
विराटनगर- कोशी प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल जारी रहेको छ।
प्रदेशसभा नियमावली, २०७४ को नियम ३८ को उपनियम १ अनुसार सुरु भएको छलफलमा सांसदहरू कमजोर क्षेत्र, नीति कार्यान्वयन र प्राथमिकतासम्बन्धी विषयमा धारणा राखेका छन्।
छलफलमा सांसद कमजप्रसाद जबेगु, विदुरकुमार लिङथेप, बाबुराम गौतम, राजेन्द्र कार्की, सपना दर्जी, प्रदीपकुमार सुनवार, विनोद राई, खगेश्वरी पौडेल, होमबहादुर थापा लगायतले भाग लिएका थिए।
छलफलका क्रममा उठेका जिज्ञासाको जवाफ दिँदै आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रदेश सरकार संविधान र कानुनको दायराभित्र रही काम गर्ने प्रतिबद्धता दोहोर्याए।
उनले हालै सम्पन्न भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीबारे जानकारी दिँदै शान्ति सुरक्षा, मौद्रिक नीति र परराष्ट्र नीति संघीय सरकारको अधिकार क्षेत्रभित्र पर्ने भएकाले सोही अनुरूप बैठक सम्पन्न भएको प्रस्ट पारे।
मोरङको कानेपोखरीमा जेठ ५ गते भएको सवारी दुर्घटनाबारे पनि जानकारी दिँदै मन्त्री भण्डारीले घटनाको छानबिन गरी दोषीमाथि कारबाहीका लागि निर्देशन दिइसकिएको बताए।
दुर्घटनामा घाइते भएका चारमध्ये दुई सांसद घर फर्किसकेको र दुई जनाको उपचार जारी रहेको उनले जानकारी दिए। साथै, सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएको उनले उल्लेख गरे।
मन्त्री भण्डारीले अघिल्लो वर्ष बाढी र पहिरोका कारण कोशी प्रदेशमा करिब ४ अर्ब ६२ करोड बराबरको क्षति भएको जनाउँदै सरकारको चालु खर्च कटौती गरेर ४० करोडको राहत वितरण तथा निर्माण सम्पन्न गरिएको जानकारी दिए।
त्यसैगरी, यातायात व्यवस्था कार्यालयलाई व्यवस्थित बनाउने कार्य अघि बढेको उनले बताए। उनले विद्युतीय प्रणालीमार्फत कर भुक्तानी गर्ने र एक महिनाभित्र सवारी अनुमतिपत्र (लाइसेन्स) प्रदान गर्ने व्यवस्था कार्यान्वयनमा आइसकेको पनि जानकारी दिए।
बैठकको शून्य समयमा सांसद खिनु लङवा लिम्बू, गोम्बु शेर्पा, सम्झना तामाङ थाम्साङ, तिलचन पाठक, बुद्धिकुमार राजभण्डारी, रामप्रसाद मेहता र कमलप्रसाद जबेगुले मुलुकको समसामयिक विषयमा धारणा राखेका थिए।