प्रेमीको हत्या आरोपमा प्रेमिकासहित ६ जना पक्राउ, चप्पल बन्यो सुराक

हिमाल प्रेस ५ जेठ २०८२ १७:११
22
SHARES
प्रेमीको हत्या आरोपमा प्रेमिकासहित ६ जना पक्राउ, चप्पल बन्यो सुराक सर्लाही चन्द्रनगर गाउँपालिका-१ किसानपुरका अरविन्दकुमार पण्डितको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरू।

काठमाडौँ- सर्लाहीमा प्रहरीले एक युवकको हत्यामा संलग्न रहेको आरोपमा पाँचजनालाई पक्राउ गरेको छ। सर्लाही चन्द्रनगर गाउँपालिका-१ किसानपुरका अरविन्दकुमार पण्डितको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकी ईश्वरपुर नगरपालिका-६ चिरानटोलीकी ३० वर्षीया नजिमा खातुन पण्डितकी प्रेमिका रहेको  प्रहरी अनुसन्धानबाट खुलेको छ।

यसैगरी पक्राउ पर्ने अन्यमा खातुनका पति मोस्तिकम अन्सारी, हुसेन मोमिन, सुयब अन्सारी, कानुर आलम अन्सारी र सलाउद्दिन अन्सारी छन्। उनीहरू सबैलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ। पक्राउ परेका सबै अभियुक्त नातेदार रहेको प्रहरीले जनाएको छ।

हत्या भएका पण्डित र अभियुक्त नजिमा लामो समयदेखि प्रेम सम्बन्धमा रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। पण्डित अविवाहित थिए भने नजिमा तीन सन्तानकी आमा हुन्।

पण्डित र नजिमा चैत १९ गते घरबाट भागेर भारत पुगेका थिए। नजिमाका पति मोस्तिकमले आफ्नी पत्नी  चैत १९ गते राति ११ बजेदेखि घरबाट बेपत्ता भएको र पण्डितले भगाएको हुनसक्ने भन्दै खोजतलास गरिदिन चैत २६ गते इलाका प्रहरी कार्यालय केशरगन्जमा निवेदन दिएका थिए।

प्रहरीको अनुसन्धानबाट पनि उनीहरू भारत भागेको खुलेको थियो। एक महिना भारतमा बसेर दुवै जना वैशाख १ गते नेपाल फर्किएका थिए। मोस्तिकम, स्थानीय भद्रभलादमीहरूको भेलाले नजिमा पतिसँगै बस्ने सहमति जुटेको थियो।

नजिमालाई घरमा बस्ने व्यवस्था मिलाइसके पनि पण्डित भने पटकपटक उनको घरमा आवतजावत गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ। घरमै पुगेर पण्डितले पत्नी नजिमालाई भेट्ने गरेको कुरा मोस्तिकमले मन पराएका थिएनन्। नजिमालाई मानसिक तनाव दिने गरेकाले उनीसहित अन्य प्रतिवादीहरूले पण्डितको हत्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ।

नजिमाले वैशाख २८ गते बिहान ८ बजे फुलजोर बाबा मन्दिरनजिक बोलाई पण्डितलाई ईश्वरपुर नगरपालिका-८ पर्ने फुलजोर खोलातर्फ लगेको अनुसन्धानबाट देखिएको छ।

नजिमा र पण्डितलाई पछ्याउँदै गएका अन्य प्रतिवादीहरूसमेतले हत्या गरेको प्रहरीको भनाइ छ।

हत्यापछि नजिकै रहेको सिसौको रुखको फेदमा पण्डितको शवलाई घासपात तथा रहरको घस्यौटाले छोपेका थिए। अभियुक्तहरूले घटना ढाकछोप गर्न वैशाख २९ गते राति ९ बजे नजिकै रहेको थकरिया चौरीस्थित उखु बारीमा फ्यालेको प्रहरीले जनाएको छ। प्रहरीले वैशाख ३० गते पण्डितको शव बरामद गरेको थियो।

अनुसन्धानको क्रममा ईश्वरपुर-६ चिरानटोलका मोमिनलाई पक्राउ गर्दा उनले लगाएको चप्पल मृतकको रहेको खुल्न आएको प्रहरीले जनाएको छ। मोमिनले प्रयोग गरेको चप्पल पण्डितका बुबाले सनाखत गरेपछि प्रहरी अन्य अभियुक्तसम्म पुग्न सफल भएको थियो।

प्रकाशित: ५ जेठ २०८२ १७:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast