
पोखरा– नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दलको लमजुङ जिल्ला अधिवेशनमा खुकुरी प्रहार हुँदा चार जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनालाई काठमाडौँ रेफर गरिएको छ।
शनिबार जिल्ला सदरमुकाम बेसीसहरमा भएको तरुण दलको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा तरुण दलकै एक पक्षले अर्को पक्षमाथि खुकुरी प्रहार गरेको हो।
घाइते हुनेमा बेसीसहर–९ का वडाध्यक्षसमेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजंग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजंग बस्नेत, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदीप अधिकारी र नेपाल तरुण दलका सदस्य धन घले हुन्।
कांग्रेसका जिल्ला सभापतिसमेत रहेका गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ, जिल्ला सचिव कृष्णबहादुर अधिकारी र पूर्व क्षेत्रीय सभापति वृषराज गुरुङले हतियार प्रयोग गर्न उक्साएको तरुण दलको एक पक्षको आरोप छ।
डा. टकराज गुरुङ र कांग्रेसका पूर्वजिल्ला सभापतिसमेत रहेका गण्डकी प्रदेशका वनमन्त्री भेषबहादुर पौडेल पक्षधर युुवाबीचको गुटबन्दीले घटना निम्तिएको बताइएको छ।
राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल तरुणका केन्द्रीय अध्यक्ष विधान गुरुङ विशेष अतिथिको रुपमा डाकिएका थिए।
घाइतेमध्ये नेवि संघका केन्द्रीय सदस्य अधिकारीको टाउकोमा गम्भीर चोट लागेको छ। उनलाई प्रदेश अस्पताल लमजुङमा सामान्य उपचारपछि काठमाडौँ रेफर गरिएको हो। त्यस्तै, खुशीजंग गुरुङलाई पनि रेफर गरिएको छ। दुवैको टाउकोमा समस्या देखिएकाले सिटी स्क्यानका लागि रेफर गर्नुपरेको जनाइएको छ। अन्य दुई घाइते उपचारपछि घर फर्किएका छन्।
कार्यसमिति निर्विरोध निर्वाचित गर्ने नाउँमा प्रतिनिधि छनोटदेखि कार्यसमितिमा एकलौटी गर्ने, कतिपय पुराना सदस्य हटाएर चिन्दै नचिनेका व्यक्तिलाई पदाधिकारीमा ल्याउन खोज्ने गरिएकोमा कांग्रेस लमजुङ कार्यसमिति सदस्य किशोरजंग बस्नेतले बताए।
उनले तरुण दलको जिल्ला अध्यक्षको प्रत्यासीसमेत रहेका क्षेत्रीय सभापति खुसीजंग गुरुङ, अध्यक्षका अर्का आकांक्षी भीम गुरुङ, बेसीँसहर नगर सभापति विशाल अधिकारीलगायतलाई सदस्यबाट हटाएर प्रतिनिधि बन्नबाट छेकिएको हुँदा आफूहरुले आपत्ति जनाएको बताए।