सुदूरपश्चिम : अन्ततः मन्त्री नियुक्त भए रामेश्वर चौधरी

हिमाल प्रेस ४ जेठ २०८२ २१:४९
24
SHARES
सुदूरपश्चिम : अन्ततः मन्त्री नियुक्त भए रामेश्वर चौधरी

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा १६८ बमोजिम रामेश्वर चौधरीलाई मन्त्रीमा नियुक्त गरेका छन्।

नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्यमा निर्वाचित चौधरीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।

प्रदेश प्रमुख मियाँले नवनियुक्त मन्त्री चौधरीलाई आइतबार साँझ आफ्नै कार्यालय धनगढीमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ गराए।

सो अवसरमा मुख्यमन्त्री शाह, मन्त्रीहरु, प्रदेशसभा सदस्यहरुलगायतको उपस्थिति रहेको थियो। नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले प्रदेशसभा सदस्य कैलाश चौधरीलाई मन्त्री बनाउन सिफारिस गर्न संसदीय दललाई निर्देशन दिएका थिए। संसदीय दलको बैठकले भने अध्यक्षको निर्देशनविपरीत संसदीय दलका नेता घनश्याम चौधरीलाई मन्त्रीमा सिफारिस गर्ने निर्णय गरेको थियो।

उनी मन्त्री बन्न इच्छुक नभएपछि आइतबार बसेको अर्को बैठकले रामेश्वर चौधरीलाई मन्त्री बनाउन सिफारिस गरेको थियो। संसदीय दलमा उत्पन्न किचलोका सन्दर्भमा दलका प्रमुख सचेतक इन्दिरा गिरीले भनिन्, ‘दलमा विवाद हुन्छ, सहमति खोजेर अघि बढ्ने हो।’

विवादास्पद ‘अडियो’ सार्वजनिक भएपछि यो पार्टीबाट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको जिम्मेवारीमा रहेका लक्ष्मणकिशोर चौधरीले गत चैतमा पदबाट राजीनामा दिएका थिए।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा यो पार्टीका सातजना सदस्य छन्। नेपाली कांग्रेसका १८, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का ११, नेकपा (माओवादी केन्द्र) का पनि ११, नेकपा (एकीकृत समाजवादी) का चार, राप्रपाका र स्वतन्त्र एक–एक सदस्य छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast