
सोलुखुम्बु- रक्षामन्त्री मानवीर राईले नेपाली सेना मुलुकमा भैपरी आउने हरेक समस्या र विपद्सँग जुध्न पूर्णरूपमा सक्षम रहेको बताएका छन्।
रक्षा मन्त्रालयद्वारा सल्लेरीमा आयोजित ‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षको सुरक्षासम्बन्धी अन्तर्क्रिया’ कार्यक्रममा बोल्दै मन्त्री राईले नेपाली सेना केवल सीमा सुरक्षा वा शान्ति स्थापनाकै लागि नभई प्राकृतिक विपद्, संकट र आपतकालीन परिस्थितिमासमेत सक्रिय भूमिका निर्वाह गर्दै आएको बताए।
‘बाढी, पहिरो, हिमताल विस्फोट, डुबान, भूकम्पजस्ता विपद्का बेला नेपाली सेनाले देखाएको सक्रियता र समर्पण उल्लेखनीय छ,’ मन्त्री राईले भने, ‘थामे क्षेत्रमा हिमताल फुट्दा आएको बाढीका बेला सेनाले जनजीवन जोगाउन खेलेको भूमिका यसका जीवन्त उदाहरण हुन्।’
उनले सेना सधैँ राष्ट्रको आवश्यकता अनुसार खटिने जिम्मेवार संस्था भएको उल्लेख गरे। साथै, सगरमाथा राष्ट्रिय निकुञ्जको संरक्षण र सुरक्षामा पनि नेपाली सेना समर्पित रहेको जानकारी दिए।
मन्त्री राईले वातावरण संरक्षण, विपद् व्यवस्थापन र समुदायसँगको समन्वयमा सेनाको भूमिका प्रभावकारी रहेको धारणा व्यक्त गरे।
अन्तर्क्रिया कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय निकुञ्जका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि लगायत सरोकार भएका निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।