असल अभ्यास अध्ययन गर्न बझाङका जनप्रतिनिधि ललितपुरमा

हिमाल प्रेस ६ जेठ २०८२ १५:५४
4
SHARES
असल अभ्यास अध्ययन गर्न बझाङका जनप्रतिनिधि ललितपुरमा

ललितपुर- बझाङको बित्थडचिर गाउँपालिकाबाट १८ सदस्यीय जनप्रतिनिधि टोली ललितपुर महानगरपालिकाको असल अभ्यासको अध्ययन गर्न यहाँ आएको छ। गाउँपालिकाका उपाध्यक्ष धनलक्ष्मी सिंह मल्लको नेतृत्वमा आएको टोलीलाई ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्य बज्राचार्य र प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले स्वागत गरे।

कार्यक्रममा प्रमुख महर्जनले काठमाडौँ उपत्यकाले सार्वजनिक ऐलानी, पर्ती र जग्गा संरक्षणमा गरेको गल्ती नदोहोर्‍याउन सुझाव दिँदै ललितपुर महानगरले अपनाएका अभ्यासहरूलाई प्राथमिकतामा राखेर अध्ययन गर्न आएकोमा टोलीलाई धन्यवाद दिए। “हामीले गरेका प्रयासहरूबाट तपाईंहरूलाई केही सिक्न सकियो भने त्यो हाम्रो लागि पनि सन्तोषको कुरा हो,” उनले भने।

उपप्रमुख बज्राचार्यले न्यायिक समितिमा तीन महिनाभन्दा बढी मुद्दा नराख्ने अभ्यासबारे जानकारी दिँदै गाउँपालिका टोलीले ललितपुरलाई अध्ययनको केन्द्र बनाएकोमा आभार व्यक्त गरिन्। महानगरका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जनप्रतिनिधि र कर्मचारीबीचको समन्वय र सहकार्यलाई संस्थागत अभ्यासको नमुना भन्दै गाउँपालिकाले त्यसबाट पनि सिक्न सक्ने उल्लेख गरिन्।

टोलीकी प्रमुख मल्लले महानगरका अभ्यासहरूबाट धेरै सिक्ने अपेक्षा रहेको बताइन्। “हामीले नीति निर्माणदेखि सेवाप्रवाहसम्मका विषयमा ललितपुरको अनुभवबाट धेरै कुराहरू सिक्न चाहेका हौं,” उनले भनिन्।

गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ९ का अध्यक्ष हरिशचन्द्र जोशीले ललितपुर महानगरसँगका अनुभवहरू आफ्ना स्थानीय तहमा लागू गर्न सकिने धेरै अभ्यासहरू रहेको बताउँदै प्राविधिक सहयोगको अपेक्षा पनि व्यक्त गरे।

प्रकाशित: ६ जेठ २०८२ १५:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast