
काठमाडौँ- आईसीसी महिला टी २० विश्वकप एसिया छनोटमा नेपाललाई यूएईले ११५ रनको लक्ष्य प्रदान गरेको छ।
टस जितेर बलिङ रोजेको नेपाली टोलीले यूएईलाई निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११४ रनमा समेटेको हो। नेपालका लागि मनीषाकुमार उपाध्यायले ४ विकेट लिइन्। कविता कुँवरले २ विकेट लिँदा राजमती एेरीले एक विकेट लिइन्।
विश्वकपमा पुग्न नेपाललाई जित आवश्यक छ।एसिया क्षेत्र छनोटमा थाइल्यान्ड, यूएई र नेपाल आआफ्नो समूहको विजेता बनेर सुपर थ्रीमा पुगेका टिम हुन्। शीर्ष तीनबीच भइरहेको खेलअन्तर्गत आइतबार भएको यूएई र थाइल्यान्डबीचको खेलमा यूएई ५४ रनले पराजित भयो।
आज यूएईले अन्तिम खेलमा नेपालको सामना गर्नेछ। यदि, नेपालले जित हात पारे एक खेल अगावै ग्लोबल छनोटमा पुग्नेछ। यसअघि भएको एसिया छनोटमा नेपाल र यूएईबीचको खेल वर्षाले प्रभावित बनेको थियो। त्यसपछि नेपाल एसिया छनोटबाट बाहिरिँदा यूएई ग्लोबल छनोटमा पुगेको थियो।
नेपालको विश्वकप पुग्ने बाटोमा यूएई बाधक बन्दै आइरहेको छ। अहिले भने नेपालसामु यूएईलाई नै हराएर विश्वकपमा पुग्ने अवसर आएको हो।
नेपाल र यूएईबीच भएका पछिल्ला पाँच खेलमध्ये दुई खेल नेपालले जितेको थियो भने एक खेल यूएईले जितेको थियो। एउटा खेलमा नतिजा निस्कन सकेन भने अर्को एक खेल रद्द भएको थियो।