कांग्रेस महाधिवेशन : देउवा टिमभित्र साझा उम्मेदवारको कसरत

धैर्यकान्त दत्त ४ जेठ २०८२ २१:५९
28
SHARES
कांग्रेस महाधिवेशन : देउवा टिमभित्र साझा उम्मेदवारको कसरत पूर्वउपसभापति गोपलामान श्रेष्ठको निवासमा कांग्रेस नेताहरूको बैठक।

काठमाडौँ- नेपाली कांग्रेसको वर्तमान विधानअनुसार शेरबहादुर देउवा अब हुने महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न पाउने छैनन्। कांग्रेसको विधान, २०१७ (संशोधनसहित) ले दुईपटक सभापति भइसकेका व्यक्ति पुनः सभापति बन्न नपाउने व्यवस्था गरेको छ।

विधानको यही व्यवस्थाअनुसार देउवाले अन्तिमपटक पार्टीको नेतृत्व गरिरहेका छन्। उनको कार्यकाल २०८२ मंसिरमा सकिँदै छ। तोकिएकै मितिमा महाधिवेशन नभए विधानअनुसार देउवाले एक वर्ष आफ्नो कार्यकाल लम्ब्याउन सक्नेछन्। त्यसपछि संविधानअनुसार थप ६ महिना।

कांग्रेसको इतिहासलाई हेर्ने हो भने अहिलेसम्म तोकिएकै मितिमा महाधिवेशन भएको छैन। १३ औँ महाधिवेशनमा सभापति निर्वाचित भएका देउवाले विधान र संविधानलाई टेक्दै साढे एक वर्ष लम्ब्याएका थिए। नेताहरूका अनुसार १५ औँ महाधिवेशनमा पनि विगतको भन्दा फरक हुने सम्भावना ज्यादै न्यून छ।

अर्थात् कांग्रेसको १५ औँ महाधिवेशन २०८४ को जेठसम्म पुग्ने देखिन्छ। महाधिवेशन आउन झन्डै दुई वर्ष बाँकी छँदै नेताहरू आआफ्नो ढंगबाट तयारीमा जुटिसकेका छन्। नेताहरूको देश र जिल्ला दौडाहाले पनि उनीहरू महाधिवेशनको तयारीमा जुटेको प्रस्ट हुन्छ।

१४ औँ महाधिवेशनमा देउवासँग पराजित नेता डा.शेखर कोइरालाले त त्यो बेलादेखि नै अघिल्लो महाधिवेशनको तयारी थालिसकेका थिए। १५ औँ महाधिवेशनमा इतर समूहबाट कोइराला सभापतिको उम्मेदवार बन्ने निश्चित देखिन्छ।

महाधिवेशनमा एउटै समूहबाट महाधिवेशनमा भिडेका महामन्त्री गगन थापा र नेता कोइरालाबीचको सम्बन्धमा पछिल्लो समय केही फाटो देखिएको छ। खास गरेर संसदीय दलको नेतामा देउवालाई चुनौती दिँदै उम्मेदवारी दिएका गगनले आफ्नै समूहबाट पूरा मत पाउन नसकेपछि कोइरालासँग उनको दूरी बढेको थियो। यसबीचमा कैयौँपटक दुवै नेताबीच बढेको दूरी कम गर्न इतर समूहबाट प्रयास भए पनि हालसम्म सफल हुन सकेको छैन।

नेता कोइरालासँगै महामन्त्री थापा पनि १५ औँ महाधिवेशनमा सभापतिका लागि आकांक्षी देखिएका छन्। यद्यपि दुईमध्ये एकजनालाई मात्रै सभापतिको उम्मेदवार बनाउने कसरतमा इतर समूह जुटेको छ।

‘शेखरजी र गगनजीबीचको सम्बन्धमा फाटो आएको पक्कै हो। १४ औँ महाधिवेशनजस्तो उहाँहरूको सम्बन्ध अहिले छैन,’ इतर समूहका एक नेता भन्छन्, ‘शेखरजी सभापतिको उम्मेवार बन्ने पक्का हो। तर गगनजीले पनि चाहना व्यक्त गर्नुभएको छ। एउटै समूहबाट दुवैजना सभापतिमा लडे अर्को समूहलाई फाइदा हुने निश्चित छ। दुवैजनालाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको छ।’

अघिल्लो महाधिवेशनमा कोइराला समूहबाट महामन्त्री जितेका गगन यसपालि भने सभापति देउवाको ‘आशीर्वाद’ लिन चाहिरहेका छन्। देउवा आफैँ महाधिवेशनमा लड्न नपाउने भएपछि सभापतिका लागि गगनले उनको साथ खोजेका छन्। सरकार सञ्चालनका लागि बनेको संयन्त्रमा देउवाले महामन्त्री गगनलाई पठाएका थिए। संयन्त्रमा उनको प्रतिनिधित्वलाई कतिपयले इतर समूहबाट महामन्त्री जिते पनि सभापतिसँग उनको दूरी कम भएको भन्ने अर्थमा लिएका थिए।

अर्कोतर्फ देउवा आफैँ सभापति नबन्ने भएपछि संस्थापन समूहबाट नेतृत्व गर्ने नेताको खोजी हुन थालेको छ। देउवापछि संस्थापन समूहको नेता को? भन्ने बहस यो समूहमा हुन थालेको छ।  यो दौडमा देखिएका छन्, सभापति देउवानिकट सात नेताहरू– गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, विजय गच्छदार, प्रकाशमान सिंह, शशांक कोइराला र प्रकाशशरण महत।

पार्टीभित्र देउवा समूहको निरन्तरतलाई कायम राख्दै पार्टी नेतृत्व आफ्नै टिमभित्र राख्ने र यसका लागि साझा उम्मेदवार बनाउने मूल उद्देश्य सात नेताको रहेको बताइन्छ।  यसकै पहलस्वरूप देउवानिकट सात नेताहरू निरन्तर छलफलमा जुटिरहेका छन्। गत चैत १६ गते पूर्वउसभापति निधिको मध्यबानेश्वरस्थित निवासबाट सुरु भएको सात नेताहरूको छलफल आइतबार पूर्वउसभापति गोपालमान श्रेष्ठको निवासमा देखियो।

तीन नेताहरू विमलेन्द्र, प्रकाशमान र शशांकको ‘लन्च मिटिङ’ बाट सुरु भएको भेटघाटमा संख्या थपिँदै अहिले संस्थापन समूहका सातजना भएका छन्। देउवानिकट नै रहेका बहालवाला उपसभापति पूर्णबहादुर खड्का भने अहिलेसम्म यो टिममा अटाउन सकेका छैनन्।

पूर्वउसभापति निधिले आइतबारको भेला पछिल्ला बैठकहरूको निरन्तरता रहेको बताए। उनले भने, ‘यसअघि पनि हामी भेला भएर छलफल गरेका हौँ। आजको बैठक त्यही भेलाको निरन्तरता हो।’

उनले १५ औँ महाधिवेशनका साथै सरकार सञ्चालन, लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सुदृढ पार्ने, पार्टीको क्रियाशील सदस्यतालगायतका विषयमा छलफल भएको जानकारी दिए।

संगठन सुदृढीकरणका लागि क्रियाशील सदस्यता वितरण र नवीकरण महत्त्वपूर्ण विषय भएको भन्दै उनले अहिलेसम्म यसका लागि काम सुरु हुन नाएकोमा सबैले चिन्ता व्यक्त गरेको बताए।

‘क्रियाशील सदस्यताका विषयमा हामीले गम्भीरताका साथ कुरा गरेका छौँ। अहिलेसम्म क्रियाशील सदस्यताबारे कुनै काम सुरु भएको छैन,’ निधिले भने,‘यो पदाधिकारीहरूको काम हो। हाम्रो भेलाले यो विषयमा गम्भीर चिन्ता व्यक्त गरेको छ।’

निधिका अनुसार पछिल्लो समय वर्तमान राजनीतिक प्रणालीमाथि भ्रम फैलाउने काम भइरहेकोमा त्यसलाई चिर्न सक्रियतापूर्वक लाग्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ। यसका लागि सातै प्रदेश पुगेर भेला, अन्तरक्रियालगायतका कार्यक्रम गर्नुपरे त्यसका लागि पनि आफूहरू तयार रहेको निधिले बताए।

‘अहिलेको प्रणालीलाई बदनाम गर्न भ्रम फैलाउने काम भइरहेको छ। यसलाई कसरी सबल बनाउन सकिन्छ त्यस विषयमा पनि हामीले छलफल गरेका छौँ,’ निधिले भने, ‘आवश्यक परे हामीहरू सातै प्रदेश पुगेर अन्तरक्रिया र छलफलजस्ता कार्यक्रम सञ्चालन गर्नेछौँ।’

सात नेताहरूको निरन्तर भइरहेको बैठकलाई १५ औँ महाधिवेशनका लागि संस्थापन समूहबाट सभापतिका लागि साझा उम्मेदवार छान्ने रूपमा अर्थ्याइए  पनि अहिले त्यो समय आइनसकेको नेताहरू बताउँछन्। उनीहरूका अनुसार अहिलेका बैठक र छलफलहरू १५ औँ महाधिवेशनको तयारी, सरकार सञ्चालन, पार्टी सुदृढीकरणलगायतका विषयमा केन्द्रित छन्।

‘हामी महाधिवेशनका विषयमा छलफलमा जुटेका छौँ। ती छलफलहरू साझा उम्मेदवार बनाउने विषयमा नभएर तयारीका विषयमा मात्रै केन्द्रित छन,’ बैठकमा सहभागी एक नेताले भने, ‘अहिले उम्मेदवार छान्ने बेला आएको छैन। त्यसका लागि धेरै समय बाँकी छ।’

देउवा समूहबाट साझा उम्मेदवार छान्ने विषयमा सात नेताहरू छलफलमा जुटेको विषयमा सत्यता नरहेको ती नेताको भनाइ छ। समय आएपछि साझा उम्मेदवार बनाउने विषयमा पनि छलफल हुने उनले बताए।

‘अहिले यो विषय नै प्रवेश गरेको छैन, त्यसका लागि धेरै समय छ,’ उनले भने, ‘त्यस विषयमा पनि हामीबीच छलफल हुन्छ। तर अहिले धेरै चाँडो हो।’

महाधिवेशन आउन समय बाँकी भएकै कारण सभापति देउवाले पनि आफ्नो उत्तराधिकारी छानिसकेका छैनन्। देउवानिकट एक नेताका अनुसार पार्टी नेतृत्वका लागि आकांक्षी देखिए पनि कसैले आश्वासन पाइसकेका छैनन्।

‘सबैजना नेता सभापतिसँग नजिक बसेर काम गरिसक्नुभएको छ। उहाँहरू सभापतिजीको विश्वासिलो नेताहरू हुनुहन्छ। सहयोग पाउनेमा ढुक्क हुनु स्वाभाविक हो। तर कसैले आश्वासन पाइसकेको जस्तो लाग्दैन,’ ती नेताले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast