काठमाडौँमा बस दुर्घटना हुँदा आठ वटा सवारीसाधनमा क्षति

हिमाल प्रेस ७ जेठ २०८२ १७:२२
40
SHARES
काठमाडौँमा बस दुर्घटना हुँदा आठ वटा सवारीसाधनमा क्षति

काठमाडौँ– काठमाडौँको गौशालास्थित पिङ्लास्थानमा एउटा बस अनियन्त्रित भई दुर्घटना हुँदा आठ वटा सवारीसाधनमा क्षति पुगेको छ।

गौशालाबाट तिलगङ्गातर्फ जाँदै गरेको बा ५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको सार्वजनिक बस काठमाडौँ महानगरपालिका–८ पिङ्लास्थान नजिक सडकमा आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा उक्त बससहित आठ वटा सवारीसाधनमा क्षति भएको काठमाडौँ प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपीलराज बोहराका अनुसार उक्त दुर्घटनामा बाबा गोकर्णेश्वर यातायातको बससहित एउटा हायस, तीन वटा कार, दुई वटा मोटरसाइकल र एउटा स्कुटरमा क्षति पुगेको छ।

दुर्घटनामा धादिङ ज्वालामुखी गाउँपालिका–१ घर भई काठमाडौँको टोखा बस्ने ३२ वर्षीय राजकुमार श्रेष्ठ, नुवाकोट टाडी गाउँपालिका–२ भई हाल टोखा बस्ने २२ वर्षीय विकाश कट्टेल र खोटाङ हलेसी टुवाचुङ नगरपालिका–५ घर भई हाल कोटेश्वर बस्ने ३७ वर्षीय शैलेन्द्र राई घाइते भएका उनले जानकारी दिए।

अनियन्त्रित भएर पल्टिएको बा ५ ख ६७३५ नम्बरको सार्वजनिक बसका चालक भने फरार भएकाले निजको खोजी जारी रहेको बताउँदै प्रहरी उपरीक्षक बोहराले घटनाको विस्तृत रूपमा अनुसन्धान भइरहेको जानकारी दिए।

प्रकाशित: ७ जेठ २०८२ १७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast