गभर्नर नियुक्तिमा जुटेन देउवा-ओलीबीच सहमति, मन्त्रिपरिषद् बैठक स्थगित

धैर्यकान्त दत्त ५ जेठ २०८२ २१:४८
42
SHARES
गभर्नर नियुक्तिमा जुटेन देउवा-ओलीबीच सहमति, मन्त्रिपरिषद् बैठक स्थगित प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा। फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीबीच नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्तिमा सहमति हुन नसक्दा मन्त्रिपरिषद् बैठक स्थगित भएको छ। केन्द्रीय बैंक नेतृत्वविहीन भएको डेढ महिना बितिसक्दा पनि गभर्नर नियुक्त गर्न सत्ताधारी दुई दल सहमत नभएका हुन्। गर्भनर नियुक्ति गर्न नसक्दा वित्तीय क्षेत्रको नीतिगत निर्णय प्रभावित भएको छैन कांग्रेस–एमालेको नेतृत्वप्रति आलोचना भइरहेको छ।

गभर्नर नियुक्तिका विषयमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच सहमति जुट्न नसकेपछि सोमबारको मन्त्रिपरिषद् बैठक स्थगित भएको एक मन्त्रीले जानकारी दिए।

दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि शीर्ष तहमा सहमति जुट्न नसकेपछि राष्ट्र बैंकले गभर्नर पाउन सकेको छैन। कांग्रेस सभापति देउवासहित सत्तारुढ दलका नेताहरूले प्राविधिक समस्याका कारण गभर्नर नियुक्ति हुन नसकेको बताइरहेका छन्।

कांग्रेस सभापति देउवाले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टराईलाई गभर्नरका लागि अघि सारेका थिए। भट्टले पदबाट राजीनामासमेत दिएका थिए।  राष्ट्र बैंककी कार्यवाहक गभर्नर नीलम ढुंगानाले राजीनामा स्वीकृत नगरेपछि भट्टलाई गभर्नर नियुक्त गर्ने प्रक्रिया अड्किएको थियो।

भट्टपछि देउवाको रोजाइमा परे विश्व पौडेल। उपप्रधान एवं अर्थमन्त्री संयोजक रहेका गभर्नर सिफारिस समितिका सदस्यसमेत थिए उनी। गभर्नरका लागि नाम अगाडि सारिएपछि पौडेलले सिफारिस समितिको सदस्यबाट राजीनामा दिएका थिए।

भट्टको विकल्पका रूपमा अघि सारिएका पौडेललाई समेत सरकारले गभर्नर नियुक्त गर्न सकेको छैन। २०७९ सालको निर्वाचनमा चितवनबाट कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका पौडेल रास्वपाका हरि ढकालसँग पराजित भएका थिए।

सक्रिय राजनीतिमा संलग्न पौडेलसँग राष्ट्रिय आयोजना आयोगको सदस्य र उपाध्यक्ष भएर काम गरेको अनुभव छ। राजनीतिमा उनको सक्रियता गभर्नर नियुक्तिका लागि बाधक बनेको छ। राष्ट्र बैंकको कानुनमा राजनीतिक दलका सदस्या वा पदाधिकारी गभर्नर, डेपुटी गभर्नर वा सञ्चालक पदमा नियुक्त हुन नसक्ने व्यवस्था छ।

तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि चैत २४ गतेदेखि गभर्नर पद रिक्त छ। गभर्नर पद रिक्त हुनुभन्दा एक महिनाअगावै नियुक्त गरिसक्नुपर्ने संवैधानिक व्यवस्था भए पनि दुई महिना पुग्न लाग्दासमेत सरकार गम्भीर नदेखिएको आरोप लाग्न थालेको छ।

सत्तारुढ दल कांग्रेसका नेता शेखर कोइराला गभर्नर नियुक्तिमा संविधान मिच्ने काम भएको बताउँछन्। उनले कानुनमा गभर्नर पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नियुक्त गर्नुपर्ने व्यवस्था रहे पनि अहिले कानुन मिच्ने काम भएको बताए।

गभर्नर नियुक्तिमा चलखेल हुनसक्ने आशंकासमेत उनले व्यक्त गरेका छन्। गत शनिबार एक कार्यक्रममा उनले भने,‘सभापतिसँग कुरा गर्दा राम्रै मान्छे गभर्नर नियुक्ति हुने जानकारी गराउनुभएकाले ढुक्क छु। तर पनि देशमा कतै गडबड त भइरहेको छैन भन्ने चिन्ता छ।’

राजनीतिक भागबण्डामा कांग्रेसको भागमा गभर्नर परे पनि प्रधानमन्त्री ओली सहमत नहुँदा नियुक्तिमा ढिलाइ भइरहेको बताइएको छ।

सत्तारुढ दलका नेताहरू भने गभर्नर नियुक्तिमा प्रधानमन्त्रीका कारण ढिलाइ भएको भन्ने आरोप अस्वीकार गर्छन्। कांग्रेस सभापति देउवाले गभर्नर नियुक्तिका लागि प्रधानमन्त्री ओली सकारात्मक रहेको बताउँदै आएका छन्। राजनीतिक कारणभन्दा पनि प्राविधिक कारणले गभर्नर नियुक्त गर्न ढिलाइ भइरहेको उनको भनाइ छ।
उनले गभर्नर नियुक्तिमा ढिलाइ हुनुपछाडि राष्ट्र बैंक कारक रहेको दाबी गर्दै आएका छन्।

‘गभर्नरका विषयमा अहिले राजनीतिक समस्या छैन, ओलीजी पनि सकारात्मक हुनुहुन्छ। राष्ट्र बैंकभित्रकै समस्या हो,’ केही दिनअघि पार्टीको आर्थिक नीति तथा योजना विभागले आयोजना गरेको कार्यक्रममा उनले भनेका थिए।

नेताहरूले राजनीतिक कारणका कारण ढिलाइ नभएको बताइरहँदा पनि अर्थविज्ञहरू भागबण्डामा समस्या भएकाले राष्ट्र बैंकले गभर्नर पाउन नसकिरहेको तर्क गर्छन्। सक्षम र योग्यभन्दा दल तथा आफूनिकट मान्छे खोज्ने प्रवृत्तिका कारण गभर्नर नियुक्तिमा ढिलाइ भएको उनीहरूको दाबी छ।

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य एवं अर्थविद् प्राध्यापक डा.सुरेन्द्र लाभ राजनीतिक भागबण्डामा अल्झिएर गभर्नर नियुक्त गर्न ढिलाइ भएको बताउँछन्।

‘योग्य र क्षमतावानभन्दा पनि दलको मान्छे खोज्ने प्रवृत्ति छ, दलभित्र पनि आफूनिकटलाई प्राथमिकता दिइन्छ,’ उनी भन्छन्, ‘राष्ट्र बैंकको गभर्नर जस्तो पदमा पनि क्षमतावानभन्दा आफूनिकटलाई खोज्न थालिएपछि लथालिंग भएको हो।’

राष्ट्र बैंकको गभर्नर चानचुने विषय नभएको भन्दै उनले राष्ट्रिय अन्तर्राष्ट्रिय अर्थतन्त्र बुझेका नेतृत्व सम्हाल्ने व्यक्ति नियुक्त गर्नुपर्ने धारणा राखे।

झन्डै दुई महिनादेखि गभर्नरको खोजी भइरहे पनि सिफारिस उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल संयोजक रहेको सिफारिस समितिको बैठकसमेत बस्न सकेको छैन। बरू समितिका सदस्य फेरबदल हुने क्रम चलिरहेको छ। गभर्नर सिफारिस समितिको बैठक नबसेकै कारण मन्त्रिपरिषद् बैठकसमेत नबोलाइएको बताइएको छ।

सोमबारको मन्त्रिपरिषद् बैठकमा गभर्नर नियुक्ति गर्ने एकमात्र एजेन्डा रहेको ती मन्त्रीले बताए। गभर्नर सिफारिस समितिको बैठकपछि मात्रै मन्त्रिपरिषद् बैठक बस्ने उनको भनाइ छ। ‘गभर्नर नियुक्त गर्न त पहिले सिफारिस समितिको बैठक बस्नुपर्‍यो, त्यहाँबाट तीन जनाको नाम आउनुपर्‍यो। सिफारिस समितिको बैठक बसेको छैन। सिफारिस समितिबाट नाम आइसकेपछि मात्रै क्याबिनेटले निर्णय गर्ने हो,’ उनले भने।

प्रधानमन्त्री बिरामी भएका कारण पनि मन्त्रिपरिषद्को बैठक बस्न नसकेको उनले बताए। उनले भने, ‘पीएमले सन्चो छैन भन्नुभयो, त्यसपछि मन्त्रिपरिषद् बैठक स्थगित भएको हो।’

यसैबीच सोमबार साँझ हुने भनिएको प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीचको भेटवार्ता पनि स्थगित भएको छ। प्रधानमन्त्री ओलीले आज नभेटौँ भनेपछि भेटघाट स्थगित भएको सभापति देउवानिकट स्रोतले बतायो। ‘प्रधानमन्त्रीले सन्चो छैन, आज नभेटौँ भनेपछि, भेटघाट रोकिएको हो,’ स्रोतले भन्यो।

राष्ट्र बैंक गभर्नरविहीन हुँदा नीतिगत निर्णय प्रभावित भएका छन्। राष्ट्र बैंक नेतृत्वविहीन अवस्थामा पुगेकाले देशको अर्थतन्त्र थप अन्योलमा धकेलिएको भन्दै अर्थविद्हरूले चिन्ता व्यक्त गरेका छन्।

प्रकाशित: ५ जेठ २०८२ २१:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast