शंकास्पद वित्तीय कारोबार प्रतिवेदन दोब्बर

हिमाल प्रेस ६ जेठ २०८२ १७:३१
8
SHARES
शंकास्पद वित्तीय कारोबार प्रतिवेदन दोब्बर

काठमाडौँ- मुलुकमा शंकास्पद वित्तीय गतिविधि उल्लेख्य रूपमा वृद्धि भएको देखिएको छ। नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय सूचना एकाइ (एफआईयू) ले शंकास्पद वित्तीय कारोबार प्रतिवेदनको संख्या एक वर्षमा दोब्बरभन्दा बढी देखाएको हो।

सन् २०२३ मा ६ हजार २५५ वटा शंकास्पद कारोबार प्रतिवेदन प्राप्त भएकोमा २०२४ मा त्यो संख्या  नौ हजार ३०४ पुगेको एफआईयूले जनाएको छ। यसबारेमा वाणिज्य बैंकहरूले सबैभन्दा धेरै प्रतिवेदन पेस गरेका छन्। २० वाणिज्य बैंकबाट मात्रै सात हजार ७१३ वटा प्रतिवेदन आएको छ। यो संख्या अघिल्लो वर्ष पाँच हजार २८२ थियो।

विकास बैंकहरूबाट ६१२, वित्त कम्पनीबाट ३०३, सेयर ब्रोकरहरूबाट २९०, भुक्तानी सेवा प्रदायकबाट १६६, रेमिट्यान्स कम्पनीबाट ९२, जीवन बिमा कम्पनीबाट ८२, भुक्तानी सेवा सञ्चालकबाट १४, सहकारीबाट १२ र क्यासिनोबाट ३ वटा शंकास्पद कारोबार प्रतिवेदन प्राप्त भएको छ।

एफआईयूका अनुसार सबैभन्दा धेरै प्रतिवेदन भएका आपराधिक गतिविधिमा सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) अग्रपंक्तिमा छ। २०२३ मा तीन हजार १९९ यस्ता प्रतिवेदन प्राप्त भए पनि २०२४ मा चार हजार २३३ पुगेका छन्। त्यसपछि कर छली (दुई हजार ८७६), विदेशी विनिमय तथा बैंकिङ अपराध (दुई हजार ६६५), धोखाधडी (एक हजार २६५), जुवा तथा लट्री (४०५), व्यापार आधारित अवैध कारोबार (३२) छन्।

एफआईयूले २०२४ मा १८ हजार १८४ वटा वित्तीय कारोबारको प्रारम्भिक अनुसन्धान गरेको छ। तीमध्ये ८२८ कारोबारलाई थप अनुसन्धानका लागि छुट्याइएको छ भने ७८८ मुद्दा सम्बन्धित निकायहरूमा कानुनी कारबाहीका लागि पठाइएको छ।

एफआईयूले निगरानी क्षेत्रलाई परम्परागत वित्तीय संस्थाबाट बाहिर रियल स्टेट, सहकारी, कानुनी सेवा प्रदायकजस्ता गैर-वित्तीय क्षेत्रमा पनि विस्तार गरेको छ। अघिल्लो आर्थिक वर्षमा मात्रै १,०४६ नयाँ गैर-वित्तीय रिपोर्टिङ निकायहरू एफआईयू प्रणालीमा दर्ता भएका छन्।

प्रकाशित: ६ जेठ २०८२ १७:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast