शिक्षकको माग पूरा नभए सामूहिक आमरण अनशनमा जानुपर्छ : संयोजक भट्टराई

हिमाल प्रेस ७ जेठ २०८२ ११:२३
324
SHARES
शिक्षकको माग पूरा नभए सामूहिक आमरण अनशनमा जानुपर्छ : संयोजक भट्टराई

काठमाडौँ- नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष तथा स्थायी शिक्षक हकहित मञ्चका केन्द्रीय संयोजक रमेशबाबु भट्टराईले शिक्षकहरूको मागमा निरन्तर उपेक्षा हुँदै आएको भन्दै अब सामूहिक आमरण अनशनमा जानुपर्ने सुझाव दिएका छन्। उनले शैक्षिक आन्दोलनलाई खर्चिलो र प्रभावहीन सडक प्रदर्शनभन्दा पनि संवेदनशील र नैतिक दबाब सिर्जना गर्ने विकल्पतर्फ मोड्नुपर्ने आवश्यकता औंल्याएका छन्।

भट्टराईले भने, ‘अब शिक्षक नेतृत्व सामूहिक आमरण अनशन बसे हुन्छ। अरबौं रुपैयाँ खर्चेर सडक आन्दोलन गर्नु हुँदैन। त्यसले विद्यार्थी र अभिभावकसँगको दूरी बढाउँछ र समाजमा नकारात्मक सन्देश दिन्छ।’ उनले शिक्षक आन्दोलनको स्वरूपमा परिवर्तन गर्दै शैक्षिक सुधार र देश निर्माणका लागि बलिदान दिनसक्ने नेतृत्व आवश्यक भएको धारणा राखे।

उनले २०१८ सालमा प्रकाशित सर्वाङ्गिण राष्ट्रिय शिक्षा समितिको प्रतिवेदनलाई उद्धृत गर्दै त्यसमा नै शिक्षकको १० वर्षे आवधिक बढुवा व्यवस्था गर्न सिफारिस भइसकेको स्मरण गराए। तर, दशकौं बितिसक्दा पनि शिक्षकको स्थायीत्व, बढुवा र सम्मानजनक सेवा सुरक्षामा ध्यान नदिइएको भनी शिक्षा प्रणालीप्रति गम्भीर प्रश्न उठाएका छन्।

संयोजक भट्टराईले शिक्षक नेतृत्व, शिक्षा मन्त्रालय, राजनीतिक दल र सरकारको अदूरदर्शी निर्णयशैली र सत्ताकेन्द्रित सोचलाई सार्वजनिक शिक्षाको संकटको मुख्य कारण ठहर गरे। उनले भने, ‘शिक्षक नेतृत्वको फितलो पक्षपात, बन्द कोठाको निर्देशन पालना, गलत हठ र दूरदर्शिता नहुनुले शिक्षा मन्त्रीको विश्वास गुमाउने वातावरण बनाएको छ।’

साथै, उनले राजनीतिक नेताहरूको हेपाइ प्रवृत्ति, पैसा र विलासी जीवनप्रतिको मोह, निजीकरणप्रतिको आकर्षण र सार्वजनिक शिक्षा उपेक्षाको नीतिले गर्दा युवाहरूमा निराशा र वितृष्णा पैदा भएको उल्लेख गरे।

भट्टराईले शिक्षा, स्वास्थ्य लगायतका सार्वजानिक सेवा क्षेत्रमा निरन्तर कमजोरी आउँदा राज्य व्यवस्थामै संकट उत्पन्न हुने चेतावनी पनि दिएका छन्। उनले शिक्षालाई सुधार्ने हो भने ईमानदार नेतृत्व र वैचारिक बलिदानसहितको आन्दोलन अपरिहार्य भएको तर्क गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast