्तहरूले आफूमाथि आक्रमण गरेको दाबी गरेका छन्।

‘शिवपुजनराय यादवका मान्छेहरूले ज्यानमार्ने उद्देश्यले ममाथि आक्रमण गरेको हो,’ उनले भने,‘त्यो समूहमा रहेकामध्ये धेरैलाई चिनेको छु। प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिओस् मेरो अनुरोध छ।’

मधेश प्रदेश कांग्रेसका उपसभापति एवं प्रदेश संसदीय दलका उपनेता वीरेन्द्रप्रसाद सिंहले पनि गाउँपालिका अध्यक्षका प्रत्याशी यादवमाथि माओवादी नेता शिवपुजन यादवका आफन्तहरूले आक्रमण गरेको बताए। यादव सबार गाडीलाई २ किलोमिटरसम्म लखेटेर अगाडीबाट घेराहाली गोली प्रहार गर्नुका साथै कुटपिट एवं लुटपाटसमेत भएको बताए। उपसभापति यादवले घटनामा संलग्नहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही अगाडि बढाउन सरकारसँग माग गरेका छन्।

कांग्रेस नेता यादव र माओवादी नेता शिवपुजन आफन्त हुन्। स्थानीयहरूका अनुसार दुवै जनामा लामो समयदेखि राजनीतिक प्रतिस्पर्धा चलिरहेको छ।

प्रहरीले यादव सवार गाडीलाई दुईवटा गाडीले पछ्याएको स्थानीयहरूको भनाईबाट पुष्टि भएको बताएको छ। यद्यपि यादवमाथि गोली प्रहार भएको नभएको बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईले यादव सवार गाडीलाई दुईवटा गाडीले पछ्याएको पुष्टि भएको बताए।

‘उहाँ (हरिनन्दनराय यादव) चढेको गाडीलाई अन्य दुईवटा गाडीले पछ्याएको पुष्टि भएको छ। उहाँको गाडी खेतमा पल्टिएको अवस्थामा छ,’ डीएसपी राईले भने,‘गाडीको सिसा पनि फुटेको छ। गोली चले नचलेको विषयमा अनुसन्धान गरिरहेका छौँ।’

उनले गाडीमा सवार यादव र चालक घाइते भएको जानकारी दिए।‘उहाँ र चालक घाइते हुनुभएको छ, सामान्य चोट लागेको छ,’ उनले भने।

डीएसपी राईले घटनामा संलग्न भनिएकाहरूको पहिचान भइसकेको बताए। उनले भने,‘घटनामा संलग्नहरूको पहिचान भइसकेको छ। अहिले फरार छन्, खोजी भइरहेको छ।’

प्रकाशित: ७ जेठ २०८२ २१:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast