
म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ स्वाँतमा रहेका भिरहरूमा महशिकार सुरु भएको छ। स्वाँतवासीले हरेक वर्षको जेठको पहिलो हप्ता सामूहिक रूपमा गाउँ वरपरको भिरमा सामूहिक महशिकार गर्ने वर्षौंअघिदेखिको चलनलाई निरन्तरता दिएका छन्। स्थानीय लोकबहादुर पाइजाको नेतृत्वमा मंगलबार छहरे भिरबाट ४० लिटर मह निकालिएको छ।
डोरीमा झुण्डीएर मह निकाल्ने टोलीमा पाइजाको साथमा ७२ वर्षीय केशबहादुर तिलिजा पुन देखि तुलबहादुर पुर्जा, सुजन तिलिजा र सनम पाइजा लगायतका युवाहरु सहभागी भएका थिए। अक्करे भिरमा शिकारीले भाडामा झिक्ने महलाई संकलन, प्रारम्भिक प्रसोधन गर्ने र सहयोगी सहित करिब २० जना सहभागी थिए। महशिकार गर्ने चलन लोप हुन नदिनका लागि अग्रजहरुरू युवालाई यससम्बन्धी सिप सिकाएर हस्तान्तरण गरेका छन्।
स्वाँतबासीहरू घरको काम सकेर दिनभर महशिकार अवलोकन गर्न छहरेभिर गएका थिए। महशिकार गर्नुअघि भिरको नजिकै मगर संस्कृति अनुसार अशुभ् नहोस भन्ने कामना गर्दै पुजाआजा गरिएको थियो। गत वर्ष दुई सय लिटर मह निकालिएको छहरे भिरमा यसपाली पाँच गुणा कम मह उत्पादन भएको छ।
केही दिनदेखिको वर्षाका कारण मौरी चरन क्षेत्रमा जान नपाउँदा गोलाको मह खाएकाले मह कम भएको शिकारी पाइजाले बताए। छहरीको भिरमा ११ वटा गोला थियो। बुधबार स्वाँत देखि खोपारा जाने पदमार्गमा पर्ने छिसको टाउको भिरमा महशिकार गर्ने तयारी छ। त्यहाँ करिब २० वटा गोला छन्।
खोल्साको नजिकैको ओसेपिलो ठाउँको अक्करे पहाडको बिच भागमा भिरमौरीको बासस्थान हुन्छ। वनजंगङ्गलमा फुल्ने फुल भिरमौरीको आहरा हो। हिउँदमा न्यानो खोज्दै बेँसी झर्ने भिरमौरी गर्मी बढ्न थालेसँगै माथिल्लो क्षेत्रमा बसाइँसराइ गर्छन्।
महशिकार अवलोकनका लागि पर्यटकहरू पनि आएका थिए। काठमाडौंका सागर पराजुलीले रसीमा झुण्डीएर भिरबाट मह निकालेको साहासिक दृष्य अवलोकन गर्ने सौभाग्य मिलेको बताए। ‘मह सिकारीले डोरीको सहायताले भीर मौरीको गोला भएको डरलाग्दो भिरमा झुण्डिएर मह निकालेको पहिलो पटक देख्दा शरिरनै जिरिङ्ग भयो,’ उनले भने, ‘भिरमह खाँदा जति स्वादिलो र रसिलो हुन्छ यसलाई निकाल्न भने अत्यन्तै जोखिम मोल्नुपर्ने रहेछ।’
भीरमा भीरमौरीले लगाएका गोला काट्नका लागि मह सिकारी डोरीमा झुन्डिएर मह सिकार गर्ने गर्दछन्। वसन्त र शरद ऋतु मह शिकारका लागि उपयुक्त समय मानिन्छ। वसन्त ऋतुमा बेँसी र शरदमा लेकमा पुगेर भिरमह निकाल्न उपयुक्त समय हो। मह निकाल्नका लागि भीरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा सिकारी बाँडिएका हुन्छन्। एक समूहले भीरको माथिबाट तल भुइँसम्म डोरी (स्थानीय भाषामा परङ) झुन्ड्याउँछन् भने भिरको तल अथवा माथिपट्टि बस्ने अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्दछन्।
१४ वर्षदेखि महशिकार गर्दै आएका ७२ वर्षीय केशबहादुरले पछिल्लो समय मौरीको टोकाईबाट बच्न सकिने कपडा, सेफ्टी बेल्ट प्रयोग गर्न थालेपछि जोखिम घटेको अनुभव बताए। ‘१० वर्षअघिसम्म शिकार गर्दा एकातर्फ मौरीले टोक्ने अर्कोतर्फ रसी फुत्किएर खस्ने डर हुन्थ्यो,’ उनले भने, ‘अहिले सेफ्टीका सामान भएपछि सुरक्षित र सजिलो भएको छ।’
स्वादिलो, स्वास्थ्यका लागि हितकर भिरमह शक्तिवर्द्धक हुने स्वाँतका बासिन्दा बलबहादुर तिलिजाले बताए। मह धार्मिक कार्यमा पनि प्रयोग हुने भएकाले थप महत्व छ। विदेश गएका र सहरमा बस्नेहरूले भिरमह कोसेलीका रुपमा लैजाने गर्छन्।
स्वाँतका सबै भिरबाट निकालिएको मह संकलन गरेपछि बैठक बसेर वितरण गर्ने चलन छ। पराङमा चढ्ने, उनीहरूलाई सहयोग गर्ने र गाउँमा बसोबास गर्नेहरुलाई तीन बर्गमा विभाजन गरेर मह वितरण गर्ने चलन छ। गाउँमा वितरण भएपछि बढी भएको मह बाहिर बिक्री गर्ने गरिन्छ।
स्वाँतको भिरमहको मूल्य प्रतिलिटर तीन हजार कायम गरिएको छ। बसाइँ सरेर बेनी, पोखरा, काठमाडौं, चितवन गएकाहरू मह शिकार गर्ने समयमा स्वाँत आउँछन्। पोखरामा बस्दै आएकी स्वाँतकी चन्द्र पुनले महशिकार हेर्न, ताजा मह खान र किनेर लैजान हरेक बर्ष गाउँमा आउने गरेको बताइन्। स्वाँतमा बस्ति बसेदेखिनै महशिकार गर्ने चलन रहेको छ।
अन्नपूर्ण गाउँपालिका–५ शिखका वडा अध्यक्ष राजेश तिलिजा पुनले महशिकारलाई व्यवस्थित, आधुनिक र सुरक्षित तथा व्यवसायिक बनाउदै पर्यटनसँग जोड्ने योजना रहेको बताए। महशिकारको समयमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने, महलाई व्यवस्थित रूपमा प्रशाेधन र भण्डारण गरि बजारीकरणको ब्यवस्था मिलाउन पहल गर्ने वडा अध्यक्ष तिलीजाले बताए।