सगरमाथा संवादमा नबोलाइएको भन्दै सांसदहरूको आपत्ति

हिमाल प्रेस ५ जेठ २०८२ १२:५४
14
SHARES
सगरमाथा संवादमा नबोलाइएको भन्दै सांसदहरूको आपत्ति

काठमाडौँ- सगरमाथा संवादजस्तो राष्ट्रियस्तरको कार्यक्रममा संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरूलाई उपेक्षा गरिएको भन्दै सांसदहरूले असन्तुष्टि जनाएका छन्।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा सांसदहरूले सगरमाथा संवादमा सम्बन्धित समितिका सदस्यहरूलाई नसमेटिएको भन्दै आपत्ति जनाए।

बैठकमा बोल्दै नेकपा एमालेकी सांसद सरस्वती सुब्बाले विषयगत समितिमध्ये कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सगरमाथा संवादको प्रमुख सरोकारवाला समिति हो भन्दै त्यसबाट तीन जनामात्र सहभागी गराइएकोप्रति आपत्ति जनाइन्। उनले पूर्वाधार विकास समितिबाट समेत प्रतिनिधि सहभागी नगराइनु दुर्भाग्यपूर्ण भएको बताइन्।

‘साढे पाँच सयजना दर्ता भएका भनिएको छ, दुई सयजना विदेशी पाहुना, साढे तीन सयजना नेपाली। तर समितिबाट तीन जना मात्रै? प्रक्रिया के हो? कुन आधारमा छानियो?’ भन्दै उनले पारदर्शिता नभएको गुनासो गरिन्।

बैठकमा समितिकी सभापति कुसुमदेवी थापाले वन मन्त्रालयलाई पटकपटक संवादमा समावेश गराउन आग्रह गर्दा पनि सरकार गम्भीर नभएको बताइन्। ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आयोजक भएकाले हामीले सीधै निर्देशन दिन सक्दैनौँ,’ उनले भनिन्, ‘हामीले धेरैपटक आग्रह गरेपछि बल्ल तीन जनाको सहभागी हुने कोटा उपलब्ध भयो। त्यो समितिको ३९ वटा बैठकको निर्णयअनुसार गरिएको हो, व्यक्तिगत होइन।’

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले सभापति थापाले आफू मन परेको व्यक्तिलाई मात्र छनोट गरेर संवादमा सहभागी गराएको आरोप लगाइन्। सांसद सम्झना थपलियाले पनि छलफलबिना निर्णय गरिएको भन्दै आलोचना गरिन्। ‘समितिबाट को कसरी चयन भयो, प्रक्रिया के थियो, थाहा छैन,’ उनले भनिन्, ‘यसरी अपारदर्शी रूपमा निर्णय हुन हुँदैन। छलफल गरेर, विधिसम्मत रूपमा निर्णय भएको भए राम्रो हुन्थ्यो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast