
काठमाडौँ– भारतमा टर्कीका उत्पादन बहिष्कार गर्न थालिएको छ। टर्कीले पाकिस्तानलाई भारतसँगको पछिल्लो तनावमा समर्थन जनाएपछि भारतीय किराना व्यापारीदेखि अनलाइन खुद्रा विक्रेतासम्मले टर्कीका खाद्य तथा फेसन सामग्री अनिश्चितकालका लागि हटाउन थालेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।
अल इन्डिया कन्ज्युमर प्रोडक्ट्स डिस्ट्रिब्युटर्स फेडेरेसनले टर्कीबाट आयात हुने चकलेट, कफी, वेफर, जाम, बिस्कुट र छाला सौन्दर्य उत्पादनमाथि अनिश्चितकालीन पूर्ण बहिष्कार घोषणा गरेको जनाएको छ। फेडेरेसन भारतभरका १ करोड ३० लाख किराना पसलमा आपूर्ति गर्ने संस्था हो।
वालमार्ट समर्थित फ्लिपकार्ट र मुकेश अम्बानीको रिलायन्स स्वामित्वको अनलाइन फेसन साइटले आफ्ना वेबसाइट र एपबाट टर्कीका ब्रान्डहरू ट्रेन्डियोल, कोटन, एलसी वाइकिकी र माभी हटाएको छ। धेरै ब्रान्ड मौज्दात सकिएको भन्दै सूचीबाट हटाइएको छ।
फ्लिपकार्टले गत साता भारतको सार्वभौमिकता र राष्ट्रिय हितप्रति ऐक्यबद्धता जनाउँदै टर्कीका लागि होटल, उडान र बिदा प्याकेज बुकिङ स्थगित गर्ने घोषणा गरेको थियो। हिमाञ्चल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुंखुले टर्कीबाट आयात हुने स्याउमाथि प्रतिबन्धको माग गर्ने बताएका छन्। भारतले गत वर्ष मात्रै टर्कीबाट करिब ६ करोड डलर बराबरको स्याउ आयात गरेको थियो।
भारत सरकारले टर्कीमा आधारित विमानस्थल सेवा कम्पनी ‘चेलेबी’ को सुरक्षा अनुमति खारेज गरिसकेको छ। त्यस्तै एयर इन्डिया ले टर्किस एयरलाइन्ससँग इन्टिगोको साझेदारीमा आपत्ति जनाउँदै सो सहकार्य अनुमति नदिन सरकारलाई आग्रह गरिरहेको छ।
यद्यपि भारत सरकारले औपचारिक रूपमा कुनै सरकारी प्रतिबन्ध आदेश जारी गरेको छैन तर उपभोक्ताको स्तरमा भइरहेको स्वस्फूर्त बहिष्कार निकै प्रभावशाली देखिएको छ।
फेडेरेसनका अनुसार यसबाट खाद्य क्षेत्रमै २० अर्ब रुपैयाँ (करिब २३४ मिलियन डलर) बराबरको व्यापार प्रभावित हुनेछ। टर्कीबाट कपडा आयात पनि गत वर्ष ८१ मिलियन डलर पुगेको थियो।
भारत प्रशासित कस्मिरमा इस्लामी आक्रमणकारीद्वारा गरिएको आक्रमणको प्रत्युत्तरमा भारतले सैनिक कारबाही गरेपछि टर्कीका राष्ट्रपति तय्यिप एर्दोआनले पाकिस्तानसँग ऐक्यबद्धता जनाएका थिए। पाकिस्तान पनि मुस्लिम बहुल देश हो। उक्त घटनापछि चार दिनसम्म सीमापार भिडन्त चलेको थियो र त्यसपछि संघर्षविराम घोषणा गरिएको थियो।