ललितपुरका सामुदायिक विद्यालयमा अपांगता अधिकारसम्बन्धी अभिमुखीकरण

हिमाल प्रेस ६ जेठ २०८२ १०:२२
24
SHARES
ललितपुरका सामुदायिक विद्यालयमा अपांगता अधिकारसम्बन्धी अभिमुखीकरण

ललितपुर- ललितपुरका सामुदायिक विद्यालयहरूमा अपांगता अधिकार र समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम अगाडि बढिरहेको छ। विद्यालयमै समावेशी सोचको बीजारोपण गर्ने उद्देश्यले सञ्चालन गरिएको यस अभियानले शिक्षक, विद्यार्थी, प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरूलाई समेट्दै समावेशी शिक्षाको महत्त्वबारे गहिरो जानकारी दिइरहेको छ।

कार्यक्रम अपांगता सशक्तीकरण नेपालका अध्यक्ष टेकनाथ न्यौपाने तथा बोर्ड सदस्य सुमन घिमिरेद्वारा सहजीकरण गरिएको हो भने महसचिव ई. कृष्ण महर्जनले कार्यक्रम संयोजकका रूपमा प्रमुख भूमिका निर्वाह गरे।

आर्थिक वर्ष २०८१/८२ मा ललितपुर महानगरपालिकाभित्रका पाँचवटा तथा महालक्ष्मी नगरपालिका वडा नं १० का दुईवटा गरी सातवटा सामुदायिक विद्यालयमा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको छ।

पहिलो चरणको अन्तर्गत हाल ललितपुरका पाँच विद्यालयहरू  श्रमिक शान्ति मावि (च्यासल), प्रभात मावि (त्यागल), आदर्श कन्या निकेतन मा.वि. (मंगलबजार), चण्डी मावि (चाकुपाट) र बाल विनोद मावि (नटोल) मा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।

कार्यक्रमको क्रममा अपांगता भएका व्यक्तिहरूको अधिकार, कानुनी संरचना र व्यवहारमा अपनाउनुपर्ने दृष्टिकोणबारे स्पष्ट जानकारी दिइएको छ।

शिक्षकहरूमा समावेशी शिक्षा प्रणाली अपनाउने प्रेरणा जगाउनुका साथै व्यवस्थापन समितिमा आवश्यक भौतिक पहुँच र स्रोत साधनको आवश्यकता पहिचान गर्ने चेतना विकास भएको देखिएको छ। विद्यार्थीहरूमा अपांगता भएका सहपाठीहरूप्रति समझदारीपूर्वक व्यवहार गर्ने संस्कार विकासमा समेत कार्यक्रम प्रभावकारी देखिएको छ।

कार्यक्रम सम्पन्न भएका केही विद्यालयहरूले भौतिक पहुँचमा सुधार ल्याउने, विशेष शिक्षण सहायता सुरु गर्ने र शिक्षक तालिमको पहल गर्ने प्रतिबद्धता जनाएका छन्। सहभागी शिक्षकहरूले आफ्ना पठन–पाठन योजनामा समावेशी अभ्यास समावेश गर्ने घोषणा गरेका छन्। यी सबै प्रयासहरूले दीर्घकालीन रूपमा समावेशी, समान र पहुँचयुक्त शिक्षण प्रणाली निर्माणमा योगदान पुर्‍याउने विश्वास लिइएको छ।

यो अभियानले विद्यालयहरूमा सकारात्मक परिवर्तन ल्याउनुका साथै अपांगता र समावेशीताबारे विद्यालय तहमा संवादको सुरुवात गराएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast