मुगुका पाटन क्षेत्रमा यार्सा संकलनको चटारो, वन प्रवेश १३ जेठदेखि मात्र

हिमाल प्रेस ४ जेठ २०८२ १४:२१
8
SHARES
मुगुका पाटन क्षेत्रमा यार्सा संकलनको चटारो, वन प्रवेश १३ जेठदेखि मात्र

मुगु- पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाको उच्च हिमाली क्षेत्रका पाटनहरूमा बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन याम सुरु भइसकेको छ। तर, वन प्रवेशको लागि गाउँपालिकाले आगामी १३ जेठदेखि मात्र औपचारिक रूपमा अनुमति दिने निर्णय गरे पनि संकलनकर्ताहरू भने नियम मिच्दै पहिले नै पाटन प्रवेश गरिसकेका छन्।

गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाका अनुसार यसवर्ष यार्सागुम्बा संकलनका लागि प्रतिव्यक्ति शुल्क जिल्लावासीलाई २ हजार र बाहिरी जिल्लाबाट आउनेलाई २ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ। वन क्षेत्रमा प्रवेश गर्नेलाई पर्यावरणमैत्री व्यवहार अपनाउन आग्रह गर्दै प्लास्टिकजन्य फोहोर नफाल्न, रुख बिरुवा नकट्न र चोरी नगर्न कडाइ गरिएको छ।

गाउँपालिकाको वडा नं १ र २ अन्तर्गत पर्ने रिर्माण, ठूलो कोइकी, सानो कोइकी, छापाखोला, चार्कुलगायत दुई दर्जनभन्दा बढी पाटन क्षेत्रमा हरेक वर्ष यार्सागुम्बा पाइने गर्दछ। गत वर्ष यार्साबाट ७१ लाख रुपैयाँ राजस्व संकलन गरिएकोमा यस वर्ष ८० लाख संकलन गर्ने लक्ष्य रहेको अध्यक्ष लामाको भनाइ छ।

तर, औपचारिक अनुमति मिति नपुग्दै सयौँ संकलक रातारात पाटन प्रवेश गरिसकेका छन्। स्थानीयका अनुसार दैनिक दुई सयभन्दा बढी व्यक्ति वन प्रवेश गरिरहेका छन्। यार्साको चोरी संकलन बढ्दै गएको सूचना आएपछि गाउँपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सरोकारवालाबीच अनुमति प्रणाली कडाइका साथ लागू गर्ने निर्णय गरिएको छ।

यार्साको संकलन र व्यवस्थापनमा पछिल्ला वर्षहरूमा चुनौती थपिँदै गएको जनाइएको छ। परिमाण घट्दै गएको भन्दै संरक्षणमा अझ बढी ध्यान दिनुपर्ने आवश्यकता गाउँपालिका र सरोकारवालाहरूले औंल्याएका छन्।

गाउँपालिकाले यार्सागुम्बा संकलनको सम्पूर्ण प्रक्रिया अनुशासन, वातावरणीय सतर्कता र कडाइका साथ संचालन गर्ने प्रतिबद्धता जनाएको छ। अवैध प्रवेशकर्तामाथि कडा जरिवाना र कानुनी कारबाही हुने चेतावनीसमेत दिइएको छ।

प्रकाशित: ४ जेठ २०८२ १४:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast