जब पुराना थिंक ट्यांक निष्प्रभावी बन्छन्, नयाँ क्लबको उदय हुन्छ

हिमाल प्रेस ३ जेठ २०८२ २२:०९
14
SHARES
जब पुराना थिंक ट्यांक निष्प्रभावी बन्छन्, नयाँ क्लबको उदय हुन्छ उद्घाटनअघि क्लब परिसरमा एक बहसमाभेला भएका पूर्वराजदूतहरू

काठमाडौँ – नेपालमा सरकारी निकाय, विश्वविद्यालय र गैरसरकारी गरी दुई दर्जनभन्दा बढी थिंक ट्यांक छन्। नाम सुन्दा गर्व लाग्छ – प्रतिष्ठान, केन्द्र, परिषद्, क्लब, गिल्ड छन्। तर प्रश्न एउटै छ– के यी संस्था साँच्चै ‘थिंक’ गर्छन्, कि केवल ‘ट्यांक’ भर्नमै सीमित छन्? दशकौँ पुराना यी थिंक ट्यांक गहिरो सोचमा डुबेका छन् वा निद्रामा हराएका?

विश्व भूराजनीति र शक्ति सन्तुलन फेरिँदैछ, तर नेपालको नीति–जगत् मौन छ। कतिपय थिंक ट्यांक ‘राजदूत’ बन्ने सिँढीमात्र बने। दुई–चार लेख कम्पाइल गरेर पुस्तक निकालियो, नेताहरूलाई खुसी पारियो, अनि गुमनाम भएका उदाहरण पनि छन्। केही भने कम्पाइल पुस्तक निकालेर राजदूत हुँदै सांसद सम्म पनि बने, वर्तमान प्रधानमन्त्रीसँग नाता जोड्दै। जबकि न कूटनीतिक अनुभव छ, न त राजनीतिमै पकड। तर, ठाउँमा पुग्न निजी थिंक ट्यांकको भर्याङ बनाए।

यस्तो भीडमा दुई मुलुकमा राजदूत भइसकेकी महिलालाई लाग्यो नेपालमा थिंक ट्यांक नै रहेनछ। अनि उनले सुरु गरिन् यो क्षेत्रमा काम गर्न। र, लामो मेहनत पछि पूर्वराजदूत डा. शर्मिला पराजुली ढकाल र विमल ढकालले नयाँ थिंक ट्यांक – ‘राजदूत क्लब’ र ‘अन्तर्राष्ट्रिय सम्बन्ध तथा विश्व कूटनीति संवाद’ – स्थापना गरेर नयाँ बहसको थालनी गरेका छन्।

‘हामी सोच्नेमात्र होइन, समाधान सुझाउने र कार्यान्वयनको बाटो देखाउने काम गर्छौँ,’ डा. शर्मिलाले भनिन्। दुई मुलुकमा राजदूतको जिम्मेवारी सम्हालिसकेकी अनुभवी कूटनीतिज्ञ शर्मिला र उनका श्रीमान् विमलको संयोजनमा स्थापित यो क्लबको उद्घाटन आइतबार काठमाडौँमा भव्य समारोहका साथ हुँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा हुने यो कार्यक्रमले नयाँ आशा जगाएको छ।

यो क्लब कुनै टी–सर्ट लगाएर सेल्फी खिच्ने युवा जमघट होइन, न त डिनर पार्टीको बहानामा कूटनीतिज्ञहरूको भेला नै। मासिक पत्रिका प्रकाशन, नीति बहस र सरकारलाई सुझाव दिने यसको लक्ष्य छ। केवल प्रेस विज्ञप्तिमा सीमित नराख्ने अपेक्षा राखेर यो लामै तयारीसहित आउन लागेको हो।

नेपालमा पहिले नै सरकारी थिंक ट्यांकहरू – परराष्ट्र मामिला अध्ययन केन्द्र र नीति अनुसन्धान प्रतिष्ठान छन्। विश्वविद्यालयस्तरमा सामाजिक अध्ययन केन्द्र र दक्षिण एसिया अध्ययन केन्द्र छन्। सन् १९७९ मा स्थापित विकास अध्ययन संस्थान पनि छ। सुरुमा यिनको प्रभावकारिता थियो, तर अहिले धेरैजसो ‘मागिखाने’ संस्था बनेका छन्।

रणनीतिक कागजात तयार भए पनि नीतिमा पुग्दैनन्, सञ्चारमाध्यममा चर्चा हुँदैन। कतिपय पुराना टेबल, स्ट्यान्ड फ्यान र रङ उडिसकेको मञ्चजस्ता भए – विचारको स्रोत होइन, स्मृति संग्रहालय।

अमेरिका, भारत, चीन, बेलायतजस्ता मुलुकमा थिंक ट्यांक सरकारका ‘दोस्रो मस्तिष्क’ हुन्। तिनले गहन अध्ययन विना कुनै नीति अघि बढाउँदैनन्। नेपालको सन्दर्भ फरक छ। ताजा उदाहरणका रूपमा ‘सगरमाथा संवाद’ लाई नै लिन सकिन्छ। नेपालमा सगरमाथा संवादजस्ता पहलले विश्वस्तरको प्रभाव राख्न सक्थ्यो। तर तयारी र अनुसन्धानको अभावमा सामान्य भेलामा सीमित भयो, यो संवाद। नेपालमा सरकारी थिंक ट्यांकहरू अवकाशप्राप्त कर्मचारीको ‘जागिर थलो’ बनेका छन्, जहाँ नेतृत्व कर्मचारीको भर पर्छ, र कर्मचारीले नेतालाई खुसी गर्ने काम गर्छन्। फलस्वरूप, गहिरो सोच र अनुसन्धानको अभाव छ।

राजदूत क्लबले यो खाडल पुर्ने आशा जगाएको छ। पूर्वराजदूत, पत्रकार, अनुसन्धानकर्ता र युवा विज्ञलाई एउटै मञ्चमा ल्याएर डा. शर्मिलाले परम्परागत कूटनीतिक विभाजन तोडेकी छन्। परराष्ट्र सेवाबाट राजदूत बन्ने र राजनीतिक नियुक्तिबाट राजदूत बन्नेहरूको अलग–अलग क्लबको संस्कृतिलाई चुनौती दिँदै उनले सबैलाई समेट्ने प्रयास गरेकी छन्। मासिक पत्रिका, कूटनीतिक बहस र सरकारलाई नीतिगत सुझाव दिने योजनाले यो क्लब फरक देखिन्छ। यसले सरकारसँग सहकार्य गर्दै नेपालको कूटनीतिक र नीतिगत दिशालाई प्रभावकारी बनाउने लक्ष्य राखेको छ।

तर चुनौती पनि छन्। निजी क्षेत्रबाट सञ्चालित यस्ता संस्थालाई कोष व्यवस्थापन र दीर्घकालीन प्रतिबद्धता चाहिन्छ। प्रारम्भमा ठूलो सपना बोकेर खुले पनि कोष अभाव वा गलत प्राथमिकताले निष्क्रिय हुने जोखिम हुन्छ। यो क्लब ‘क्लब’ शब्दको मोह वा सम्बन्ध–पहुँचमा नअल्झी विचार र अनुसन्धानमा केन्द्रित रह्यो भने सरकारलाई साँच्चै सुझाव दिन सक्छ। डा. शर्मिला र उनका श्रीमान विमलको नेतृत्वमा यो नयाँ थिंक ट्यांकले निष्क्रियताविरुद्ध वैचारिक विद्रोह गरोस्, र ‘थिंक ट्यांक’ शब्दमा हराएको आशा फर्काओस्। यदि यो साँचो अर्थमा ‘थिंक’ गर्न सक्यो भने नेपालको नीति–जगतमा नयाँ युगको सुरुवात हुनेछ।

 

प्रकाशित: ३ जेठ २०८२ २२:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast